
४ वैशाख, चितवन । आकर्षक र सुन्दर देखिएको चितवन भरतपुरको गोन्द्राङदेखि पुल्चोक नारायणगढसम्मको ६ लेन सडक उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउने भएका छन् ।
चितवन आएकै बेला प्रधानमन्त्री ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन पनि उद्घाटन गर्ने र नारायणगढ-बुटवल सडक निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीले गत चैत २५ गते नै ६ लेन सडक उदघाटन गर्ने तयारी थियो । तर उनको कार्यव्यस्ततालाई कारण देखाउँदै कार्यक्रम स्थगित गरिएको थियो ।
शुक्रबार सडक उदघाटन लगायतका कार्यक्रमका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टर चढेर चितवन आउने कार्यक्रम तय भएको छ ।
नारायणगढ–गोन्द्राङ ६ लेन सडक निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले नै २०७७ माघ २७ गते शिलान्यास गरेका थिए । शिलान्यास गरेको ठाउँ भरतपुर विमानस्थल अगाडि नै उद्घाटन कार्यक्रम राखिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भरतपुर–गोन्द्राङ सडक र सिटी हलको शिलान्यास एकैदिन गरेका थिए । एसियन मापदण्डको हाइवे अन्तर्गत ६.०८ किलोमिटर लामो सडक निर्माणको काम गत पुस २८ गते नै सकिए पनि सिटी हल भने अझै तयार भएको छैन ।
१ अर्ब १२ करोडको लागतमा सगुन कन्स्ट्रक्सन प्रा.लि.ले सडक बिस्तार गरेको हो । प्रालिले सडक निर्माणको काम सकेर सडक डिभिजन कार्यालय भरतपुरलाई हस्तान्तरणसमेत गरिसकेको छ । निर्माण सकिएको पाँच वर्षसम्म सडक बिग्रिएमा मर्मतको काम सोही ठेकेदार कम्पनीले नै गरिदिने सम्झौता छ ।
पहिले दुई लेन मात्रै रहेको सडकलाई बिस्तार गरेर बीचमा चार लेन र दुबै साइडतर्फ थप १/१ सर्भिस लेन तयार गरिएको छ । सडक बिस्तारसँगै दुबै तर्फ ६ सय बत्ती जडानको काम पनि सकिएको छ । रातको समयमा बत्ती बल्दा सडक झिलिमिली देखिन्छ ।
सडकमा ट्राफिक चिह्न, जेब्राक्रसलगायत लाइनिङका कामले सडक आकर्षक देखिएको छ । ट्राफिक लाइट जडानको तयारी भैरहेको छ ।
भरतपुरबाट नारायणगढ झर्ने ठाडो ओरालो काटेर त्यसको ‘स्लोप’ घटाइएको छ । भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । जसले गर्दा दुर्घटना हुने जोखिमसमेत कम घटेको छ ।
५० मिटर चौडाइ रहने ६ लेन सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विद्युत अन्डरग्राउन्ड गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुंगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जाने गरी ड्रेन तयार गरिएको छ ।
सडकको दायाँबायाँ ११.५/११.५ मिटरको पिच गरिएको छ । त्यसको विचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । मेडियनमा दूबो लगाउने र आकर्षक फूलहरुका बिरुवा रोप्ने काम भएको छ । सर्भिस लेन बाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ ।
गाउँपालिका भवन उद्घाटन र नारायणगढ-बुटवल सडक निरीक्षण
भरतपुरको ६ लेन सडक उदघाटनमा आएको बेला प्रधानमन्त्री ओलीले जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनाको नवनिर्मित भवनको समेत उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरूङले शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले गाउँपालिका भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । सोही अवसरमा उनले गाउँपालिकाका सक्रिय पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एमाले भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशनको पनि उद्घाटन गर्ने कार्यक्रम छ । भरतपुरको क्यान्सर अस्पतालस्थित अडिटोरियम हलमा महानगर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले चितवन अध्यक्ष कमलराज पाठकले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले त्यस लगत्तै नारायणगढ–बुटवल सडकखण्डको अनुगमन/निरीक्षण गर्ने कार्यक्रम छ । साथै नवलपुरका जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम पनि राखिएको छ ।
प्रतिक्रिया 4