
७ वैशाख, काठमाडौं । बलात्कारका मुद्दामा पीडितलाई होस्टाइल बनाउने काम भएको भन्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
प्रतिरोध जनाधिकार आन्दोलनले गरेको विरोध कार्यक्रममा सहभागीहरुले बलात्कार जस्तो जघन्य अपराधको मुद्दामा पीडितलाई होस्टाइल बनाउने काम गरेको र अदालतले समेत उल्टै पीडितलाई कैद सजायको फैसला सुनाउने गरेको भन्दै विरोध गरे ।
विरोध प्रदर्शनमा सहभागी मनोज खतिवडाले पीडितलाई दबाब दिएर बयान फेर्न बाध्य बनाउने र पीडितलाई नै सजाय दिने परिपाटीको विरोध गरिएको बताए ।
‘पीडितलाई न्याय दिलाउनुको साटो अदालतले उल्टै दोषी ठह¥याइरहेको छ,’ उनले भने, ‘पीडकलाई कारबाही गरी पीडितले न्याय पाउनुपर्ने हाम्रो माग हो ।’
अधिवक्ता भावना घिमिरेले नेपालमा बलात्कारका मुद्दामा बारम्बार पीडितलाई होस्टाइल बनाइ पीडितलाई थप पीडा दिने काम भइरहेकाले अदालतको कार्यशैलीको विरोध गर्न प्रदर्शनमा आएको बताइन् ।
पीडितले बयान फेरेपछि अदालतको फैसला अभियुक्तकै पक्षमा आएको भन्दै उनले यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन् ।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘यो व्यवस्था महिलाका लागि जेल हो’, ‘पितृसत्ता फालौं आउनुस् आजै बोलौं’, ‘अदालती पितृसत्ता मुर्दावाद’, पुँजीवादी पितृसत्ता जस्तो अदालती निर्णय प्रक्रिया उस्तै हो’, ‘संगठित प्रतिरोध जनताको अधिकार’ लगायतका नारा लगाएका थिए ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4