+
+

शनिबारदेखि जनकपुर–जयनगर रेल सञ्चालन हुने, चढ्नलाई परिचय पत्र अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १६:३५

१८ चैत, जनकपुरधाम । जनकपुर–जयनगर रेल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आउनेछ ।

रेल उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाले बताए । जनकपुरधाम रेल्वे स्टेशनमा रेलको उद्घाटन हुनेछ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट गर्ने उद्घाटन हेर्नका निम्ति यहाँ ठूलो स्क्रिन जडान गरिनेछ ।

रेलको उद्घाटन हुने भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले शुक्रबार जनकपुरधाम रेल्वे स्टेशनको अनुगमन गरेकी छन् । उनले उद्घाटनको तयारी भव्य रुपमा गर्न निर्देशन दिएकी छन् ।

रेल चढ्न परिचप पत्र अनिवार्य

नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल संचालन हुन लागेको छ । दैनिक दुई पटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुने महाप्रबन्धक झाले बताए ।

दुई देशीय यात्रा भएका कारण दुवै देशका नागरिकलाई रेल चढ्न पहिचान खुल्ने प्रमाण पत्र बोक्नुपर्नेछ । नेपाली नागरिकलाई नागरिकताको प्रमाण पत्र, पासपोर्ट या मतदाता परिचय पत्र अनिवार्य बोक्नुपर्नेछ ।

भारतीय नागरिकलाई पनि पहिचान खुल्ने परिचय पत्र बोक्नुपर्ने महाप्रबन्धक झाले बताए । १० देखि १८ वर्षसम्मका बालबालिकाको हकमा भने विद्यालयको परिचय पत्र बोक्नुपर्ने उनले बताए ।

कति छ भाडा ?

नेपाली रेल सञ्चालन हुने भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ७ वटा स्टेशन रहेको छ । जनकपुरधाम स्टेशनलाई केन्द्र मानेर रेल्वे विभागले भाडा निर्धारण गरेको छ ।

जसअनुसार जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यहाँबाट परवाहा जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ, वैदेही जान सामान्य कोचमा २५ रुपैयाँ र एसी कोचमा १२५ रुपैयाँ, महिनाथपुर पुग्न सामान्य कोचमा ३५ रुपैयाँ र एसी कोचमा १७५ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ ।

यस्तै, खजुरी पुग्न सामान्य कोचमा ५५ रुपैयाँ र एसी कोचमा २७५ रुपैयाँ, इनर्वा पुग्न सामान्य कोचमा ६० रुपैयाँ र एसी कोचमा ३०० रुपैयाँ तथा जयनगर पुग्न सामान्य कोचमा ७० रुपैयाँ र एसी कोचमा ३५० रुपैयाँ भाडा दर तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?