+
+
एनभीए क्लब लिग :

प्रतिभा चोटग्रस्त, झरनाले खेल्न छाडिन्, समस्यामा न्यू डायमन्ड

नमिता दाहाल नमिता दाहाल
२०७९ वैशाख ९ गते ६:०१

९ वैशाख, काठमाडौं । दश दिनपछि आयोजना हुन लागेको छैठौं एनभीए क्लब लिग भलिबलको साविक विजेता टोली हो– न्यू डायमण्ड । २०७७ मा आयोजित पाँचौं संस्करणमा पहिलोपल्ट पाएको यो सफलतालाई निरन्तरता दिन यसपल्ट क्लबलाई कठिन हुने देखिएको छ ।

गएको असोजमा आयोजित एनभीए क्लब लिग च्याम्पियनसिपको उपाधि जितेको न्यू डायमण्डले सोही आधारमा क्लब लिग खेल्दैछ । प्रमुख खेलाडीको अनुपस्थितिका कारण न्यू डायमण्डका लागि यसपल्टको लिग प्रशिक्षक कुमार राईकै शब्दमा ‘आकाशको फल आँखा तरी मर’ भने झैं हुने भएको छ ।

राष्ट्रिय टोलीका प्रमुख स्पाइकर प्रतिभा माली पुरानो चोट बल्झिएपछि उपचारको क्रममा छिन् । राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी अरुणा शाही माघमा आयोजित टाइगर कप भलिबल प्रतियोगितादेखि नै न्यू डायमण्ड टिममा छैनन् । उनले तीन वर्षदेखि क्लबका लागि खेलिरहेकी थिइन् । अर्की उदीयमान स्पाइकर झरना श्रेष्ठले पारिवारिक कारण देखाउँदै भलिबल खेल्न छाडेकी छन् । अर्की उदीयमान खेलाडी रिया कुँवर एसईई परीक्षाका कारण प्रशिक्षणमा छैनन् ।

यी खेलाडीको अनुपस्थितिले घरेलु महिला भलिबलको ‘पावर हाउस’ न्यू डायमण्डलाई ठूलो धक्का लागेको छ । महत्वपूर्ण पोजिसनका अनुभवी खेलाडीको अनुपस्थितिले न्यू डायमण्डलाई साख जोगाउनै चुनौति हुन थालेको प्रशिक्षक कुमार राई स्वीकार्छन् ।

‘यसपल्ट हामीसँग प्रमुख खेलाडी छैनन्, लिगमा आशा पनि रहेन,’ राईले अनलाइनखबरसँग भने ।

२०६३ सालमा स्थापना भएर एक वर्षपछि प्रशिक्षण सुरु गरेको न्यू डायमण्ड एकेडेमीले ६ वर्षपछि पहिलोपल्ट एनभीए क्लब च्याम्पियनसिपको उपाधि जितेको हो । त्यसयता राष्ट्रियस्तरका महिला भलिबल प्रतियोगितामा विभागीय टोलीका लागि प्रमुख चुनौति बन्दै आएको न्यू डायमण्डले २०७७ मा पहिलोपल्ट क्लब लिग जितेको थियो ।

झरना श्रेष्ठ ।

नेपाल भलिबल संघले क्लबस्तरीय प्रतिस्पर्धाका लागि वर्षको दुईवटा प्रतियोगिता आयोजना गर्छ । एनभीए क्लब च्याम्पियनसिप र क्लब लिग । च्याम्पियनसिपको प्रदर्शनका आधारमा शीर्ष टोलीहरुलाई क्लब लिग खेल्ने अवसर दिइन्छ । न्यू डायमण्डले अहिलेसम्म चारपल्ट (२०६९, २०७३, २०७७ र २०७८) क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।

नेपाललाई दुईपल्ट एभीसी सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी प्रतिभा माली पुनः चोटग्रस्त बनेकी छन् । २०७६ मंसिरमा दक्षिण एसियाली खेलकुदमा राजत जितेको दुई महिनापछि एनभीए क्लब च्याम्पियनसिपको फाइनलमा घुडाको चोट बोकेकी प्रतिभा त्यसयता झण्डै एक वर्ष कोर्टबाहिर रहिन् । चोटलाई जितेर फर्किएलगत्तै २०७७ मा न्यू डायमण्डले एनभीए क्लब च्याम्पियनसिपको उपाधि जित्यो ।

गत पुसमा बंगलादेशमा दोस्रोपल्ट सेन्ट्रल जोन भलिबलको उपाधि जितेर फर्किएपछि घरेलु प्रतियोगितामा नियमित व्यस्त रहँदा प्रतिभाको चोट पुनः बल्झियो । फागुन अन्तिममा चितवनमा आयोजित राष्ट्रियस्तरको प्रतियोगितामा उपाधि उचालेको न्यू डायमण्डले चैत दोस्रो साता नेपालगन्जमा आयोजित प्रधानमन्त्री कपको सेमिफाइनलमै पराजित हुनुको मुख्य कारण प्रतिभाको चोट पनि थियो ।

प्रतिभा माली ।

चिकित्सकका अनुसार प्रतिभा तीन महिना कोर्टबाहिर हुनेछिन् । कोर्टभित्र न्यू डायमण्डको सबैभन्दा भरपर्दो खेलाडीको अनुपस्थितिले टिमको मनोवल नै कमजोर हुने चिन्ता प्रशिक्षक राईलाई छ ।

‘प्रतिभाको ठाउँ पूरा गर्न तत्काल त असम्भव नै छ । उनी हाम्रा नयाँ नानीहरुको प्रेरणा पनि हुन्,’ प्रशिक्षक राईले भने ।

घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेमात्र होइन, न्यु डायमण्ड खेलाडी उत्पादनमा पनि उत्तिकै परिचित छ । क्लब लिगमा विदेशी खेलाडी पनि अनुबन्धन गर्न पाउने सुविधा प्रयोग गर्नेबारे न्यू डायमण्डले पनि सोचेको थियो । तर, युवा खेलाडी उत्पादनको पहिचान यथावत राख्न उनीहरुलाई नै अवसर दिने निर्णय क्लबले गरेको छ ।

‘यो लिगका लागि विदेशी खेलाडी ल्याउने कि भनेर पनि कुरा भएको हो । तर, हामीसँग थुप्रै युवा खेलाडीहरु छन् र उनीहरुलाई नै एक्स्पोजर दिनुपर्छ भन्ने भयो,’ क्लबकी अध्यक्ष सुनकेसरी मालीले अनलाइनखबरलाई भनिन्, ‘भविष्यलाई सोचेर हामीले यो निर्णय गरेका हौं ।’

 नयाँ खेलाडीको भरमा न्यु डाइमन्ड

 आसन्न क्लब लिगमा न्यू डायमण्डले उपाधि जित्ने लक्ष्य बनाउने छैन । सिनियर खेलाडीहरु कप्तान ललिता नाथ, सलिना श्रेष्ठ, बाल्मिका आचार्यहरुसँगै युवा खेलाडीको एक्स्पोजरमा ध्यान दिनेछ ।

‘नयाँ खेलाडी लिएर च्याम्पियन बन्ने भनेको निकै परको कुरा हो,’ उनले भने, ‘प्रतिभा मालीजस्तो लामो अनुभव भएका खेलाडीलाई ६/७ महिनादेखि खेल्न थालेका युवा खेलाडीले प्रतिस्थापन गर्ने कुरा निकै गाह्रो कुरा हो ।’

क्लब च्याम्पियनसिप जितेको ६/७ महिनामै टिममा यस्तो संकट पर्नेछ भनेर प्रशिक्षक राईले अनुमान नै गरेका थिएनन् । प्रतियोगिताबाट नाम फिर्ता लिन पनि मनले मानेन । ‘न्यू डायमन्ड जस्तो क्लबले हार्ने डरले प्रतियोगितामा नै खेलेन भन्नेजस्तो पनि पर्ला,’ राईले थपे, ‘कुनै समय एउटा खेल जिते पनि खुसी हुनुपर्ने अवस्था थियो । यसपल्ट अवस्था त्यस्तै छ ।’

राईले प्रतिभा र झरनाको प्रतिस्पथापनका लागि नयाँ खेलाडी पहिचान गरिसकेकी छन् । प्रतिभाको पोजिसनमा कक्षा ६ मा अध्ययनरत रोल्पाकी १४ वर्षीया सलिना बुढामगर खेल्नेछिन् । झरनाको स्थानमा कक्षा ७ मा अध्ययनरत संखुवासभाकी १४ वर्षीया जेनिशा विश्वकर्माले अवसर पाउनेछिन् ।

‘यी बच्चाहरुले प्रतिभा र झरनाको स्तरमा खेल्न त लामो समय अभ्यास गर्नुपर्छ । उनीहरु अरुभन्दा राम्रा छन्,’ राई भन्छन्, ‘सिकाएअनुसार खेल्दिए त नयाँ खेलाडी पनि कम छैनन् । तर, उनीहरुमा पूर्ण भर पर्ने स्थिति पनि छैन ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?