+
+

लुम्बिनीको राजधानी देउखुरीमा सहकारी दर्ता कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १३:३१

२० चैत, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा प्रदेश स्तरीय सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ ।

६५औं सहकारी दिवसको अवसरमा आइतबार राप्ती गाउँपालिकाको मौरीघाटस्थित कार्यालयको उट्घाटन प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले गरेका हुन् ।

प्रदेश स्तरीय सहकारी संस्थाको दर्ता, अनुगमन, नियमनलगायतका सबै कार्य गर्न कार्यालय स्थापना गरिएको लुम्बिनी प्रदेश सरकारको भनाइ छ । यसअघि आर्थिक मामिला तथा सहकारी मन्त्रालयले नै सहकारी दर्ता लगायतको काम गर्दै आएको थियो । अब भने प्रदेशभरकै सहकारी सम्बन्धी सबै कामहरु सोही कार्यालयबाटै हुनेछ ।

कार्यालय उट्घाटनमा बोल्दै मन्त्री खड्काले मुलुक संघीयतामा गएसंगै सहकारी पनि तीन तहको सरकारको मातहतमा पुगेको बताए । उनले लुम्बिनी प्रदेशभरका सहकारी संस्थाहरुलाई थप व्यवस्थित बनाउने बताए ।

सहकारीमा अनुगमन र नियमनको पाटोलाई बलियो बनाउँदै सहकारी संस्थाहरुलाई थप पारदर्शी बनाउने उनले विश्वास व्यक्त गरे । अनुगमन  र  नियमनको पाटोलाई   प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन दिएको मन्त्री खड्काले बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणकी राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले प्रदेश स्तरीय सहकारी दर्ता कार्यालय खुलेसंगै यसले प्रदेश भरिका जनतालाई सहकारी सञ्चालन गर्न सहज हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?