+
+

नेपालगञ्जमा गठबन्धन सम्मानजनक हुनुपर्छ : सुरेश कनोडिया

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते २१:१५

२३ चैत, नेपालगञ्ज । केन्द्रमा जस्तै बाँकेमा पनि सत्तारुढ दलहरुबीच चुनावी तालमेलका लागि छलफल चलिरहेको छ । तर कुनै निष्कर्षमा पुगेको छैन ।

नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने र नगर्ने दुबै मत छ । गठबन्धन गर्दा पनि सम्मानजनक हुनुपर्ने नेताहरु बताउँछन् । कांग्रेसको अवस्था पहिलेभन्दा सुध्रिएको र माओवादी केन्द्रको बिग्रिएको उनीहरुको दावी छ । ‘अघिल्लो चुनावलाई आधार मानेर सिट बाँडफाँड गरियो भने त कांग्रेसले राजनीतिबाट सन्यास लिएर जंगलतिर लागे हुन्छ,’ नेपालगञ्जको मेयरका आकांक्षी सुरेश कनोडिया भन्छन्, ‘गठबन्धन हुँदा सम्मानजनक हुनुपर्छ ।’

प्रस्तुत छ, कनोडियासँग अनलाइनखबरकर्मी रघुनाथ बजगाईंदिपेश शाहीले गरेको कुराकानीको सम्पादित अंश :

काठमाडौंमा चुनावी तालेमलका लागि रस्साकस्सी चलिरहेको छ, नेपालगञ्जमा के गर्नुहुन्छ ?

हाम्रो पार्टीका मान्छेहरू पनि वडा, नगर, क्षेत्र र जिल्ला तहका बैठकमा व्यस्त छन् । कसैसँग भेट हुन पाएको छैन । तलबाट गरेको सहमति पार्टी केन्द्रले मान्नेवाला छैन, माथि पार्टीले केके गर्छ भन्ने डर जिल्लाका मान्छेलाई छ । वास्तवमा सबैले एकल रुपमा लड्नुपर्ने जस्तो लाग्छ ।

म प्रोफेसनल राजनीतिज्ञ होइन । मेरा लागि राजनीति सेवाको माध्यम हो, पेशा होइन । उहाँहरू (पार्टीका नेताहरु) को सोच के छ, थाहा छैन । बौद्धिकहरूले के भन्छन् भने, नेताहरूलाई आफ्नो कुर्सी र निर्वाचन क्षेत्र मात्र जोगाउने पीर छ रे ! देश र जनताको पीर कम छ ।

सबै गठबन्धन गरेर चुनाव जित्ने भन्छन्, तपाईंको चाहिँ किन रुची भएन ?

गठबन्धन भयो भने सम्मानजनक हुनुपर्छ । राप्रपा विभाजन भएकाले अवस्था राम्रो छैन । एमाले र माओवादी केन्द्रको अवस्था बिग्रिएको छ, जसपाको स्थिति पनि सुध्रिएको छैन । नेपाली कांग्रेसको अवस्था भने पहिलेभन्दा सुध्रिएको छ । अहिले पनि अघिल्लो चुनावमा नेपाली कांग्रेसको त्यति राम्रो भएन । त्यसैलाई आधार मानेर अहिले बाँडफाँड गरियो भने त कांग्रेसले राजनीतिबाट सन्यास लिएर जंगलतिर लागे हुन्छ ।

अघिल्लोपटक तपाईं नै मेयरमा पराजित हुनु भएको थियो । पाँच वर्ष स्थानीय तहको नेतृत्वबाट अलग भएको पार्टीको अहिले अवस्था राम्रो छ भन्नुहुन्छ, कसरी ?

अघिल्लो पटक पनि नेपालगञ्जमा कांग्रेसको राम्रै थियो । व्यक्तिगत रूपमा मेरो पनि राम्रै थियो । तर कांग्रेसभित्रकै केही साथीहरूले मन पराउनुभएन, भित्रबाटै सहयोग भएन । अन्यत्र अन्तर्घात गर्नेलाई पार्टीले कारबाही गर्‍यो ।

(कांग्रेस सभापति) शेरबहादुरजीले मलाई पनि कसले घात गर्‍यो भनेर सोध्नुभएको थियो, तर मैले कसैको नाम लिइन । जे भयो–भयो, नगरौं भनिदिएँ । अहिले साथीहरूलाई रियलाइजेसन भएको देखिन्छ ।

गठबन्धन नभएपनि चुनाव जित्छौं भन्ने हो ?

गठबन्धन गर्ने नगर्ने हामीले व्यवस्थापन गर्ने होइन । यो पार्टीका पदाधिकारीले टुंग्याउने विषय हो । हाम्रो काम त नागरिकलाई भन्दा पनि कार्यकर्तालाई नागरिकको घरघर गएर कांग्रेसलाई जिताउन मोटिभेट गर्ने हो । त्यसअनुसार अभियान चलाएर जनतासँग जोडिन काम गरेका छौं ।

चुनावमा जाँदा एजेण्डा केके छन् ?

अघिल्लो पटक पनि एजेन्डासहित गएको थिएँ, तर घोषणापत्र कसैले पढ्दैन ।

मेरो क्लियर एजेन्डा छ । सडक, पानी, नाली, बिजुली, सरसफाइ आदि नगरपालिकाको नियमित काम हो । जहाँ पुगेको छैन त्यहाँ पुर्‍याउनुपर्छ । जहाँ पुगेको छ, त्यसलाई मेन्टिनेन्स गर्नुपर्छ । यसबाहेक आज उद्योग व्यवसाय, टुरिस्ट, यातायात सबै धरासायी भएको छ । राज्यले त्यसलाई प्रोत्साहन गर्ने नीति ल्याएको छैन । त्यो गर्नुपर्छ ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?