+
+

‘निर्माण व्यवसायी भन्दा नाक खुम्च्याउने प्रवृत्ति छ’ 

यो निर्वाचनमा अघिल्लो पटक भन्दा धेरै निर्माण व्यवसायी साथी चुनिएर आउने अपेक्षा छ । ठूला राजनीतिक दलहरूले टिकट दिउन् न स्थानीय तह कस्तो बनाउने र विकास निर्माणको काम कसरी हुन्छ हामी गरेर देखाउँछौं ।

रवि सिंह रवि सिंह
२०७९ वैशाख ९ गते १०:५५

अघिल्लो स्थानीय तहमा निर्वाचित भएका निर्माण व्यवसायीहरू अन्य क्षेत्रबाट आएका जनप्रतिनिधिहरू भन्दा धेरै राम्रो काम गर्न सफल भएका छन् । निर्माण व्यवसायीहरूले जितेका स्थानीय तहहरूमा अन्य पालिकाको तुलना गर्दा धेरै राम्रो भएको थाहा हुन्छ ।

हामीलाई सधैं काम नगर्ने पात्रका रूपमा चित्रित गरिन्थ्यो, तर २०७४ सालको चुनावमा जितेका साथीहरूलाई हेरौं, अधिकांशले राम्रो काम गरेर जनताको मन जितेका छन् । एकदम थोरै मात्रै अनियमितता र विवादमा परेका छन् । अघिल्लो स्थानीय तहमा निर्माण व्यवसायीहरूले गरेको कामको आधारमा हेर्ने हो भने यो निर्वाचनमा दोब्बर ठाउँमा निर्माण व्यवसायीहरू आउनुपर्ने हो ।

जति पनि सञ्चारमाध्यम र अन्य व्यक्तिहरूले ‘ठेकेदार’ भन्दै नकारात्मक कुरा छरेका थिए, विस्तारै राम्रा काम गरेर निर्माण व्यवसायीबाट जनप्रतिनिधि भएकाहरूले त्यो भ्रम चिरिरहेका छन् । हामीलाई बाटो नबनाउने, पुल नबनाउने भन्दै सधैं आरोप लाग्ने गरेको छ, तर हाम्रो कारणले मात्रै त्यो अवस्था आएको थिएन । सरकार र स्थानीय विवादको कारणले अलपत्र ठेक्काको समेत गाली हामीले लिनुपरेको कारणले हामी बदनाम हुँदै आएका थियौं ।

अहिले निर्माण व्यवसायबाट जनप्रतिनिधि भएकाहरूले सरकारले कसरी विकासको कामहरू गर्नुपर्छ र रोकिएमा कसरी अघि बढाउनुपर्छ भनेर सन्देश दिइरहनुभएको छ । अहिले जनता र संघीय सरकार दुवैलाई विकासमा के कुरा बाधक रहेछ भनेर बुझाउन हाम्रा जनप्रतिनिधि साथीहरू सक्षम भएका छन् ।

जस्तो कि टेण्डर खोल्नु अघि सबै तयारी पूरा गर्नुपर्ने, पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने, स्थानीय विवाद समाधान गर्नुपर्ने, जग्गा प्राप्ति र मुआब्जा समस्या समाधान गर्नुपर्ने कुरा हाम्रा साथीहरू कामबाटै बुझाउन सफल हुनुभएको छ । सबै तयारी सकेर दिने हो भने निर्माण व्यवसायीले पाएको ठेक्का समयमा नै पूरा गर्न सक्छन्, नकारात्मक धारणा परिवर्तन हुँदै जान्छन् भन्ने यस अवधिमा भएका कामले देखाएका छन् ।

स्थानीय तह भनेको विकास निर्माण गर्ने महत्वपूर्ण सरकार हो । हामी यही विषयमा जानकारी र अनुभव भएका मान्छेहरू त्यहाँ जाँदा विकास निर्माणमा टेवा त पुग्ने नै भयो । फेरि हामीलाई सरकारले खोल्ने ठेक्का, लागत अनुमान, समयावधिको विषयमा पनि जानकारी हुन्छ, हामी त विकास क्षेत्रको विज्ञ पनि हौं । त्यसकारण पनि निर्माण व्यवसायीले जिम्मेवारी पाए उचित ढंगले निर्वाह गर्छन् भन्ने कुरा पुष्टि भइसक्यो ।

स्थानीय तहमा उम्मेदवारका मापदण्डको बारेमा निर्माण व्यवसायीलाई हेर्ने निर्वाचन आयोगको दृष्टिकोण गलत देखियो । हामी व्यवसाय गर्दा नाफा कमाउने उद्देश्य नै राखेर गर्छौं, तर जनप्रतिनिधिको रूपमा काम गर्दा समाजसेवाको हिसाबले गर्छौं ।

हामी पैसा कमाउने उद्देश्यले कहिल्यै पनि यो व्यवसायबाट जनप्रतिनिधि हुन जाने होइन । हामी राजनीतिमा जानेवित्तिकै सबै सिध्याउने भो भने जसरी हेरिन्छ, त्यो गलत छ ।

आयोगले जारी गरेको मापदण्डले हाम्रा धेरै व्यवसायीहरूलाई हतोत्साहित बनायो । बरु के चाहिं हो भने उम्मेदवार हुँदा सम्बन्धित पालिकाबाट व्यवसायीले लिनुपर्ने बक्यौता रकम छ भने त्यो दिइनुपर्छ । केही ठेक्काका विवाद छन् भने समाधान गरिनुपर्छ । तर, हामीकहाँ निर्माण व्यवसायी भएकै आधारमा नाक खुम्च्याउने प्रवृत्ति छ, त्यो चाहिं गलत हो ।

हामी निर्माण व्यवसायीहरू स्थानीय तहको निर्वाचनमा जुनसुकै पार्टीबाट उम्मेदवार भए पनि सशक्त र सक्षम उम्मेदवार हौं । हामी अन्य पेशा–व्यवसाय र राजनीति मात्रै गरेर आउनेहरू भन्दा धेरै काम गर्न सक्छौं । समन्वय गर्ने र सक्रिय हुने मामिलामा हामी तुलनात्मक रूपमा अन्य उम्मेदवारहरू भन्दा बढी सक्षम छौं ।

तर, हामीमा समस्या नै नभएको भने होइन । केही ठाउँमा विविध कारणले समस्या छन् । ती समस्या निर्माण व्यवसायी मात्रै नभई कुन पार्टीबाट चुनाव जितेको, वरिपरि कस्ता मान्छे छन् भन्ने कुराले निम्त्याएको हो भने केही साथीको नियतको कारणले पनि समस्या आएको हो ।

यो पटकको निर्वाचनमा राजनीतिक दलहरूले निर्माण व्यवसायीलाई हेर्ने नजर बदल्नुपर्छ । अघिल्लो पटक भन्दा आगामी निर्वाचनबाट धेरै निर्माण व्यवसायी साथीहरू चुनिएर आउने अपेक्षा हाम्रो छ । ठूला राजनीतिक दलहरूले टिकट दिए स्थानीय तह कस्तो बनाउने र विकास निर्माणको काम कसरी हुन्छ जनतालाई हामी गरेर देखाउने थियौं ।

जनताको विश्वास जित्ने जोसुकै जनताको प्रतिनिधि बन्न सक्छ । निर्माण व्यवसायी पनि चुनाव नै लडेर आउने, कुनै छलछाम गरेर वा कसैले दया गरेर पदमा राखिदिने हैन । निर्माण व्यवसायी भएका कारण हामीलाई फरक आँखाले हेर्नेहरूको चश्मा नै दोषी छ ।

(नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहसँग अनलाइनखबरकर्मी अमृत चिमरियाले गरेको कुराकानीको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?