+
+

उधारो सम्झौता गर्न सकिन्न, भरतपुर छोड्दैनौं

६ वटा महानगरमध्ये माओवादीले लिने कहाँ त ? हामीले भरतपुरमा काम गरेर देखाएका छौं, हाम्रो आधार छ । त्यसैले हाम्रो बटमलाइन हो, भरतपुर छोड्दैनौं । सायद गठबन्धनमा सहमति हुन्छ होला । भएन भने हाम्रा लागि प्रतिष्ठाकै विषय हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते २१:२०

२३ चैत, चितवन । चुनावी तालमेल गर्न तयार भएको नेपाली कांग्रेसले भरतपुर महानगरपालिकालाई प्रतिष्ठाको विषय बनाएको छ । भरतपुरको मेयर कुनै हालतमा नछाड्ने चितवन कांग्रेसको अडान छ ।

माओवादी केन्द्र पनि भरतपुरको मेयर छाड्न तयार छैन । मेयर रेनु दाहाल भन्छिन्, ‘अरूका लागि प्रतिष्ठाको विषय हुन्छ भने हाम्रा लागि झनै हुन्छ नि ! हामीले भरतपुरमा काम गरेर देखाएका छौं, हाम्रो आधार छ । त्यसैले हाम्रो बटमलाइन हो, भरतपुर छोड्दैनौं ।’

सत्तारुढ गठबन्धनमा सहमति जुट्ने उनको दाबी छ । नभए माओवादीले एक्लै भएपनि चुनाव लड्ने उनी बताउँछिन् । मेयर रेनुले अघि भन्छिन्, ‘माओवादी केन्द्रमा (मेयरको उम्मेदवारमा) मेरो नाम निर्विकल्प जस्तै छ ।’

प्रस्तुत छ, मेयर दाहालसँग अनलाइनखबरकर्मी बिनु सुवेदी, रामकुमार डिसी र सुवास पण्डितले गरेको कुराकानीको सम्पादित अंश :

आफ्नो कार्यकालको मूल्यांकन कसरी गर्नुभएको छ ?

सुरुमा मेयरको उम्मेदवारका रूपमा आउँदा महानगरवासीले मलाई राम्ररी चिन्नुभएको थिएन । यद्यपि यहाँ आउनुभन्दा अघि म काठमाडौंमा सचिव थिएँ, त्योभन्दा पहिले युद्धकालमा रोल्पामा सचिव थिएँ । तर यहाँ प्रचण्ड पुत्रीका रूपमा चित्रण गरिएको थियो ।

देशकै केन्द्र भागमा रहेको महानगरमा काम गर्न सक्लिन् कि नसक्लिन् भन्ने खुल्दुली आम जनमानसमा थियो । जब पाँच वर्षको कार्यकाल बिताएँ, अब रेनु दाहाल हो भनेर परिचय दिनुपर्ने स्थिति रहेन । प्रचण्ड पुत्री, प्रचण्डले आफ्नो छोरीलाई यसो गर्‍यो भन्ने स्थिति पनि रहेन । किनकि मैले कर्मले जनताको मन जितेकी छु ।

अर्को कुरा, जे प्रतिबद्धता लिएर चुनावी मैदानमा आएकी थिएँ, त्यसमा अल्पकालीन र केही दीर्घकालीन कुरा थिए । हामीले घोषणापत्रमा उल्लेख गरेका सबै कार्यान्वयन हुन सकेनन् होला, तर हामीले भनेको भन्दा धेरै ठूला परियोजना अगाडि बढाएका छौं । नारायणी तटबन्धका लागि ४ अर्ब ७२ करोड बजेटको सुनिश्चितता गरेका छौं । अन्तर्राष्ट्रियस्तरको सभागृह सिटी हल निर्माण भएको छ ।

यो त संघीय सरकारको बजेटबाट भएको होला नि ?

म पनि यदाकदा महानगरको बजेटले विकास भएको होइन, केन्द्रको बजेटले हो भन्ने सुन्छु । महानगरको बजेट के हुन्छ र ! हामी आउँदा महानगरको आन्तरिक आय ३०/३५ करोड थियो । २९ वटा वडालाई एक–एक करोड दिंदा सकिइहाल्थ्यो ।

जता हेर्‍यो, सडक विस्तार भइरहेका छन् । खानेपानीका पाइपलाइन विछ्याउने, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालय भवन शिलान्यास जस्ता काम भइरहेका छन् । खानेपानीमा मात्रै पौने चार अर्बका खानेपानी आयोजना अगाडि बढेका छन् ।

संघीय बजेट विना सिटी हल, ६ लेन सडक, महानगरको रिङरोड सम्भव हुने थिएन । म दाबाका साथ भन्छु, यो पाँच वर्षमा २५ देखि ३० अर्बका कार्यक्रम महानगरपालिकामा सञ्चालन भएका छन् ।

केन्द्रको बजेट त्यतिकै आउँछ त ? त्यसका लागि त्यतिकै लाग्नुपर्ने होला । फाइल लिएर कुद्नुपर्ने होला । कसै न कसैले पहल लिनुपर्छ होला । महानगरपालिकाको पहलमा सबै काम अगाडि बढेका हुन् । ठूला सडक, व्यवस्थित पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन सबै क्षेत्रमा यो पाँच वर्षमा हामीले जे गरेका छौं, यसमा म सन्तुष्ट छु ।

गर्न चाहँदा चाहँदै पनि नसकेका अथवा छुटेका काम ?

छुटेको भन्दा पनि प्रक्रियामा धेरै काम छन् । ल्याण्डफिल्ड साइट निर्माण गरेर फोहोर व्यवस्थापनको काम मेरै कार्यकालमा कार्यान्वयनमा ल्याऊँ भन्ने सोचेको थिएँ । कोरियन सरकार र महानगरबीच जीटूजी सम्झौता भएर १ अर्ब २५ करोड अनुदान स्वीकृत भइसक्यो । कोरोनाका कारण काम सुरु गर्न ढिला भयो ।

जता हेर्‍यो, सडक विस्तार भइरहेका छन् । खानेपानीका पाइपलाइन विछ्याउने, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालय भवन शिलान्यास जस्ता काम भइरहेका छन् । खानेपानीमा मात्रै पौने चार अर्बका खानेपानी आयोजना अगाडि बढेका छन् ।

चौकी डाँडा महानगरको एक मात्रै पहाडी क्षेत्र हो, खानेपानी अभावका कारण त्यहाँका बासिन्दा विस्थापित हुने अवस्था आएको थियो । अहिले त्यहाँ प्रदेश र संघीय सरकारसँग समन्वय गरेर ढोडेनी र डाँडा खानेपानी आयोजना अगाडि बढाइएको छ ।

महानगरको ब्युटिफिकेशन र अन्तर्राष्ट्रिय रंगशाला बाँकी छ । यो हाम्रो लागि प्रतिष्ठाको विषय पनि छ । रंगशालाको समग्र मूल्यांकन गरेर संघीय सरकारलाई प्रतिवेदन बुझाइसकेका छौं ।

एक–दुई अर्ब बजेट सुनिश्चित गरेर काम अगाडि बढाउन सकिन्थ्यो । तर ऋण कसरी तिर्ने ? कुन विधिबाट तिर्ने भन्ने समस्या छ । सार्वजनिक खरिद ऐनले धुर्मुस-सुन्तली फाउन्डेसनले लिएको ऋणलाई चिन्दैन । केही न केही उपाय निकालेर अगाडि बढाउनुपर्छ ।

झण्डै एक अर्ब सुनिश्चित गरेर महानगर भवन शिलान्यास गरिएको छ । यस्ता केही महत्वपूर्ण काम प्रक्रियामा रहे, यसलाई पनि टुंग्याउन पाएको भए हुन्थ्यो ।

विमानस्थल विस्तारको मुद्दामा चाहिं के भयो नि ?

हामीले यहाँको विमानस्थल कार्यालय, पर्यटन, रक्षा, भूमिसुधार मन्त्रालयसँग धेरै चरणमा छलफल गरेर सहमति जुटाइसकेका छौं । सेनाको कालीबहादुर गणलाई आँपटारीमा स्थानान्तरण गरेर विमानस्थल विस्तार गरेर प्रदेश स्तरकै बनाउने भन्ने भएको छ ।

तर घोडा प्रजनन केन्द्रलाई मात्र सिफ्ट गर्ने कि गणलाई नै सिफ्ट गर्ने भन्ने निर्णय हाम्रो तहमा हुन सकेन । यसमा प्रधानमन्त्री, प्रधानसेनापति, पर्यटनमन्त्री र यस क्षेत्रका सांसद बसेर सहमति खोज्नुपर्छ र क्याबिनेटबाट निर्णय गर्नुपर्छ । अहिले घोडा प्रजनन केन्द्रलाई मात्रै सिफ्ट गरेर काम गर्दै गरौैं भनेर छलफल पनि भएको थियो । यसबारे मैले फलो गरिरहेको छु, थालेको छैन ।

प्रदेश र केन्द्रमा आफ्नै सरकार छ । यस्तो अनुकूलतामा त प्रशासनिक काम छिटो हुनुपर्ने होइन ?

सकारात्मक हिसाबले लिइदिएको भए झमेला हुने थिएन । सहज ढंगले नलिइदिंदा वा यो बनोस् कि नबनोस् भनेर धेरै सरोकार नलिइदिएकाले सहज भएन । सिटी हल शहरभन्दा थोरै गाउँतिर लैजान खोज्दा क्यान्सर परिसरमा हुन दिंदैनौं भनेर केही व्यक्तिले राजनीति गर्न खोजे ।

प्रतिशोधपूर्ण ढंगबाट चलखेल भयो । केपी ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँसम्म पनि पहुँच पुर्‍याउनुभयो । व्यक्तिको प्रभावले गर्दा बनाउने निश्चित भइसकेकोमा हामी पछाडि हट्नुपर्‍यो । नयाँ स्थानमा जग्गाको खोजीमा भौंतारिनुपर्‍यो । अहिले जिविसको जग्गा व्यवस्थापन गरेर सिटी हल बनाइरहेका छौं ।

रंगशालामा पनि त्यस्तै थियो । राजनीतिक पूर्वाग्रहका कारण बजेट दिइएन । त्यति बेला रोकिएको स्मार्ट सिटीका लागि ५० करोड अहिले थप भएको छ । हामीले गरेका विकास निर्माणका कामहरू सजिलै भएका होइनन् । चितवन, त्यसमा पनि भरतपुर भनेपछि बजेट नै स्वीकृत नगरिदिने परिस्थिति पनि थियो, कुनैबेला । त्यसका बाबजुद गर्नैपर्छ भन्ने संकल्प लिएर लागेकाले सफल भयौं । अर्बौंको बजेट स्वीकृत गर्ने कुरा सजिलो थिएन ।

तपाईंहरू ‘विकासको भरतपुर मोडल’ स्थापित गर्‍यौं’ भन्नुहुन्छ । जनताले यो कसरी अनुभूत गर्न सक्छन् ?

जनताले अनुभूति गरिरहनुभएकै छ त ! भरतपुरमा विकास भएन, यो मेयरले विकास गर्न सकेन भन्ने त मैले खासै सुनेको छैन । तर आम भरतपुरवासीले विकास भएकै छ भन्नुहुन्छ, मैले सबैको राम्रै सहानुभूति पाएकी छु ।

राजनीतिक पूर्वाग्रह भएका केही मान्छेले टीकाटिप्पणी गर्ने, भएकोलाई पनि नभएको भन्नेहरूलाई त केही भन्नु छैन । एक जना नेताले भन्नुभएछ, नारायणी तटबन्ध हिजोदेखिकै हो, केन्द्रीय बजेट हो । चक्रपथ र सिटी हल पनि केन्द्रीय बजेटबाट बनेको हो । महानगरपालिका आफैंले गरेजस्तो गर्छ !

अब दोस्रो कार्यकालमा दोहोरिने व्यक्तिगत रूपमा इच्छा छैन । पाँच वर्षमा विकासको जे काम थालनी भएको छ त्यसलाई सम्पन्न गर्नुपर्छ, फेरि उठ भन्यो भने फेरि तयार हुनुपर्छ । मुख्य कुरा पार्टीले के भन्छ, त्यही हो ।

उहाँलाई मेरो प्रश्न छ, गुरुयोजना बनाउनेदेखि फाइल बोकेर हिंड्ने को हो त ? ल एकजना कोही मैले गरेको हुँ भनेर आउन सक्छ ? गरेको कामलाई जस दिइनुपर्छ भनेर विषयान्तर गर्ने नकारात्मक सोचबाट ग्रस्त भएपछि त के लाग्छ र !

प्रचण्डको छोरी भएका कारण तपाईंको काम देखिएन, त्यो रूपमा हेरिएन भन्ने हो ?

अहिले सबैको केन्द्र यही जस्तो भएको छ । काठमाडौं महानगरपालिकाको मेयर को भन्ने छैन, भरतपुरमा को भन्ने किन हुन्छ ? मैले बुझ्न सकेको छैन ।

देशको संघीय राजधानी भएको काठमाडौं महानगरमा प्रतिष्ठाको विषय बन्नुपथ्र्यो, तर भरतपुर बनिरहेको छ । हरेक राजनीतिक दलको गतिविधि भरतपुर केन्द्रित छ । कामको हिसाबले महानगरवासी विश्वस्त हुनुभयो, तर राजनीतिक रूपमा आक्रमण र घेराबन्दी भइरहेको छ ।

प्रतिष्ठाको विषय बन्नुको कारण तपाईंले मेयरका रूपमा गरेको काम हो भन्न खोज्नुभएको हो ?

राष्ट्रिय राजनीतिमा माओवादी केन्द्र र त्यसको नेतृत्वको हिसाबले अध्यक्ष प्रचण्डकै वरिपरि घुमेको छ भन्ने यो पुष्टि हो भन्ने लाग्छ । म त सामान्य ‘ले म्यान’ हुँ ।

वडाहरूलाई थोरै बजेट दिनुभयो, धेरै आफूमा केन्द्रित गर्नुभयो भन्ने आरोप रहेछ नि !

म यसलाई सीधै खण्डन गर्छु । हामी पाँच वर्षमा आइपुग्दा महानगरको आय बल्ल एक अर्ब कटाएका छौं । त्यसमा आधाभन्दा बढी त चालु खर्च छ । ४० देखि ५० करोड मात्र हो महानगरको विकास बजेट । हामीले २९ वटा वडामा एक करोडबाट बजेट दिन सुरु गरेका हौं, पछिल्लो पटक पौने २ करोड पुर्‍याएका छौं । त्योभन्दा कति दिन सकिन्थ्यो र महानगरको बजेटबाट ?

बजेट बनाउँदा कुनै वडालाई भेदभाव छैन । माओवादी केन्द्रले जितेको जम्मा तीन वटा वडा हो । हामीले जितेको तीन वटा र अरू वडाको विकास हेरौं न ! के भेदभाव छ ? कसैले पनि भन्न सक्दैन कि मेयरले राजनीतिक पूर्वाग्रह राखेर गर्‍यो ।

अर्को कुरा, मेयरका हिसाबले मैले त दीर्घकालीन सोचका साथ सुझबुझपूर्ण तरिकाले काम गर्नुपर्‍यो । वडामा धेरै बजेट दिंदा वडामा मात्रै केन्द्रित हुन्छ । विभिन्न रणनीतिक महत्वका सडक हुन्छन्, सिमाना सडक हुन्छन्, त्यसलाई पनि हेर्नुपर्‍यो ।

अर्को कार्यकाल दोहोरिनेबारे के सोच्नुभएको छ ?

पाँच वर्षमा आफ्नो बुद्धि, विवेक भरपुर प्रयोग गरें । यसको मूल्यांकनको जिम्मा म जनतालाई दिन्छु । अब दोस्रो कार्यकालमा दोहोरिने व्यक्तिगत रूपमा इच्छा छैन । हिजो पार्टीले भनेको भरमा चुनाव लडेको हुँ । गठबन्धन त पछि न भएको हो ।

पाँच वर्षमा विकासको जे काम थालनी भएको छ, त्यसलाई सम्पन्न गर्नुपर्छ, फेरि उठ भन्यो भने फेरि तयार हुनुपर्छ । मुख्य कुरा पार्टीले के भन्छ, त्यही हो । पार्टीले भन्यो भने सिंगल लड्न पनि तयार, गठबन्धन भए पनि तयार ।

­सबै दलले भरतपुरलाई प्रतिष्ठाको विषय बनाएका छन् । तपाईंहरू दाबी छाड्नुहुन्छ कि हुन्न ?

अरूका लागि प्रतिष्ठाको विषय हुन्छ भने हाम्रा लागि झनै हुन्छ नि ! ६ वटा महानगरमध्ये माओवादीले लिने कहाँ त ? हामीले भरतपुरमा काम गरेर देखाएका छौं, हाम्रो आधार छ । त्यसैले हाम्रो बटमलाइन हो, भरतपुर छोड्दैनौं ।

सायद गठबन्धनमा सहमति हुन्छ होला । भएन भने हाम्रा लागि प्रतिष्ठाकै विषय हो । त्यसैले गठबन्धन भए पनि, सिंगल भए पनि हामी अगाडि बढ्छौं ।

त्यो बेला तपाईं नै दोहोरिने त होला नि ?

व्यक्तिभन्दा पनि पार्टी ठूलो हो । तर माओवादी केन्द्रमा मेरो नाम निर्विकल्प जस्तै छ ।

कांग्रेसले भरतपुर हामीलाई चाहिन्छ, गठबन्धन भनेको आलोपालो पनि हो भनेको छ नि ?

मैले भन्ने भन्दा पनि राष्ट्रिय तहबाटै टुंगिने विषय हो । अर्को कुरा, गठबन्धन गरे बापत (कांग्रेसले) केही नपाएको होइन । बढी फाइदा हुने भएरै मेयरमा छोड्नुभयो होला नि ! नोमिनेसन दिइसकेको उम्मेदवारलाई फिर्ता गराउनुभयो ।

यो रेनु दाहाललाई माया गरेर छोडेको हो र ? प्रचण्ड वा माओवादीलाई माया गरेर छोड्नुभएको पनि होइन । त्योभन्दा फाइदा हुने भएर न छाड्न तयार हुनुभयो । उहाँहरूले देशको नेतृत्व लिनुभयो । रेनु दाहाललाई माया गरेर छोडिदिएको जस्तो चर्चा हुन्छ । त्यो कुनै मानेमा सही होइन ।

प्रचण्डलाई त उहाँहरूले सहयोग गर्नुभएन । प्रचण्डलाई हराउन यही निर्वाचन क्षेत्र (चितवन–३) मा राप्रपाको हलोमा उहाँहरूले भोट हाल्नुभएको हो । हलोभन्दा माओवादी र रेनुलाई भोट हालेको बढी चर्चा हुन्छ, तर उहाँहरूले हलोलाई मत दिएर के पाउनुभयो ? यसबारे कुनै चर्चा नहुँदा दुःख लाग्छ ।

स्थानीय चुनावपछि आगामी वर्ष नै प्रदेश र संघीय चुनाव हुँदैछ । केन्द्रमा मेयर कांग्रेसलाई छोडिदिने, संघमा प्रचण्डलाई उनीहरूले सहयोग गर्ने भन्ने कुरा छ नि ?

त्यस्तो उधारो सहमति हुन्छ र ? राजनीतिमा कति बेला के हुन्छ केही ग्यारेन्टी हुँदैन ।

यत्रो ठूलो पार्टी, दुई तिहाइको सरकार यति छिट्टै तहसनहस होला भनेर हामीले कल्पना गरेका थियौं र ! त्यसैले राजनीति भनेको सम्भावनाको खेल हो, जे पनि हुनसक्छ ।

त्यसैले ६ महिनापछि हुने चुनावलाई लिएर अहिले सम्झौता गर्ने कुरा हुँदैन । सबै तहको चुनाव प्याकेजमै भएको भए सायद हुनसक्थ्यो होला । तर ६ महिनापछि हुने चुनावलाई अहिले उधारो सम्झौता गर्न सकिन्न ।

यो पाँच वर्षमा कति भोट बढाउनुभयो होला ?

मेयर सबैको साझा व्यक्ति हो । मैले राजनीतिक रूपमा त्यसरी विश्लेषण गरेर व्यवहार पनि गर्दिनँ । सकारात्मक सोचका साथ आउनुहुन्छ भने सबैलाई एउटै व्यवहार गर्छु । जुनसुकै पार्टीको भए पनि विकासप्रेमीहरूको राम्रो सद्भाव पाएको छु र एकचोटि विकासका लागि भोट भन्ने खालको आम चर्चा छ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?