+
+

सत्ता गठबन्धन : पोखरामा अड्कियो महानगरको भागबण्डा

तालमेल भए भरतपुर माओवादी र वीरगञ्ज जसपाले पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते २०:३१

५ चैत, काठमाडौं । देशभरका ६ वटा महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरामा अड्किएको छ ।

सोमबार दिनभर बालुवाटारमा भेला भएर छलफल गर्दा पनि सहमति नजुटेपछि भोलि मंगलबार विहान साढे ११ बजे बस्ने गरेर शीर्ष नेताहरु उठेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा ६ वटा महानगरको भागवण्डा मिलाएर उपमहानगरमा प्रवेश गर्ने भनेर छलफल थालेका थिए ।

नेताहरुका अनुसार ५ वटा महानगरको भागवण्डा सहमति नजिक पुगेको छ, जसअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर पाउने छ ।

पोखरा महानगरको मेयरमा भने कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । ‘६ वटा महानगरमा होमवर्क भएको थियो । तर पोखरामा कांग्रेसको पनि दाबी रहने, एकीकृत समाजवादीको पनि दाबी रह्यो । दुबैलाई पोखरा नभए आकाश नै खस्ने भयो’ एक नेता भन्छन्, ‘पोखराको अडानले अरु पनि स्थगित रह्यो ।’

गठबन्धन हुने–नहुने पोखराको भागवण्डामा निर्भर हुने देखिएको नेताहरु बताउँछन् । ‘स्थानीयको रिपोर्टमा एमाले बलियो छ, एकीकृत समाजवादीले धेरै भोट काट्दैन भन्ने छ । दोस्रो पार्टी पनि भएकाले आफ्नो दाबी स्वभाविक भएको कांग्रेस नेताहरुको तर्क छ,’ एक नेता भन्छन्, ‘एकीकृत समाजवादीका नेताहरुले हामी एमालेबाट फुटेको हो, हामीले जित्छौं भन्ने दाबी रह्यो ।’

कांग्रेसले मेयर लिंदा उपमेयर छाड्नुपर्ने

नेताहरुका अनुसार महानगरको मेयरका साथै उपमेयरको भागवण्डाबारे छलफल भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुले कांग्रेसले मेयर लिएको तीन महानगरमा उपमेयर छाड्नुपर्ने बाताएका छन् ।

२०७४ को चुनावमा काठमाडौं महानगर एमालेले जितेको छ भने उपमेयर कांग्रेसले जितेको छ । काठमाडौंको मेयरमा कांग्रेसलाई समर्थन गर्न तयार भएका सत्तारुढ दलहरुले उपेमयर भने आफूहरुले पाउनुपर्ने दाबी गरेका छन् । उपमेयरमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाकै दाबी रहेको एक नेताले सुनाए ।

ललितपुर २०७४ मा पनि कांग्रेसले जितेको थियो । यो पटक पनि कांग्रेसलाई समर्थन गर्न सत्तारुढ दलहरु तयार भएका छन् । तर उपमेयरमा माओवादी र एकीकृत समाजवादीको दाबी छ ।

विराटनगरको उपमेयरमा जसपाले दिने र वीरगञ्जमा कांग्रेसलाई उपमेयरलाई दिने नेताहरुको प्रस्ताव छ । २०७४ मा वीरगञ्जको मेयर जसपाले जित्दा कांग्रेस उपमेयर भएको थियो । विराटनगरमा भने मेयर र उपमेयर दुबै कांग्रेसले जितेको थियो ।

भरतपुरमा मेयर लिँँदा उपमेयर कांग्रेसलाई छाड्न माओवादी केन्द्रका नेतहरु तयार भएका छन् । २०७४ मा पनि माओवादीकी रेनु दाहालले मेयर जित्दा कांग्रेसकी पार्वती शाह उपमेयर चुनिएकी थिइन् । यो पटक भरतपुरको मेयर कुनै हालतमा नछाड्न कांग्रेस नेतृत्वलाई पार्टीमा चर्को दबाव छ ।

नेताहरुका अनुसार उपमहानगरबारे सामान्य छलफल सुरु भएको छ, तर केही टुंगिएको छैन । जसपाले आफूले जितेको जनकपुरधामसहित अर्को एउटा उपमहानगरको नेतृत्व दाबी गरेको छ । राष्ट्रिय जनमोर्चाले घोराही वा जितपुर सिमरामध्ये एक उपमहानगरको उपमेयर आफ्नो दललाई दिन माग गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले ६ महानगर र ११ उपमहानगरबारे भएको छलफल सहमति नजिक पुगेको बताए । उनले भने, ‘हामी सबै ठाउँमा सहमतिको नजिक पुगेका छौं । मलाई विश्वास छ, भोलि यो–यो ठाउँमा यसरी सहमति भयो भनेर जानकारी गराउन सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?