१८ चैत, काठमाडौं । चेन्नाई सुपर किंग्सका ड्वाने ब्राभोले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सार्वाधिक विकेट लिने कीर्तिमान बनाएका छन् ।
आईपीएल अन्तर्गत बिहीबार राति लखनउ सुपर जायन्ट्स विरुद्धको खेलमा एक विकेट लिएपछि ब्राभोले आईपीएलमा विकेट संख्या १७१ पुर्याउदै कीर्तिमान बनाए । उनले श्रीलंकन लासिथ मालिंगालाई पछि पारेका हुन् ।
ट्रिनिडाडका ३८ वर्षीय अलराउण्डर ब्राभोले १५३ खेल खेल्दै १७१ विकेट लिएका हुन् । उनले लखनउका दिपक हुड्डाको विकेट लिँदै आईपीएलमा यो उपलब्धी हासिल गरे । मालिंगाले १२२ खेलमै १७० विकेट लिएका थिए ।
आईपीएलका सर्वाधिक विकेट लिने सूचीको शीर्ष ५ मा बाँकी तीन जना भारतीय खेलाडी नै छन् । अमित मिश्राले १६६, पियुष चावलाले १५७ र हर्भजन सिंहले १५० विकेट लिएका छन् ।
आईपीएलमा सर्वाधिक रन बनाउने कीर्तिमान भने भारतका विराट कोहलीको नाममा छ । विराटले ६ हजार ३३६ रन बनाएका छन् ।
प्रतिक्रिया 4