+
+
बैंकिङ शिक्षा १९ :

के हो सरकारी ऋण पत्र ? किन जारी गरिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १८:३१

सरकारी ऋणपत्र बजार योग्य उपकरण हो जसमा लगानीकर्ताले ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित ब्याज प्राप्त हुने गरी लगानी गर्दछन् । देश विकासका लागि सरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमको ऋणपत्रहरु जारी गर्ने गर्दछ ।

नेपाल राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्रहरू मुख्यतया ४ प्रकारका छन् । ती ऋणपत्रहरूः ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र हुन् ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् ।

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएको नागरिक बचतपत्र ५ वर्ष अवधिको रहेको छ ।

मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी तोकी नेपाली रूपैंयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र ‘वैदेशिक रोजगार बचतपत्र’ हो । यो बचतपत्रको अवधि ५ वर्षको छ ।

सरकारी ऋणपत्रहरू कसरी जारी गरिन्छ ?

सरकारी ऋणपत्रहरू नेपाल राष्ट्र बैंकद्वारा सञ्चालित बोलकबोल प्रक्रिया मार्फत जारी गरिन्छ । बोलकबोल अनलाइन बोलकबोल प्रणाली मार्फत सञ्चालन गरिन्छ । विभिन्न ऋणपत्रको निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि निम्नानुसार रहेको छ ।

(क) ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु-बोलमूल्य विधि (American Auction System) प्रयोग गरिन्छ ।

(ख) विकास ऋणपत्र बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ भने बोलकबोलमा एकल ब्याजदर विधि (Dutch Auction System) प्रयोग गरिन्छ ।

(ग) नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन ‘खुला बजार सञ्चालन समिति’ ले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा यस बैंकको वेबसाइटमा प्रकाशित गरिन्छ । यी ऋणपत्रहरूको अवधि र यसमा पाइने निश्चित ब्याज दर नेपाल सरकारले तोकिदिए बमोजिम हुने गर्दछ ।

सरकारी ऋणपत्रहरूमा लगानी गर्दा के फाइदा हुन्छ ?

सरकारी ऋणपत्रहरू सार्वभौम सरकारको तर्फबाट जारी हुने हुँदा लगानी डुब्ने डर नहुने, निश्चित समयमा ब्याज प्राप्त हुने, तत्काल नगद आवश्यकता परेमा दोस्रो बजारमा सजिलैसँग बिक्री गर्न सकिने, जमानतको रुपमा प्रयोग गरी बैंक तथा वित्तीय संस्थाबाट सजिलै कर्जा प्राप्त हुने र तुलनात्मक रुपमा अन्य उपकरणहरूको तुलनामा ब्याज आम्दानी बढी हुने हुनाले ब्यक्ति वा संस्थाले सरकारी ऋणपत्रहरूमा लगानी गर्दछन् ।

नेपाल सरकारको ऋणपत्रहरूको दोस्रो बजार कारोबार कसरी गरिन्छ ?

नेपाल सरकारको ऋणपत्रहरूको दोस्रो बजार कारोबार निम्नानुसार गरिन्छ ।

(क) ट्रेजरी बिलः प्रमिसरी नोट सरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक-आपसमा दरपीठ गरी खरिद बिक्री गरी दोस्रो बजार कारोबार गरिन्छ । तर, त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनु पर्दछ ।

(ख) विकास ऋणपत्रः विकास ऋणपत्रको दोस्रोबजार कारोबार नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (NEPSE) मार्फत मात्र हुने व्यवस्था रहेको छ ।

(ग) नागरिक बचतपत्रः नागरिक बचतपत्रको दोस्रो बजार कारोबार देशभरका बजार निर्माताका साथै नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरू मार्फत गर्न सकिन्छ ।

(घ) वैदेशिक रोजगार बचतपत्र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालय वा बजार निर्माताका कार्यालयहरू मार्फत दोस्रो बजार कारोबार गर्न अर्थात् आफूसँग रहेको बचतपत्र बिक्री गर्न सकिन्छ ।

सरकारी ऋणपत्र धारण गर्दा कस्ता जोखिम हुन्छन् ?

सरकारी ऋणपत्रलाई जोखिममुक्त ऋणपत्र मानिन्छ । सार्वभौमसत्ता सम्पन्न सरकारले नै यसको सावाँ र ब्याज निर्धारित गरेको मितिमा तिर्ने प्रत्याभूति दिएको हुनाले यसलाई जोखिम रहित मानिएको हो ।

बैंकिङ शिक्षा १ :

बैंकिङ शिक्षा २ :

बैंकिङ शिक्षा ३ :

बैंकिङ शिक्षा  ४ : 

बैंकिङ शिक्षा ५ :

बैंकिङ शिक्षा ६ :

बैंकिङ शिक्षा ७ :

बैंकिङ शिक्षा ८ :

बैंकिङ शिक्षा ९ :

बैंकिङ शिक्षा १० :

बैंकिङ शिक्षा ११ :

बैंकिङ शिक्षा १२ :

बैंकिङ शिक्षा १३ :

बैंकिङ शिक्षा १४ :

बैंकिङ शिक्षा १५ :

बैंकिङ शिक्षा १६ :

बैंकिङ शिक्षा १७ :

बैंकिङ शिक्षा १८ :

बैंकिङ शिक्षा १९ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Joint Initiative