
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’ चौथो सिजनको ग्रान्ड फिनाले सोमबार बेलुका हुँदैछ । नसिब तामाङ र रोशन श्रेष्ठबीच उपाधिको लागि प्रतिस्पर्धा हुँदैछ ।
प्रतिस्पर्धाका लागि दिइएको फाइनल टास्कलाई कम समयमै पूरा गर्ने एक प्रतिस्पर्धीलाई विजेता घोषित गर्ने तयारी छ । उक्त फाइनल टास्कको छायांकन पर्वतको कुश्मास्थित बन्जी जम्पमा भइसकेको छ ।
शोका निर्णायकमध्येका एक रेमनदास श्रेष्ठले सोमबार बेलुका रोडिजको चौथो सिजनले विजेता पाउने बताए । विजेताले १० लाख रुपैयाँ र यामाहा मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।
‘दर्शकको आधारमा रोडिजको चौथो सिजन सफल भएको छ,’ श्रेष्ठले भने । तीन महिना अघिदेखि सुरु भएको रोडिजको पछिल्लो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए ।
यसपटकको संस्करणलाई सिजन अफ सर्भाइभल पनि भनिएको छ । निर्णायकमा रेमनसहित अनुपविक्रम शाही, दीया मास्के, आशिष राना र पहिलो संस्करणका विजेता समन श्रेष्ठ निर्णायक थिए । यसपटकको सिजनलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।
भारतीय कम्पनी भायकमबाट लाइसेन्स लिएर नेपालमा निर्माण भएको रोडिज हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । बेलुका ८ बजे फिनाले प्रसारण हुँदैछ ।
प्रतिक्रिया 4