+
+

‘पल्पसा क्याफे’ नाटक वैशाख ९ देखि, स्वस्तिमाले छाडेपछि सृष्टिको ‘इन्ट्री’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते ११:३४

काठमाडौं । कोरोना महामारीले अघिल्लो वर्ष रोकिएको नाटक ‘पल्पसा क्याफे’को मञ्चन आगामी वैशाख ९ गतेदेखि सुरु हुने भएको छ ।

नारायण वाग्लेको मदन पुरस्कार प्राप्त सोही नामको उपन्यासमा आधारित रहेको नाटकलाई थिएटर भिलेजले मञ्चन गर्न लागेको हो । थिएटर भिलेज थापागाउँस्थित मण्डला थिएटरमा वैशाख महिनाभर नाटक प्रदर्शन हुनेछ ।

सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलीप रानाभाटको सहनिर्देशन रहने उक्त नाटकको मञ्चनमा ढिलाइ भएसँगै कलाकारमा पनि हेरफेर भएको छ ।

अघिल्लो वर्ष पल्पसाको मुख्य चरित्रमा स्वस्तिमा खड्काले अभिनय गर्ने भनिएपनि उनले छाडेपछि सृष्टि श्रेष्ठले उक्त चरित्रमा अभिनय गर्ने भएकी छन् ।

दृश्यको भूमिका नाटक निर्देशक विमल सुवेदी आफैंले गर्ने भएका छन् । अर्को मुख्य पात्र सिद्धार्थको भूमिका दीपेश राईले निर्वाह गर्नेछन् ।  पटक–पटक नाटक सर्दा कलाकारलाई जुटाउन समस्या भएको कास्टिङ निर्देशक समेत रहेका रानाभाटले जनाए ।

‘पल्पसा क्याफे’ नेपालको चर्चित उपन्यासमध्ये एक हो । यो पुस्तक अंग्रेजी, फ्रान्सेली, कोरियाली तथा सिंहला भाषामा समेत अनूदित छ । एक दशक लामो सशस्त्र द्वन्द्व वरपर रहेर एक पेन्टरको कथा प्रस्तुत गर्ने पुस्तकले तत्कालीन परिवर्तनशील समाजको कथालाई सरलीकरण गरेर चर्चा बटुलेको थियो ।

सशस्त्र युद्धमा सहभागी भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले देखेको युद्धको परिवेशलाई उपन्यासले पेस गर्छ । निर्देशक सुवेदीले १५ वर्षपछि उपन्यासतिर फर्किंदै त्यसबेला उठाएका विषयलाई वर्तमान समयमा विवेचना गर्न लागेको जानकारी दिए ।

भर्खरै प्रदर्शन भएको फिल्म ‘चिसो एस्ट्रे’मा अभिनय गरेकी सृष्टिले यसअघि थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरेकी छन् । सान्दाजुको महाभारत, यार्मा, ह्याम्लेट, मालिनीजस्ता फरक डिजाइनका नाटक निर्देशनमार्फत आफूलाई चिनाएका विमल सुवेदी एक दशकपछि पुनः अभिनयमा फर्किंदैछन् ।

नाटकमा सृष्टि र विमलसहित दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांश, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?