+
+

अर्थतन्त्रको संकट र चुनावका कारण जाथाभावी रकमान्तर कठिन

सरकारी ढुकुटी कति चापमा ?

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ चैत ३० गते २१:१५

३० चैत, काठमाडौं । विदेशी मुद्राको सञ्चिति घटेकाले सरकारलाई एकातिर आयात नियन्त्रण गर्नुपर्ने बाध्यता छ भने अर्कोतिर त्यसकै कारण राजस्व प्रभावित हुने जोखिम छ । यसै कारण यो वर्ष विगतमा जसरी आर्थिक वर्षको अन्त्यमा मनपरी रकमान्तर कठिन छ ।

सम्बन्धित मन्त्रालय र निकायहरुले आन्तरिक रुपमा २५ प्रतिशतसम्म एक शीर्षकको बजेट अर्कोमा लैजान सुविधा पाएपनि अर्थ मन्त्रालयले नै रकमान्तर गर्न भने मुठ्ठी कसेको छ ।  बाह्य क्षेत्रमा चाप देखिएकाले आर्थिक वर्षको मध्यमा जथाभावी मागिएका बजेटहरु दिन अर्थले आनाकानी गरेको हो ।

गत आइतबार नेकपा एमालले गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ढुकुटीमा ३३ अर्ब मात्रै रहेको र ठेकदारहरुबाट मात्रै ५० अर्बभन्दा बढी माग भएकाले द्रुत गतिमा खर्च भएमा भुक्तानी समेत गर्न नसक्ने अवस्था रहेको दावी गरेका थिए । त्यसै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि वृद्धभत्ता समेत नपाइने अवस्था आउन सक्ने आशंका व्यक्त गरेका थिए ।

केे सरकारको ढुकुटी एमालले भनेजस्तै सरकार पुँजीगत खर्चको भुक्तानी पनि गर्नै नसक्ने अवस्थामा पुगेको हो त ? महालेखा नियन्त्रक कार्यालयका एक अधिकारी भन्छन्, ‘यो मिथ्या र भ्रमपूर्ण कुरा हो ।’

उनका अनुसार सोमबारसम्म सरकारको ढुकुटीमा ६७ अर्ब रुपैयाँ पैसा थियो, ठूला भुक्तानीहरु भएको दिन त्यो घटेर कुनै दिन ६५ अर्बमा र्झन सक्छ त कुनै दिन बढेर ७० अर्बमा पुग्छ ।

‘बाह्य क्षेत्रको दबाव काम गर्न चालिएका कदमको असरस्वरुप ढुकुटीमा समान्य खालको चाप स्वभाविक रुपमा हो, तर बाहिर हल्ला गरिएजस्तो समस्या देखिइसकेको छैन,’ उनी भन्छन् । सरकारको सञ्चित कोष नियमित ढंगमै चलिरहेको महालेखा नियन्त्रकको कार्यालयको दावी छ ।

चुनावको दबाबले मितव्ययी

अर्थमन्त्रालयका अनुसार यो वर्ष चुनावका लागि करिब १५ अर्बको स्रोत सुनिश्चित भइसकेको छ । निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालय लगायतका निकायलाई यस्तो स्रोत सुनिश्चित गरिएको हो ।

मन्त्रालयका प्रवक्ता ढुण्डीराज निरौला सरकारी ढुकुटीको अवस्था सहज नै रहेको दावी गर्छन् । ‘चुनावमा थप खर्च हुनसक्छ, आवश्यक सबै खर्च दिन मन्त्रालय तयार छ,’ उनले भने, ‘नियमित तथा क्रमागत कार्यक्रम आयोजनासहित भैपरी आउने र बजेटमै सुनिश्चित गरिएका कार्यक्रमहरुले पनि बजेट पाइरहेका छन्, पाइरहन्छन् ।’

बजेट बनाउने समयमा नमागिएका तर, आर्थिक वर्षको मध्यमा आएर मागिएका विभिन्न शीर्षक तथा कार्यक्रमका लागि भने बजेट नदिइएको उनले बताए । आर्थिक तथा वित्तीय अनुशासनभित्र रहेर मन्त्रालयले काम गरिरहेको भन्दै उनले कतिपय मितव्ययी नीतिमा विगतको भन्दा बढी कडाइ गरिएका कारण समस्या भएको भन्ने किसिमबाट हल्ला चलाइएको उनको भनाइ छ । आवश्यक खर्च गर्न सरकारलाई कुनै पनि समस्या नरहेको  निरौलाले बताए ।

प्रवक्ता निरौला पूँजीगत बजेट खर्चको दर बढेमा अर्थतन्त्रलाई थप मद्दत मिल्ने बताउँछन् । यो वर्ष ३ खर्ब ७८ अर्ब ०९ करोड पूँजीगत बजेट विनियोजन भएकोमा मंगलबारसम्म १ अर्ब १ अर्ब ३६ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको रिपोर्टमा देखिन्छ । यो कुल विनियोजनको २६.८१ प्रतिशत मात्र हो ।

कुल १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको सरकारले ७ खर्ब ८२ अर्ब २० करोड रुपैयाँ -४७.९) खर्चिसकेको छ । यसमा ६ खर्ब १५ अर्ब ७६ करोड चालु तथा ६४ अर्ब ९६ करोड रुपैयाँ वित्तीय खर्चको हिस्सा छ ।

यो वर्ष सरकारले ११ खर्ब ८० अर्ब ६० रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा मंगलबारसम्म ७ अर्ब ८७ करोड रुपैयाँ राजस्व असुल गरिसकेको छ । यो लक्ष्यको ६५.११ प्रतिशत हो । अहिलेसम्म राजस्व असुली पनि सन्तोषजनक अवस्था रहेकाले समस्या नरहेको मन्त्रालयको दावी छ ।

यस्तै २ खर्ब ३९ अर्बको आन्तरिक ऋण लिने लक्ष्य लिएको सरकारले २८ चैतसम्म १०५ अर्ब ऋण उठाइसकेको छ । सरकारले यो अवधिमा १ खर्ब १६ अर्बको बाह्य ऋण तथा १३ अर्ब ८९ करोड अनुदान गरी १ खर्ब २९ अर्ब ८८ करोड रुपैयाँ विकास सहायता परिचालन गरेको छ ।

तर, चुनावमा माग हुनसक्ने थप खर्चलाई ध्यानमा राखेर सरकारले मितव्ययी हुने नीति लिएको छ । तर, स्रोत सुनिश्चित भएका कार्यक्रमहरुमा खर्च नगरी बसेका मन्त्रालयहरु अहिले थप कार्यक्रमका लागि बजेट माग्दै दैनिक अर्थमन्त्रालय धाइरहेका छन् ।

नियमितबाहेक अत्यावश्यकलाई मात्र बजेट

चालु आर्थिक वर्षको बजेटमा समावेश नभएका कार्यक्रममा सबैजसो मन्त्रालयले ठूलो मात्रामा बजेट मागेका छन् । चालु आर्थिक वर्ष साउन लागेयता विभिन्न मन्त्रालयले ३ खर्ब भन्दा बढी बजेट माग गरेका छन् ।

९ महिनासम्म विकास बजेट खर्चिन नकसेर थला परेका मन्त्रालयहरु गैरबजेटरी बजेट माग्न भने अर्थमन्त्रालयमा तछाडमछाड गरिरहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्राल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले थप बजेट मागेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त डेढ खर्बभन्दा बढीको स्रोत मागेको छ ।

अर्थ मन्त्रालयले अहिले भएकै बजेटलाई व्यापक उपयोग गर्न मन्त्रालयहरुलाई भनेको छ । चुनावको लागि हुने खर्चको दबाबमा कारण अर्थ मन्त्रालयलाई विगतमा जसरी ठूलो रकम रकमान्तर गरेर वितरण गर्न यो वर्ष सुविधाजनक अवस्था भने देखिंदैन ।

झन अहिले बिलासी वस्तुको आयात नियन्त्रणको लागि काम भइरहेकाले राजस्वमा पर्ने प्रभावका कारण अर्थ मन्त्रालयलाई जथाभावी हुने खर्च नियन्त्रण गर्नुपर्ने बाध्यता आइलागेको छ । सरकारको खर्च कटौती गर्नकै लागि इन्धनको खपत घटाउने र सरकारी गाडीको दुरुपयोग रोक्ने लगायतका कार्ययोजना बनाउन मुख्यमन्त्रीकै नेतृत्वमा रहेको काम गरिररहेको छ ।

‘अन्य मन्त्रालयहरुलाई पनि मितव्यवयी बन्न अनुरोध गरेका छौं,’ अर्थ मन्त्रालयका प्रवक्ता निरौला भन्छन्, ‘कानुनअनुसारका सेवा सुविधाबाहेक अन्य फजुल खर्च नगर्ने नीति विगतदेखि नै हो, हामीले कार्यान्वयनमा जोड दिएका हौं ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?