+
+

ह्वाइट हाउसको छेउबाट नेपाल नियाल्दा

राजेन्द्र पन्थी राजेन्द्र पन्थी
२०७८ चैत १८ गते ११:३२

आज संसार साँघुरिएको छ। विश्व सानो डिभाइसमा खुम्चिएको छ। मानचित्रमा देशका सीमारेखाहरू विभिन्न रङले कोरिएका भए पनि ती सीमारेखा पार गरेर कुनै एक देशको नागरिक विभिन्न उद्देश्यका लागि अर्को देशमा प्रवासिएको छ। आज २१ औं शताब्दीमा आउँदा ज्ञान र विज्ञानको विकास र विस्तारले दिनानुदिन नयाँ आविष्कारले चमत्कार हुँदै गएको छ।

पृथ्वीको कुनै एउटा छेउमा बसी क्षणभरमा संसारलाई हेर्न, अध्ययन र विश्लेषण गर्न सक्ने भइएको छ। सभ्यता र संस्कारहरू फराकिला हुँदै गएका छन्। आज नेपाली नेपालमा मात्र सीमित छैनन्। संसारका प्रायःजसो देशमा उपस्थिति देखिन्छ। नेपाली सभ्यता, संस्कार, भाषा, संस्कृति, रहनसहन संसारमा फैलिएको छ।

विश्वका कतिपय देशमा सगरमाथा, गौतम बुद्ध, लुम्बिनी, पशुपति जस्ता टोल वा गाउँको नामकरण गरी समुदाय निर्माण गरी नेपाली बसोबास गरेका छन्। नेपालीले विश्वको जुनसुकै कुनामा पुगे पनि आ-आफ्नो धर्म, संस्कार, मूल्यमान्यतालाई निरन्तरता दिएको देखिन्छ।

राष्ट्रियता, देशप्रेम र नागरिकको कर्तव्यको दृष्टिकोणले जन्मभूमि छोडेर बाहिर बस्नु उचित होइन तर देश छोड्नुका आ–आफ्नै बाध्यता छन्। त्यसको पनि बहस गरिनुपर्छ नै। यहाँ मैले खासगरी विकसित देशहरू कसरी बनेका रहेछन् र यस्तो सम्पन्नतामा पनि प्रवासी नेपाली किन आत्मिक रूपमा सुखी र खुशी हुनसकेका छैनन् भन्ने विषयलाई आफू नै प्रतिनिधि पात्र बनी चियाउने प्रयास गर्दैछु।

मान्छे आत्मिक रूपमा सुखी हुन सकेन भने भौतिक रूपमा जति सम्पन्न भए पनि खुसी हुन सक्दो रहेनछ। विदेशमा घरजम गरेका ती नेपाली भौतिक रूपमा सुखी होलान् तर आत्मिक रूपमा खुसी छैनन् किनकि उनीहरूको आफ्नो पाइताला टेक्ने आधार नेपाल र फेर्ने सासमा नेपाली माटोको बासना पाउन सक्दैनन्। जतिबेला पनि आफूलाई असुरक्षाको अनुभूति गर्नुपर्दो रहेछ।

भनिन्छ, आजको युगमा आउँदा पनि विश्वको मानचित्रलाई कोरेर टुक्राटुक्रा पारेर यो देश र त्यो देशको भनेर विभाजन गरिनुहुँदैन तर मनले पटक्कै मान्दैन। म त नेपाली हुँ मेरो देश नेपाल हो भनेर गीत गाइरहन मनलाग्दो रहेछ। जननी जन्मभूमिश्च: स्वर्गादपि गरियसी भनिएको छ।

मान्छे जहाँबाट जहाँसुकै जाओस् त्यसको अन्तरमनमा जन्मभूमि र राष्ट्रियता सँगसँगै गएको हुँदोरहेछ। जब देशभन्दा बाहिर पुगिन्छ, त्यसले अत्यन्तै सताउँदो रहेछ। घर छोड्नेलाई घरको महत्त्व थाहा हुन्छ भनेझैं देश छोड्नेलाई देशको महत्त्व ज्यादा हुँदोरहेछ।

म विगत पाँच वर्षदेखि अमेरिका राजधानीको नजिक बस्दै आएकोले अमेरिकाको शक्तिशाली भवन ह्वाइट हाउस छेउबाट नेपालको राष्ट्रपतिको कार्यालय शीतलनिवासलाई सम्झन्छु।

सिंहदरबार सम्झन्छु, मेचीकाली, सगरमाथा र लुम्बिनी पनि सम्झन्छु, म जन्मेको गैराखर्क सम्झन्छु र खहरासल्ला पुग्छु। बाहिरी आवरणका दृष्टिले घर, साजसज्जा, मानिस उस्तै उस्तै देख्छु तर मेरो देशको उचाइ र नाम किन उच्च हुन सक्दैन, बारम्बार घोत्लिन्छु।

अनायासै, आहा! कति राम्रो ह्वाइट हाउस भन्छु। अनि फेरि मनमनै प्रश्न उठ्छ, के मानेमा ह्वाइट हाउस सुन्दर छ ? सगरमाथा, धवलागिरि, रारा, फेवा, कोशी, कर्णालीको सौन्दर्य कम छ र !

देशभन्दा टाढा रहँदा मनमा अनेक किसिमका हुटहुटी सिलसिलेवारविहीन तरिकाले उठ्दो रहेछन्। मानिस आज पनि अमेरिकालाई सपनाको संसार भन्छन् तर यस्ता सपनाका संसार अरु मुलुक पनि बनिसके। नेपालीले अरु मुलुकलाई सपनाको संसार बनाइरहेका छन् तर आफ्नो जन्मभूमिलाई किन बनाउन नसकेको होला जस्तो लाग्छ। सबै कुराको सम्पन्नता हुनाले सपनाको संसार भनिएको हो।

अमेरिका भनेको सबै किसिमका भौतिक पूर्वाधार सम्पन्न भएको र अवसरको देश हो, यसमा कुनै दुईमत छैन। हामीले एउटा महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने अमेरिका कुनै जादुको छडीमा विकास भएको रहेनछ।

एउटा निश्चित सपना बोकेर लाग्ने हो भने नेपाल अमेरिकाभन्दा धेरै सुन्दर बन्न सक्छ किनकि नेपाललाई प्रकृतिले नै धेरै सुन्दरता दिइसकेको छ। जब बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यको सहजता हुन्छ अनि देश सम्पन्न हुन्छ।

मान्छेलाई गाँस, बास र कपासको लागि आधुनिक कृषि प्रणालीको विकास गर्ने, उद्योग र कलकारखाना खोल्ने र रोजगार सिर्जना गर्ने हो भने कोही नेपाली बाँच्नैका लागि विदेश जान पर्दैन। धेरै अवसर नेपालमै हुनसक्छन् र नेपाल पनि सपनाको संसार बन्न सक्छ।

नेपालीले अरू मुलुकलाई सपनाको संसार बनाइरहेका छन् तर आफ्नो जन्मभूमिलाई किन बनाउन नसकेको होला जस्तो लाग्छ। सबै कुराको सम्पन्नता हुनाले सपनाको संसार भनिएको हो।

अमेरिकाबाट नेपाललाई नेपाली आँखाले हेर्दा नेपाललाई विकसित देश बनाउन अहिलेको परिस्थितिमा चाहिने प्रमुख कुरा भनेको प्रतिबद्धता हो। त्यो प्रतिबद्धता भनेको कानुनी राज्य स्थापित गर्नु हो। देशमा जब कानुनी राज्य हुन्छ अनि देशका सबै अङ्ग र पक्षहरू सबल र सक्षम हुन्छन्। किताबका पानामा कानुनी कुरा भरेर कानुनी राज्य हुँदैन। त्यसलाई कार्यान्वयनमा उतार्नुपर्छ।

जब कानुनलाई पालना गरिन्छ अनि त्यहाँ कुनै किसिमको भ्रष्टाचार र अनियमितता हुँदैन। देश आफैं समृद्धिको बाटोमा हिंड्छ। आज हरेकजसो प्रवासिएका नेपालीको पिरलो भनेको राष्ट्रियता र देशप्रेमको छ। उनीहरूको मनमा अन्तरद्वन्द्व छ। मनदेखि नै ऊ जतिबेला पनि नेपाललाई सम्झन्छ। उसको भौतिक उपस्थिति प्रवासमा भए पनि मानसिक रूपमा नेपालमा रहेको हुन्छ।

उसले दिनको २४ घन्टामा निद्राको सपनामा नेपाल पुगेकै हुन्छ, बोल्ने कुरादेखि लिएर उसको जागिरको समय बाहेक नेपालकै सन्दर्भमा बिताएको हुन्छ। उसको पसिनाले विदेश सिञ्चित भएको छ र विकासका मूलहरू फुटेका छन् तर देश मरुभूमिमा परिणत हुँदै गर्दा उसले हरेस खाएको छ।

प्रवासिएको अधिकांश नेपाली अन्तरमनदेखि नै नेपाल फर्कन चाहन्छ यद्यपि फर्कने वा बस्नेमा केही मनोद्वन्द्व नहुने भन्ने होइनन्। अमेरिका, जापान, बेलायत, क्यानडा, नर्वे, अस्ट्रेलिया आदि विकसित मुलुकमै बसे पनि उसलाई नेपालको मायाले सताइरहेको हुन्छ। नेपाली जिब्रोले दाल, भात र तरकारी नै खोजिरहेको हुन्छ। नेपाली बोली नै बोल्न चाहन्छ। नेपाली आमाको काख नै चाहन्छ।

नेपालीले हिमालको छाना, पहाडको भित्ता र तराईको आँगन नै खोज्दो रहेछ। खुला आकाश देखिने झुपडी नै किन नहोस् त्यसैभित्र मीठो निद्रामा सपनी देख्न चाहँदो रहेछ।

कतिपयले भन्ने गर्छन्, भावनामा उडेर मात्र हुन्छ, साँच्चै नेपालको माया छ भने नेपालमै फर्कनुपर्छ। यस्तो भन्नेहरूलाई धेरैले ठाडा उत्तरहरू दिनुपर्छ जस्तो लाग्दैन। आज मान्छे किन विदेश गइरहेको छ अथवा विदेशमा बस्नुको बाध्यता छ वा रहर होला भन्ने कुरा हाम्रो देशको अहिलेकै ऐना हेरे पुगिहाल्छ र बाध्यता नै हो भन्ने कुरा घामझैं छर्लङ्ग छ।

केही मानिस अध्ययन र व्यापारको लागि विदेशिएको होला तर अधिकांश आफ्नो परिवार पाल्न रोजगारको लागि विदेशिएको छ। आज रेमिटेन्स विना देश चल्न सक्ने अवस्था छैन। यसकारणले पनि विदेशिएकालाई किन विदेशिएको भनेर बारम्बार प्रश्न गर्ने ठाउँ नै छैन। नेपालीलाई बाँच्नको लागि अहिलेको विकल्प भनेको प्रवासी हुनु नै हो।

सधैंभरि बाहिर बस्दा र देशले कुनै किसिमको निकास नपाउँदा मनमा अत्यन्तै पीडा हुँदोरहेछ। विकसित मुलुकको विकासको चमक देख्दा नेपालमा पनि यस्तै बनाउन सक्ने हो भने नेपालीको भाग्य खुल्थ्यो जस्तो लाग्छ।

विकास र समृद्धिको दृष्टिले विश्वमा थुप्रै देश विकसित मुलुकमा गनिएका छन् तर प्राकृतिक स्रोतसाधनले नेपाल जस्तो सुन्दर र सम्पन्न मुलुक सायद अरु छैन। विकसित मुलुकमा कृत्रिम सौन्दर्य बनाइएको छ। तर हाम्रो देशमा प्रकृतिले दिएको सौन्दर्यको महत्त्व बुझ्न नसकेको अवस्था छ।

नेपालमा के छैन ? सबथोक छ। विश्वको सर्वोच्च शिखर सगरमाथा छ, शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनी छ, प्रशस्त ताल, खोला र झरना छन्, पवित्र तीर्थस्थल र ऐतिहासिक पर्यटकीय स्थलहरू छन्। नेपालमा सबै कुरा रहेका छन्। नेपालमा नभएको भन्ने भौतिक पूर्वाधार मात्र हो।

नेपालको विकास र समृद्धिका लागि बिजुली र सडकको विस्तार नै पहिलो अनिवार्य आवश्यकता हो। विदेशतिर ताल, खोला, पहाड, झरना जति सुन्दर छन् भनेर वर्णन गरे पनि नेपालका पनि विश्वको कुनै प्रसिद्ध प्राकृतिक सम्पदा भन्दा कम छैनन्।

नेपालका हिमाल, पहाड र तराईका सुन्दरताको वर्णन गर्न कुनै शब्द नै छैन। भौगोलिक रूपमा यति सानो मुलुक हुँदा पनि विकास हुन नसक्नु दु:खको कुरा हो। सायद नेपालमा थोरै मात्रामा भए पनि भौतिक पूर्वाधार हुने हो भने धेरै छिटो विकासको फड्को मार्न सक्छ।

प्रवासिएको नेपाली यस्तो एउटा भिन्न दोधारको जीवन गुजारा गरिरहेको छ कि एक मन फर्कन चाहन्छ अर्को मन यतै बस्न खोज्छ। फर्कन नसक्नुमा प्रवासमा भौतिक सुखका कुरा सरसफाइ, विकासको सम्पन्नता, शिक्षा र स्वास्थ्य सुविधा, जागिर लगायत धेरै अवसर नै हुन्। तर यी सबै भौतिक सुख–सुविधामा नेपालीपन नहुँदा सास नै फेर्न गाह्रो भए जस्तो लाग्छ र ऊ जतिबेला पनि आफ्नो देशलाई आफ्नो साससँगै सम्झिरहेको हुन्छ।

विकासका पूर्वाधार, भौतिक अवस्था र सुविधाका कारण एक मनले प्रवास ठीक होला तर यहाँको जटिल सामाजिक जीवन र देशप्रेमको हुटहुटीले क्षणभर पनि बस्ने मन उसमा भएको देखिंदैन। मलाई पनि ह्वाइट हाउसलाई नियालिरहँदा नेपालको शान र प्रतिष्ठा कर्णालीले नेपालको विकास र समृद्धिको उचाइ कहिले ह्वाइट हाउस सरह पुर्‍याउला भन्ने लाग्छ। अहिले विश्वमा ह्वाइट हाउसको उचाइ धेरै नै छ।

यसको उचाइका पछाडि धेरै किसिमका बलिया बलिया ईंटाहरू जोडिएका छन्। पहिलो कुरा त भौतिक विकासको सम्पन्नताको ईंटा हो भने अर्को श्रम बजारको सिर्जनाको ईंटा हो। बस् ! अहिले हाम्रो सिंहदरबारको उचाइको लागि यी दुईवटा ईंटा थप्न सक्ने हो भने अरु ईंटा आफैं थपिंदै जान्छन्।

नेपालका दलहरूले देश जसरी पनि बनाउने हो भनी एउटा मात्र सपना वा उद्देश्यको संकल्प गर्ने हो भने विकासका ईंटाहरू थपिन गाह्रो र नेपालीको सुन्दर भविष्य धेरै टाढा पनि छैन।

अमेरिकामा जस्तै काम काम र फेरि काम नै भन्न सक्नुपर्छ, नेपालमा विकासको चमत्कार हुन्छ। अमेरिकामा वा अन्य कुनै मुलुकमा नेपालीले जसरी पसिना बगाएका हुन्छन्, त्यस्तै नेपालमा बगाउने वातावरण राज्यले गराउने हो भने सबै नेपाली आफ्नै देशमा अटाउन सक्छन्। अमेरिकामा स्वदेशी वा विदेशी जो–कोहीले पनि कतै ठगठाग, छलकपट गर्न पाइँदैन।

कानुनी राज्यको पूर्ण पालन अमेरिकामा देख्न पाइन्छ। नेपालमा काम भन्दा कुरा ज्यादा भएको छ। तीन महिना काम गरेर १२ महिना खान खोजिन्छ अनि देश कसरी समृद्ध बनोस्। नेपालमा श्रम बजारको सिर्जना गरी कुरा भन्दा कामलाई प्राथमिकता दिन सक्ने हो भने कुनै दिन अमेरिकी नागरिक नेपालका गाउँगाउँमा घुम्न आउनेछन् र यतै बस्नेछन्।

अमेरिकाका वा संसारका कुनै पनि देशका नागरिकहरू नेपालका प्राकृतिक, ऐतिहासिक र पर्यटकीय स्थलहरू हेर्न मेचीदेखि महाकाली हुँदै राजधानीको शीतलनिवास र सिंहदरबार समेत हेर्नेको ओइरो लाग्नेछ।

सम्भव छ, हाम्रै पालामा। यस्तो दिनको प्रतीक्षा गरौं कि विदेशीलाई कर्णालीको काखमा बसेर देउडा गीत सुनाउँदै नेपालको इतिहास भन्न पाइयोस् ताकि सौन्दर्य, गर्व र श्रद्धाले मात्र होइन शक्तिले पनि ह्वाइट हाउस भन्दा हाम्रा गाउँगाउँका सिंहदरबारका उचाइ सदा उच्च हुनेछन् र हाम्रो मन उच्च हुनेछ।

हाल भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?