
२० चैत, का ठमाडौं । आगामी वैशाखदेखि झापाको भद्रपुरस्थित विमानस्थलबाट पोखरामा अब सिधा उडान हुने भएको छ । यस रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार २ वैशाख २०७९ बाट भद्रपुर–पोखरा रुटमा दैनिक सिधा उडान गरिने भएको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुर दिउँसो १ः२५ मा जहाज उड्नेछ । भद्रपुरबाट सो जहाज पोखराका लागि दिउँसो ३ बजे उड्नेछ ।
यस उडानबाट दुवै प्रदेशका बासिन्दा लाभान्वित हुनेछ । साथै सीमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटक आउन सहज हुने कम्पनीको भनाइ छ । भद्रपुर आसपासका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यसहित इलामका चियाबगान, हिमश्रृंखलाको अवलोकन गर्ने पर्यटक बढाउन समेत यो उडान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज पनि ल्याएको छ । भद्रपुर–पोखरा प्याकेजका लागि रु. १५ हजारमा २ रात ३ दिनको प्याकेज बनाइएको छ । जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट राखिएको छ ।
बुद्ध एयरले काठमाडौं बाहेक पोखरालाई देशको विभिन्न प्रदेशहरुसँग सिधा उडानले जोडेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन), नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान विस्तार गरिसकेको छ । बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज छन् ।
प्रतिक्रिया 4