९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतलीसँग एमाले नडाराउने बताएका छन् । बरु एमालेसँग गठबन्धनका नेताहरु तर्सिएको उनले बताए ।
हालै एक कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनसँग एमाले डराएको बताएका थिए । आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले पौडेलको नाम नलिई भनेका छन्, ‘एक जनाले गठबन्धन देखेर थरथर काम्छ एमाले भनेर बोलेछन् । भेटें भने तिनलाई सोध्न मन छ, ‘यो तिमी आफैंलाई पत्यार छ ?’
बरु एमालेसँग तर्सिएर गठबन्धनका नेताहरुलाई रातभरि ऐठन हुने र झस्केको झस्क्यै गर्ने गरेको उनले बताएका छन् । सत्ता गठबन्धनलाई अदालतले जडान गरिदिएको थोत्रा टालाहरुको पुतलीको संज्ञा दिएका एमाले अध्यक्ष ओलीले भने, ‘राति सुत्यो कि झल्यास्स हुन्छ किनभने एमालेसँग डराउँछ ।’
काठमाडौंमा पानी होइन, भल खसाउँछन्
ओलीले आफ्नै बाचाअनुसार चैतभित्र मेलम्चीको पानी काठमाडौं खसाल्न नसकेको भन्दै गठबन्धन सरकारको आलोचना गरे । सरकारले बर्खामा बाढी पसेपछि पानी होइन, भल टनेलमार्फत काठमाडौंमा खसाल्ने उनले बताए । उनले अघि भने, ‘यिनीहरुले त्यतिबेला पानी ल्याउछँन्, जतिबेला त्यहाँ भल पस्छ । मेलम्चीको टनेलबाट बाढी पसाउँछन् । भल पसेपछि फेरि बनाउँछु भन्छ र फेरि बनाउनका लागि २/३ वर्ष लगाउँछन्, २/४ अर्ब खान्छन् ।’
एमाले अध्यक्ष ओलीले कुनै समय मधेश विरोध भनेर प्रचार गरेपनि अहिले मधेशमा एमालेको लहर चलेको बताए । उनले भने, ‘एमाले नै हो, जसले (सुनकोशी मरिन डाईभर्सन) पहरो फोरेर, सरुङ खनेर, नहर बनाएर पहाडको खोलाको पानी पहरो छेडेर लगेर तराईको एक लाख ८५ हजार विगाहा जमिन सिंचाइ गर्छ ।’
मेची महाकाली हुलाकी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, मदन भण्डारी राजमार्ग बनाउने, जनकपुरमा रेल ल्याउने काम एमाले नेतृत्वको सरकारले गरेको उनको दाबी छ । ओलीले अघि भने, एमालेले ठिक्क पारेको हुनाले उद्घाटन गर्न पायो । ’
एमालेले स्थानीय तहसँगै प्रदेश र केन्द्रमा सरकार बनाउन चाहेको भन्दै ओलीले देशलाई एमालेमय बनाउनुपर्ने बताए । चुनावी घोषणापत्रको व्याख्या गर्दै उनले भने, ‘हाम्रो घोषणा पत्रको सारतत्व हामी, समृद्ध नेपालः सुःखी नेपाली बनाउन चाहन्छौं । त्यसका निम्ति सरकार नबनाई हुँदैन । आगामी आम निर्वाचनबाट केन्द्रीय सरकार बनाउन चाहन्छौं हामी । प्रदेश सरकार बनाउन चाहन्छौं, स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार हामी बनाउन चाहन्छौं ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4