+
+

महानगरमा भाग नपाएको जनमोर्चाको कहाँ-कहाँ छ दाबी ?

रामकुमार डिसी रामकुमार डिसी
२०७९ वैशाख ९ गते १३:१०

९ वैशाख, काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलले महानगर र उपमहानगरपालिकामा भाग पाउँदा गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चाले भने पद पाएन ।

महानगर र उपमहानगरमा भाग नपाएको जनमोर्चालाई अब व्यवस्थापन गर्ने दायित्व गठबन्धन दलहरु अगाडि छ । राष्ट्रिय जनमोर्चाका सचिव तथा सत्तारुढ गठबन्धनले तालमेलका लागि बनाएको संयन्त्रका सदस्य हिमलाल पुरी महानगर र उपमहानगरमा चार दलले हारालुछ गरेपछि आफूहरुले सहमतिका लागि छोडिदिएको बताए ।

त्यसको सट्टा कुनै नगरपालिमा ‘एडजस्ट’ गर्ने सहमति भएको पुरी बताउँछन् । ‘उहाँहरुले धेरै हारालुछ गरेपछि तपाईंहरु मिलाउनुहोस्, हामीलाई कतै ‘एडजस्ट’ गर्नुहोस् भनेका थियौं । त्यसको सट्टा हामीलाई कहीँ नगरपालिकामा सम्बोधन गर्ने कुरा भएको छ,’ उनले अनलाइनखबरसँग भनेका छन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि जनमोर्चालाई कुनै नगरपालिमा व्यवस्थापन गर्ने सहमति गठबन्धनमा भएको बताए ।

एक नगरपालिका दिने सहमति

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले आफूहरुले एक नगरपालिकाको प्रमुख लिने सहमति भए पनि स्थानको टुंगो लागिनसकेको बताइन् । ‘लुम्बिनी लिए पनि, गण्डकीमा लिए पनि एउटा नगरपालिका तपाईंहरुले टुंग्याउनुहोस् भन्नुभएको छ,’ पौडेलले अनलाइनखबरसँग भनिन्, ‘एउटा लिने कुरा भएको छ । कुन लिने भन्ने भोलितिर टुंगिएला । यो जिल्लास्तरबाटै टुंग्याउने कुरा हो ।’

२०७४ को स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा लुम्बिनीका दुई र गण्डकीका दुई नगरपालिकामा दोस्रो भएको थियो । लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट रेशम थापा ५ हजार ३२० ल्याएर निर्वाचित भएका थिए । दोस्रो भएको जनमोर्चाका कविराम खनालले ४ हजार ५४२ मत प्राप्त गरेका थिए । यो नगरमा जनमोर्चाले १, २, ४ र ५ गरी चार वटा वडामा वडाध्यक्ष जितेको थियो ।

त्यस्तै लुम्बिनी प्रदेशकै प्युठानको स्वर्गद्वारी नगरपालिकामा पनि जनमोर्चा दोस्रो भएको थियो । प्रमुखमा नेकपा एमालेका नेत्रबहादुर रोका क्षेत्री ४ हजार ५९८ मत पाएर विजयी भएका थिए । दोस्रो भएका राष्ट्रिय जनमोर्चाका वीरबहादुर पुनले ३ हजार ६४५ मत ल्याएका थिए । यो नगरपालिकामा जनमोर्चाले २, ६ र ८ गरी तीनवटा वडाको वडाध्यक्ष जितेको थियो ।

महानगर र उपमहानगरमा भाग नपाएको जनमोर्चालाई अब व्यवस्थापन गर्ने दायित्व गठबन्धन दलहरु अगाडि छ । राष्ट्रिय जनमोर्चाका सचिव तथा सत्तारुढ गठबन्धनले तालमेलका लागि बनाएको संयन्त्रका सदस्य हिमलाल पुरी महानगर र उपमहानगरमा चार दलले हारालुछ गरेपछि आफूहरुले सहमतिका लागि छोडिदिएको बताए ।

त्यस्तै गण्डकी प्रदेश अन्तर्गतको बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा पनि जनमोर्चा दोस्रो भएको थियो । त्यहाँ कांग्रेसका भरत शर्मा ५ हजार ८१५ ल्याएर विजयी भएका थिए । राष्ट्रिय जनमोर्चाबाट टंकबहादुर केसी ३ हजार ५६२ ल्याएर दोस्रो भएका थिए । यहाँ १ र ११ गरी दुई वडाध्यक्ष जितेको थियो ।

त्यस्तै बागलुङकै जैमुनी नगरपालिकामा जनमोर्चा दोस्रो थियो । नेपाली कांग्रेसका इन्द्रराज पौडेलले ५ हजार ३५६ मत ल्याएर निर्वाचित भएका थिए । राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले ५ हजार २२५० ल्याएर दोस्रो भएका थिए । नगरमा जनमोर्चाले ४, ५, ९, १० गरी ४ वटा वडाको वडाध्यक्ष जितेको थियो ।

चार नगरमध्ये भूमिकास्थान नगरपालिका र जैमुनी नगरपालिकामा राष्ट्रिय जनमोर्चा थोरै मतान्तरले पराजित भएको छ । वडाध्यक्ष पनि अन्यको तुलनामा धेरै जितेको छ । यही दुई मध्ये एक नगरको नेतृत्व राष्ट्रिय जनमोर्चाले लिने सम्भावना छ ।

मोहनविक्रम सिंहको गाउँमा विवाद

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गाउँ झिमरुकको नेतृत्वबारे भने विवाद भएको छ । गत चुनावमा यो पालिकाको अध्यक्ष र उपाध्यक्षमा जनमोर्चा निर्वाचित हुँदा माओवादी दोस्रो, एमाले तेस्रो र कांग्रेस चौथो भएका थिए ।

अहिले जनमोर्चालाई प्रमुख पद दिन कांग्रेस र माओवादी सहमत हुन सकेनन् । जनमोर्चालाई अलग गरेर कांग्रेस र माओवादी मिलेर चुनाव लड्ने सहमति गरेपछि यहाँ विवाद सुरु भएको थियो ।

यहाँ कांग्रेस र माओवादी, एमालेसँग मिल्ने, तर जनमोर्चालाई अध्यक्ष नदिने रणनीतिमा जान खोजेको जनमोर्चाका सचिव पुरी बताउँछन् । ‘प्युठानमा धेरैजसो मिलेको छ, तर झिमरुकमा मिलेको छैन,’ पुरीले भने, ‘त्यहाँ एमाले, कांग्रेस र माओवादी बसेको हामीलाई खबर आएको छ ।’ एमाले नेता सूर्य थापाले माओवादीसँग अघोषित तालमेल गरेर आफूहरुलाई हराउन खोजेको पुरीको दाबी छ ।

‘पहिले पनि हामीले एक्लै जितेको हो,’ उनले भनेका छन्, ‘अहिले पनि तीनवटा खेमा भयो भने हामी एक्लै पनि जित्छौं । तर एमाले समेत मिल्यो भने गाह्रो पर्छ ।’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल कांग्रेस र माओवादी एक्लाएक्लै चुनाव लड्ने सहमतिबाट पछि हटेको र आफूलाई प्रमुख दिने सहमति भएको बताइन् । बिहीबार बिहान भएको सहमतिमा भने मित्रवत प्रतिष्पर्धा गर्ने उल्लेख छ । गठबन्धन बैठकको निर्णयमा भनिएको छ, ‘तालमेलको विषयवस्तुमा छलफल गर्दा कुनै निष्कर्षमा पुग्न नसकेको हुँदा हामी गठबन्धनबीचका दलहरु मित्रवत् व्यवहार गरी निर्वाचनमा जाने निर्णय गरियो ।’

उपाध्यक्ष पौडेलले पकड क्षेत्र बाहेकका केही नगर पालिकामा आफूहरुले उप्रमुख मागेको र स्वर्गद्वारीको उपप्रमुख पाउने सहमति भइसकेको बताइन् ।

कहाँ कस्तो छ प्रभाव ?

माथि उल्लेख गरिएका नगरपालिका बाहेकमा पनि जनमोर्चाको तुलनात्मक रुपमा राम्रो पकड छ ।

जनमोर्चाले अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै जितेको थियो । अध्यक्षमा नरेन्द्रबहादुर थापा र उपाध्यक्षमा तुलसा कुँवर निर्वाचित भएका थिए । प्युठानको ऐरावती गाउँपालिकामा जनमोर्चा तेस्रो भएको थियो । कांग्रेसका निलविक्रम शाहले २ हजार ४९० मत ल्याएर विजयी हुँदा जनमोर्चाका टिकाबहादुर गुरुङ २ हजार २२२ ल्याएर तेस्रो भएका थिए । यहाँ जनमोर्चाले वडा नम्बर २ र ६ का वडाध्यक्ष जितेको थियो ।

प्युठानकै गौमुखी गाउँपालिकामा पनि जनमोर्चा दोस्रो भएको थियो । त्यहाँ विदुर मल्लले २ हजार ५ सय ६४ मत ल्याएका थिए । त्यस्तै प्युठान नगरपालिकाको वडानम्बर १० को वडाध्यक्ष पनि जनमोर्चाले जितेको थियो ।

बागलुङको काठेखोला गाउँपालिकाको उपाध्यक्षमा जनमोर्चाका अर्जुनबहादुर खत्री ६ हजार ५३ मत ल्याएर निर्वाचित भएका थिए । बागलुङको वरेङ गाउँपालिको अध्यक्ष र उपाध्यक्ष जितेको जनमोर्चाले वडा नम्बर १ र ३ को वडाध्यक्ष पनि जितेको जियो ।

ढोरपाटन नगरपालिकामा पनि जनमोर्चाले वडानम्बर २, ४ र ७ मा वडाध्यक्ष जितेको थियो । बागलुङको निसीखोला गाउँपालिकाको वडा नम्बर ३ को वडाध्यक्ष पनि राष्ट्रिय जनमोर्चाले जितेको थियो ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?