+
+

रजिन महर्जनद्वारा निर्देशित डकुमेन्ट्री अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबलमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १७:२८

काठमाडौं । महिनावारीसम्बन्धी व्यवहार परिवर्तनबारे निर्माण गरिएको डकुमेन्ट्री फिल्म ‘महिनावारी सम्बन्धी नेपालको अभियानः वर्जित मान्यतासँग सामना’ जर्मनीमा १–३ जुलाई, २०२२ मा हुने १८ औं अन्तर्राष्ट्रिय सर्ट फिल्म फेस्टिबल डेटमोल्डका लागि छनोट भएको छ ।

यो डकुमेन्ट्रीको निर्माण जर्मन नागरिक अन्तर्राष्ट्रिय मल्टिमिडिया जर्नलिस्ट डर्क गिल्सनले गरेका हुन् भने निर्देशन फिल्म मेकर तथा डकुमेन्ट्री निर्माता रजिन महर्जनले गरेका हुन् ।

सन् २०१० मा भिडियो एडिटर/एनिमेटरका रुपमा आफ्नो करियर सुरु गरेका उनले एक सय भन्दा बढी टेलिभिजन कमर्सियल, डकुमेन्ट्री र पीएसएको निर्देशन गरेसकेका छन् ।

यो डकुमेन्ट्रीकी प्रस्तोता चर्चित नायिका तथा फिल्म निर्माता केकी अधिकारी हुन् । उनी सन् २०२० देखि महिनावारी स्वास्थ्यको सद्भावना दूतको भूमिकामा रहेकी छन् ।

यो डकुमेन्ट्री सुदूरपश्चिम प्रदेशको धनगढी, कैलालीमा खिचिएको हो । यसमा महिनावारीको समयमा महिला तथा किशोरीहरुले स्कुल, परिवार र समाजमा भोग्नुपर्ने समस्या र भेदभाव तथा यसको अन्त्यका लागि भएका प्रयासबारे उल्लेख गरिएको छ ।

पछिल्लो समयमा सरोकारवाला निकायहरुले महिनावारीमा वर्जित सामाजिक मान्यताहरु परिवर्तनका लागि विभिन्न भूमिका खेलेका छन् । जसबाट समाजमा केही सकारात्मक परिवर्तन देखिए पनि अझै सामाजिक बन्धनहरु कायमै छन् भने महिनावारी स्वास्थ्यबारे चेतनाको अभाव छ ।

विद्यालय पाठ्याक्रममा महिनावारी स्वास्थ्यका बारेमा केही दशकदेखि नै समावेश गरिएको छ । महिलामा आउने शारीरिक परिवर्तनमध्येको एक परिवर्तन महिनावारीबारे हाम्रो समाजमा रहेका गलत मान्यता र यसमा बिस्तारै आउँदै गरेका परिवर्ततबारे समेत डकुमेन्ट्रीमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम क्षेत्रमा महिनावारीको समयमा महिलाहरुले छाउगोठमा बस्नुपर्ने बाध्यता छ । समाजमा प्रचलित धेरै अन्धविश्वासका कारण महिनावारी भएका महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्घ भन्दै थुप्रै बन्देज एंव निषेध गर्ने व्यवहारहरु हुने गरेका छन् । यो डकुमेन्ट्री महिनावारीबारे वर्जित मान्यतामा परिवर्तन ल्याउने अभिप्रायले निर्माण गरिएको हो ।

यो डकुमेन्ट्री यसअघि टोरोन्टो इन्टरनेशनल वुमन्स फिल्म फेस्टिबल, २०२२ र डब्लुएचओ हेल्थ फर अल फिल्म फेस्टिबल, २०२२ मा पनि छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?