+
+

सौराहामा आउन थाले नयाँ वर्ष मनाउने पर्यटक, फुड फेस्टिबल आयोजना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १४:४७

२९, चैत, चितवन । नयाँ बर्ष २०७९ नजिकिएसँगै चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पर्यटकको चहलपहल बढेको छ ।

देशका विभिन्न ठाउँबाट सौराहा घुम्न चाहनेहरुले होटलका कोठा बुक गर्न थालेका क्षेत्रीय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ५० प्रतिशत जति होटलका कोठाहरु बुक भइसकेका छन् । ‘आज र भोलिसम्म यो बढेर सतप्रतिशत नजिक पुग्छ’ घिमिरेले भने, ‘अघिल्ला वर्षहरुमा कोभिडको त्रास थियो, यसपटक त्यस्तो केही छैन, पर्यटकहरु सौराहा आउन खोजेको देखिएको छ ।’

सौराहामा होटल बुक गर्नेमा नयाँ वर्ष मनाउन चाहने नेपालीहरु नै छन् । काठमाडौं, पोखरा, वीरगञ्ज, मकवानपुर, बुटवललगायतका ठाउँबाट आन्तरिक पर्यटकहरुले होटल बुक गरेको उनले जानकारी दिए ।

गएको मंसिरमा नेकपा एमालेको महाधिवेशन भएपछि सौराहाका होटलमा पर्यटकको खासै अभाव नभएको उनले बताए । ‘त्यसले सौराहाको राम्रो प्रचारप्रसार पनि भयो, पर्यटकहरु आए, कोभिड पनि कम हुँदै गयो’ निवर्तमान अध्यक्ष घिमिरेले भने, ‘नयाँ बर्षको आसपास पर्यटकहरुको संख्या बढेको छ, यसपछि लो सिजन सुरु हुन्छ ।’

सौराहामा ११८ होटल छन् । सौराहामा वाइल्डलाइफ टुरिजम हेर्न पर्यटकहरु आउने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज, विभिन्न मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनमा वन्यजन्तुका विभिन्न गतिविधि हेर्न सौराहामा पर्यटक बढी मात्रामा आउने गर्दछ ।

नयाँ वर्षमा फूड फेष्टिवल

सौराहामा गत फेब्रुअरि २ मा तोकिएको फुड फेस्टिबल नयाँ वर्षको अवसरमा गरिने भएको । त्यतिबेला कोरोना महामारीका कारण स्थगित गरिएको फेस्टिबलको १६ औं संस्करण नयाँ वर्षको अवसरमा गरिने फेस्टिबल संयोजक ध्रुव गिरीले बताए ।

रेस्टुरेन्ट एन्ड बार एशोसिएशन नेपाल (रेबान) सौराहाको आयोजनामा चैत ३० देखि वैशाख २ गतेसम्म फूड फेस्टिवल हुनेछ । कोरोना महामारीपछि गति लिन थालेको सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन फेस्टिबल आयोजना गरिएको गिरीले बताए ।

फेस्टिबलमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार रहनेछन् । फेस्टिबल स्थानीय कला, संस्कृति, भेषभूषाको जगेर्नामा केन्द्रित हुने संयोजक गिरीले बताए । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाति, आमा समूहलगायत अन्य संघसंस्थाको झाँकी प्रदर्शन तथा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने रेबान सौराहाका अध्यक्ष गिरीको भनाइ छ ।

कार्यक्रम अवधिभर कार्यक्रम स्थलदेखि सौराहा ड्यामसम्म हरेक दिन बेलुका जनजातिको झाँकी प्रदर्शन गरिने उनले बताए । आयोजकका अनुसार सडक किनारमा पर्यटक बसेर परिकारमा रमाउने व्यवस्था गरिनेछ ।

फेस्टिबलमा दैनिक २० हजारसम्म दर्शक आउने र ३ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकले अनुमान गरेको छ । रेबान महिला समूह र क्षेत्रीय होटल संघ नेपाल, चितवन सहआयोजक रहेको फेस्टिवल सम्पन्न गर्न ६० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?