+
+
संस्कृति :

मध्यपुरथिमिमा हर्षोल्लासका साथ मनाइयो सिन्दुर जात्रा

आर्यन धिमाल आर्यन धिमाल
२०७९ वैशाख २ गते १२:२८

२ वैशाख, भक्तपुर । मध्यपुरथिमि क्षेत्रमा शुक्रबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाएका हुन् ।

थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।

जात्रामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधिको पनि सहभागिता रहेको छ । यो जात्रालाई भव्य र सभ्यरुपमा मध्यपुरका बासिन्दाले मनाउँदै आएको बताउँदै नगर प्रमुख श्रेष्ठले जात्राले यहाँका संस्कृति र धार्मिक परम्परालाई हर्षोल्लासका साथ मनाएर उदाहरण दिएको बताए ।

थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागतरूपमा मनाउँदै आएको सो जात्रा अहिले थिमि क्षेत्रमा २३, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक, दक्षिण बाराही र निकोसेरालगायतमा छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको उनले जानकारी दिए ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

हेर्नुस् तस्वीरहरु : 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?