+
+

पर्साका कांग्रेस नेताले सभापति देउवालाई भेट्दै

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख ७ गते १४:५१

६ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर जनता समाजवादी पार्टी जसपालाई दिने सत्ता गठबन्धनको निर्णयपछि नेपाली कांग्रेस पर्साका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन् ।

जिल्ला नेताहरुले वीरगञ्जमा एक्लै चुनाव लड्ने तर मेयरमा अरुलाई सहयोग गर्न नसक्ने भन्दै आए पनि जिल्लाको सुझावलाई वेवास्ता गर्दै नेतृत्वले भागवण्डा लगाएपछि कांग्रेसका नेताहरु असन्तुष्ट छन् ।

त्यसैले कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, नेता अनिल रुंगटा पार्टी सभापति देउवालाई भेटन काठमाडौं प्रस्थान गरेका छन् ।

सभापतिलाई भेटेर आफ्नो कुरा राख्न पर्साबाट नेताहरुको एक टोली काठमाडौं हिँडेको नेता रिजालले बताए । वीरगञ्ज जसपालाई दिने निर्णय भयो त्यसलाई स्वीकारेर जानुहुन्छ कि के गर्नुहुन्छ ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले टेलिफोनमा भने, ‘त्यसबारे मलाई केही थाहा छैन, डिटेलमा बुझ्न काठमाडौं जाँदैछु । बुझेपछि मात्रै थाहा हुन्छ ।’

सभापतिलाई भेटेर आफ्नो कुरा राख्ने उनले बताए ।

कांग्रेस नगर सभापति मनिन्द्रालाल नेपाली यसअघिको अडान कायमै रहेको बताउँछन् । ‘हामीले आफ्नो कुरा ७ दिनअघि कै पत्रकार सम्मेलनमा राखिसकेका छौं’, उनले भने, ‘नयाँ डेभलपमेन्टको बारेमा पार्टीमा कुरा नगरी प्रतिक्रिया दिन सक्दिनँ ।’

नगर प्रमुखका आकांक्षीसमेत रहेका कञ्चन झाले अप्राकृतिक गठबन्धन हुँदा कांग्रेसका कार्यकर्ता हतोत्साहित हुने र संगठन उठ्नै नसक्नेगरी क्षतविक्षत हुने निश्चित भएको भन्दै गठबन्धन स्वीकार गर्न नसकिने बताए ।

‘कांग्रेसप्रति आस्थावान कार्यकर्ताहरूको भविष्य अन्य दलका नेताहरूको कठपुतली बन्ने सम्भावना ज्यादा छ । माथिबाट हेर्दा त लोकतन्त्र र संविधान जस्ता ठूलठूला कुरा देखिएला तर सतहमा भने गठबन्धनले यिनैलाई (संविधान र लोकतन्त्रलाई) ध्वस्त पार्न सक्छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गठबन्धनको नाउँमा अहिले वीरगञ्ज महानगरको नेतृत्व अरू दललाई दिँदाको सोझो प्रभाव तत्काल त यहीँ मात्र देखिएला तर यसले कालान्तरमा पर्सा जिल्ला नै कांग्रेसमुक्त हुन पुग्ने बाटो खन्ने छ ।’

कांग्रेसका कतिपय नेताहरुले पत्रकार सम्मेलन गरेर गठबन्धन आवश्यक नभएको बताएका थिए भने केन्द्रीय सदस्यहरु सहित बसेको बैठकले जिल्लामा गठबन्धन नगर्ने बताएका थिए । कांग्रेस र जसपाले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय नै गरेका थिए । कांग्रेसले साथ नदिए पनि वीरगञ्जमा आफूहरुले नै जित्ने दावी जसपाले पनि गरिरहेको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?