
१९ चैत, पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि लेखेको आफ्नै किताब च्यातेका छन् ।
शुक्रबार विभिन्न गुरुङ संघ, संस्थाका अगुवाको भेलामा उनले आफ्नो कृति ‘लमजुङ र पृथ्वीसुब्बा’ नामक कृतिमा भ्रामक इतिहास लेखेको भन्दै कृति च्यातेका हुन् ।
निवर्तमान मुख्यमन्त्री गुरुङकै पालामा बिखर्ची गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्त भएका थिए । तत्पश्चात उनले लमजुङ घर भएका पृथ्वी सुब्बामाथि कृति लेखेका थिए । उक्त कृति भने गत कात्तिकमै प्रकाशन भएको थियो ।
उक्त कृतिको पृष्ठ १५ मा रहेको ‘पृथ्वीसुब्बा गुरुङ पुख्र्र्यौली’ खण्डमा पूर्वमुख्यमन्त्री गुरुङको परिचय दिँदै बिखर्चीले लेखेका थिए, ‘गुरुङ जातिहरु मध्ये उच्चस्तरको चार जात र निम्नस्तरको सोह्र जात भनेर पनि चिनिन्छ । यिनी (पृथ्वीसुब्बा गुरुङ) चार जाते हुन् । तर, यिनी जातीय विभेदको विरोध गर्छन् ।’
गुरुङ जातिबारे ‘भ्रामक र गलत’ इतिहास स्थापित गरेर जातीय फाटो ल्याउन खोजेको भन्दै गुरुङ समुदायले विरोध जनाएका थिए । ‘… यसप्रकारको विखण्डनकारी सोच, चिन्तन दृष्टिकोण भएका व्यक्तिलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिजस्तो गरिमामय पदमा एक मिनेट पनि बाहल गर्न मिल्दै मिल्दैन,’ अधिवक्ता मीन गुरुङले पुस्तकबारे फेसबुकमा लेखेका थिए, ‘त्यसैले तत्काल राजीनामा दिएर आम गुरुङ समुदायसँग सार्वजनिक माफी माग्नुपर्छ ।’
गुरुङले फेसबुकमा किताबले निर्माण गर्न खोजेको गलत इतिहासप्रति विरोध जनाएपछि अन्य गुरुङ संघसंस्थाका अगुवाहरुले पनि सार्वजनिक रुपमै विरोधमा उत्रेका थिए ।
गुरुङ समुदायको तीव्र विरोध पछि बिखर्चीले फागुनमा उल्लेखित वाक्य सच्याउँदै ‘गुरुङ समुदायभित्र कुनै उच्च र निचस्तरको जाति हुन्छ भनी ज–जसले हल्ला चलाए पनि…’ उल्लेख गरेका थिए ।
तर, त्यसपछि पनि गुरुङ समुदायको भावनामाथि ठेस पुर्याएको भन्दै विरोध रोकिएन । बिहीबार गुरुङ संघसंस्थाका अगुवाहरुले कुलपतिलाई आफूले गलत इतिहास लेखेको विषयमा गुरुङ समुदायसँग माफी माग्न र पदबाट राजीनामा दिनसमेत बिहीबार ४८ घन्टाको अल्टिमेटम दिएका थिए । दिएको समयमा माफी नमागे कुलपतिको कार्यालय घेराउ गर्ने र तालाबन्दी गर्ने उनीहरुको निर्णय थियो ।
तर, गुरुङ साहित्यक मञ्चले शुक्रबार पोखरामा गरेको कार्यक्रममा भौतिक रुपमै सहभागी भएर बिखर्चीले आत्मालोचनासहित किताब च्यातेका हुन् । उनले आफूले लेखेको विषयमा सत्यता नरहेको र त्यस्तो लेख्ने नियत पनि नरहेको स्पष्टिकरण दिए ।
‘मैले लेख्दै गर्दा विवेक पुर्याउन सकिनँ । यसबारे आत्मालोचित छु । लेखेको त्यो सत्य छैन, त्यस्तो लेख्न मेरो नियत पनि होइन,’ कार्यक्रममा कुलपति बिखर्चीले भने, ‘छापिइसकेका बाँकी किताब प्रति र इलेक्ट्रोनिक कपीसमेत नष्ट गर्ने प्रतिवद्धता जनाउँदछु ।’
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया 4