+
+

काठमाडौंको मेयरमा सृजना सिंह र सुरज वैद्यबीच प्रतिस्पर्धा !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते २०:३०
सृजना सिंह र सुरज वैद्य ।

५ वैशाख, काठमाडौं । चुनावी तालमेल गर्दा पार्टीको कोटामा पर्ने–नपर्ने प्रष्ट नभए पनि भरतपुर, वीरगञ्जलगायतका महानगरपालिकामा नेपाली कांग्रेसका तल्ला समितिहरूबाट भटाभट उम्मेदवार सिफारिस भइरहेका छन् ।

तर देशकै राजधानी रहेको काठमाडौं महानगर कांग्रेसले पाउने निश्चित जस्तै हुँदा पनि महानगर समितिले उम्मेदवारको नाम सिफारिस गरेको छैन ।

त्यसको कारण हो, सृजना सिंहको नाम एकल रूपमा सिफारिस गर्ने पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाहना । सिंहको काठमाडौं जिल्लासँगै महानगर समितिमा दबदबा छ ।

काठमाडौंमा राम्रो पकड रहेको र आफूलाई दोस्रोपटक सभापति बन्न साथ दिएका सिंहको सहमति विना प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मेयरको उम्मेदवार टुंगो लगाउने संकेत गरेका छैनन् ।

कांग्रेस नेताहरुका अनुसार, देउवाको रोजाइ भने आफू निकट नेता तीर्थराम डंगोल हुन् । तर पूर्वमहामन्त्री सिंहकी पत्नी सृजनाले दाबी गरेपछि देउवा हच्किएका छन् । भेट्न आउने नेताहरुलाई सभापति देउवाले ‘प्रकाशमान आएर झगडा गर्छ’ भन्ने गरेको एक नेता सुनाउँछन् ।

पार्टीभित्र दबाव बढाउन र सर्वसहमतिको सन्देश दिन पनि सिंह निकट नेताहरू महानगर समितिबाट सृजनाको नाम एकल रुपमा सिफारिस गर्न चाहिरहेका छन् । स्रोतका अनुसार, नगर समितिका पदाधिकारीलाई त्यही दबाव छ ।

तर २०७४ को चुनावमा उपमेयर जितेकी हरिप्रभा खड्गी, कांग्रेस महानगर समितिका रहेका वडा नम्बर २५ का वडाध्यक्ष निलकाजी शाक्य र नगर समितिका सचिव सुशन वैद्य पनि मेयरका आकांक्षी भएकाले उम्मेदवार सिफारिसमा अलमल छ ।

नगर समितिबाट एकल वा सामूहिक जसरी नाम सिफारिस भएपनि कांग्रेसभित्रको शक्ति समीकरणले पनि सृजनाले टिकट पाउने सम्भावना बढी छ । गएको मंसिरमा सम्पन्न कांग्रेस महाधिवेशनमा सभापतिका निम्ति भएको दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सहयोग गरेका थिए । सिंहको प्यानलबाट उम्मेदवार रहेका विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित भएका थिए ।

तर सिंहले आफ्नो उम्मेदवारी सार्वजनिक भने गरेकी छैनन् । आन्तरिक भेटघाट र छलफल चाहिँ तीव्र बनाएको निकतवर्तीहरू बताउँछन् । मेयरको उम्मेदवार बन्नुपर्ने भन्दै सोमबार नेविसंघको एउटा समूहले सिंहलाई भेटेको छ ।

एमालेबाट सुरज वैद्य ?

सत्ता गठबन्धनबाट सृजना उम्मेदवार बने मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेद्वारसँग हुनेछ । तर एमालेले पनि उम्मेदवार टुंग्याउन सकेको छैन । महानगर कमिटीले अहिलेका मेयर विद्यासुन्दर शाक्य, पूर्व मेयर केशव स्थापित, महानगर कमिटी अध्यक्ष निर्मल देउला र नेतृ इन्दिरा पन्तको नाम सिफारिस गरेको छ ।

त्यो सिफारिस जिल्ला कमिटीबाट अगाडि बढेको छैन । सर्वसम्मतिबाट उम्मेदवार टुंग्याउने प्रयत्न चलिरहेकाले सिफारिस अगाडि नबढाइएको एक नेता बताउँछन् । तर छलफल लम्बिदा सर्वसम्मति नभएर आकांक्षी संख्या भने थपिएको छ । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामवीर मानन्धर मेयरको उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् ।

आकांक्षीमध्ये शाक्य र स्थापितको दावेदारी बलियो देखिएको एमाले स्रोत बताउँछ । ०४९ र ०५१ को स्थानीय चुनावमा काठमाडौं–२१ को वडाध्यक्ष जितेका शाक्य २०७४ को चुनावमा मेयर बनेका हुन् । त्यसबेला पनि शाक्य भन्दा बलिया नेता आकांक्षी थिए । पार्टीका तत्कालीन सचिव योगेश भट्टराईको समेत चर्चा थियो ।

तर काठमाडौं जिल्ला सचिव रहेका शाक्य उम्मेदवार मात्र भए, मेयरमा निर्वाचित बने । शाक्यले टिकट पाउनुमा उनको राजनीतिक पृष्ठभूमिसँगै माथिल्लो तहका नेताहरुसँगको निकटता समेत कारण थियो । अहिले पनि शाक्यलाई मेयर दोहोर्‍याउन एमालेका शीर्ष नेताहरू नै लागिपरेका छन् ।

२०७४ मा शाक्यलाई मेयर जिताउन चुनावी कमाण्ड सम्हालेका शंकर पोखरेल अहिले पार्टी महासचिव छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुजिता शाक्य लगायत पनि विद्यासुन्दरलाई नै दोहोर्‍याउन अध्यक्ष केपी शर्मा ओलीमाथि दबाव बढाइरहेका छन् ।

मेयर शाक्यले आफ्नो उम्मेदवारीलाई राष्ट्रपति विद्या भण्डारीसम्मै जोडेको एमालेका एक नेता बताउँछन् । राष्ट्रपति भण्डारीकी छोरी उषाकिरण नेतृत्वको मदन भण्डारी फाउण्डेसनलाई महानगरबाट भएको आर्थिक सहयोगबाट पनि मेयर शाक्यले आफ्नो सम्भावना बलियो बनाउन चाहेको ती नेता बताउँछन् । ‘राष्ट्रपति विद्या भण्डारीले पनि विद्यासुन्दरलाई विश्वास गर्छन्, अघिल्लो पटक टिकट पाउनुमा पनि त्यो एउटा कारण थियो’, उनी भन्छन् ।

शाक्यलाई फेरि टिकट दिन राष्ट्रपति भण्डारीसहित एमालेभित्रको एउटा खेमा (ईश्वर पोखरेल, शंकर पोखरेल लगायत) लागिपरेको छ । तर शाक्यलाई रोक्न एमालेको अर्को खेमा पनि उत्तिकै तागतका साथ लागिपरेको छ ।

त्यो खेमाले पूर्वमेयर केशव स्थापितलाई टिकट दिनुपर्ने दबाव बढाइरहेका छन् । एमाले (तत्कालीन माले)का शीर्ष नेताहरू भूमिगत अवस्थामै रहँदा स्थापितले पार्टीलाई चिनाएको पृष्ठभूमि भएकाले पनि अहिलेको विशेष परिस्थितिमा उनलाई टिकट दिनुपर्ने त्यो खेमाका नेताहरुको तर्क छ । ‘अहिले पनि काठमाडौं महानगरको कुरा गर्दा केशव स्थापितको नाम सम्झना गर्ने गरिन्छ, हिजो पञ्चायतका उम्मेदवारविरुद्ध लड्दाको अवस्था बिर्सन हुन्न’, स्थापितको पक्षमा रहेका एक नेता भन्छन् । २०४३ को स्थानीय चुनावमा तत्कालिन मालेले केशव स्थापितलाई उपप्रधानपञ्चको उम्मेदवार बनाएको थियो । त्यसबेला प्रधानपञ्चका उम्मेदवार भने सीताराम मास्के थिए ।

पञ्चायतको अन्त्यपछि एमालेको संगठन विस्तारमा पनि केशव स्थापितको योगदान रहेको ती नेताहरु बताउँछन् । एमालेको युवा संगठन (तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठन) का संस्थापक अध्यक्ष केपी शर्मा ओली र महासचिव केशव स्थापित थिए । ओलीपछि स्थापित अध्यक्ष बनेका थिए ।

२०४८ को स्थानीय चुनावमा उपमेयरमा पराजित भएका स्थापित २०५४ मा मेयरमा निर्वाचित भए । ३१ मध्ये २७ वडामा एमाले उम्मेदवार निर्वाचित हुँदा स्थापित मेयर भए । तिनै स्थापितलाई मेयरको उम्मेद्वार बनाउन एमालेभित्रको एउटा खेमा सक्रिय छ ।

स्रोतका अनुसार, काठमाडौं इन्चार्ज कृष्णगोपाल श्रेष्ठ र सहइन्चार्ज कृष्ण राई समेत स्थापित दोहोरिने लाइनमा उभिएका छन् । श्रेष्ठ र राई दुवैको काठमाडौंमा राम्रो पकड छ । यो खेमालाई दुई पोखरेल (ईश्वर र शंकर) इतर एमाले नेताहरुको समर्थन स्वभाविक बन्न पुगेको छ । चितवन महाधिवेशनपछि एमालेमा ईश्वर, शंकर भर्सेस सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल खेमा विकसित भएको छ ।

काठमाडौंको मेयरको उम्मेदवारलाई लिएर शीर्ष नेताहरू नै विभाजित भएपछि अध्यक्ष ओलीले भने वैकल्पिक उम्मेदवारको विषय प्रवेश गराएका छन् । एक जिल्ला नेताका अनुसार, ओलीले मेयरबारे भएको छलफलकै क्रममा ‘तेस्रो व्यक्तिको प्रवेश हुनसक्ने र त्यसबेला सबै एकजुट भएर लाग्नुपर्ने’ बताएका थिए । बालकोटमै भेट्न पुगेका नेताहरूलाई पनि अध्यक्ष ओलीले मेयरमा नयाँ अनुहार आउन सक्ने संकेत दिने गरेका छन् । ‘जुनसुकै अवसरका लागि तयार हुनुपर्छ । मेयरमै किन सीमित भइरहनुपर्‍यो’, मेयरका आकांक्षा राखेका नेताहरुलाई ओलीले भनेको एक नेता बताउँछन् ।

एमाले उच्च स्रोतका अनुसार, ओलीले दिएको तेस्रो व्यक्तिको प्रवेश सुरज वैद्य हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका वैद्यलाई अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा नेपाल भ्रमण वर्षको सचिवालयको राष्ट्रिय संयोजक समेत बनाएका थिए ।

उनलाई अघि सार्दा व्यापारिक समुदायको साथ पनि हुने र वर्तमान मेयर शाक्यको पालामा भएका विवादबाट समेत छल्न सहज हुने भएकाले उनको सम्भावना रहेको नेताहरु बताउँछन् । अर्थात्, राप्रपा नेपालसँग तालमेल गरेको एमालेले काठमाडौं महानगरमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध सुरज वैद्यलाई अगाडि सार्ने सम्भावना बढेको छ । तर त्यो निर्णय तत्काल नहुने एमाले नेताहरु बताउँछन् ।

बालेन, समीक्षा र सुनीताको चुनौती

सत्ता र विपक्षी गठबन्धन बाहेक काठमाडौं महानगरमा विवेकशील साझाको पनि उम्मेदवार प्रतिस्पर्धामा उत्रदैछन् । विवेकशील साझाले समीक्षा बास्कोटालाई मेयरको उम्मेदवार बनाएको छ । उसले घोषणापत्र नै सार्वजनिक गरिसकेको छ ।

२०७४ मा तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए । तत्कालीन विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाएकी थिइन् ।

कुनै समय थापा र दर्शना एउटै पार्टी विवेकशील साझामा थिए । तर दर्शनाले पार्टी छाडिसकिन् भने विवेकशील पक्षका धेरै नेता पार्टीमा छैनन् । त्यसैले समीक्षालाई किशोर थापा र रञ्जु दशर्नाले ल्याएको मत जोगाउन सजिलो छैन ।

तर उनले जति मत पाउँछिन्, त्यो आफ्नो पार्टी समर्थकसँगै कांग्रेस र एमाले समर्थक शुभेच्छुकबाटै पाउने भोट हो । अर्थात् कांग्रेस एमालेको भोट काट्ने हो ।

र्‍यापर तथा इन्जिनियर बालेन शाहले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । पछिल्लो समय आक्रमक चुनावी अभियान चलाइरहेका उनीप्रति युवा पुस्ताको आकर्षण देखिन्छ । मिस नेवाः सुनिता डंगोल पनि चुनावी मैदानमा छिन् । त्यसैले कांग्रेस र एमाले गठबन्धनका उम्मेदवारसँग बालेन, समीक्षा र सुनीता चुनावी मैदानमा उत्रनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?