+
+

धनकुटामा जसपा र एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १७:२६

१० वैशाख, धनकुटा । सत्तारुढ गठबन्धनको केन्द्रले मुख्य मुख्य स्थानमा चुनावी तालमेलका लागि भागबण्डा मिलाए पनि धनकुटामा भागबण्डा मिल्न सकेको छैन ।

पालिकाको भागबण्डा मिल्न नसकेपछि जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने तयारीमा छन् ।

जसपा र एकीकृत समाजवादीले सम्मानजनक स्थान नपाए आफूहरुको प्रभाव रहेको ठाउँमा एक्लै वा दुई पार्टीको मात्र गठबन्धन गरेर पनि  उम्मेद्‍वारी दिने तयारी गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुलाई सम्मानजनक स्थान दिन नसकेको जसपा र एकीकृत समाजवादीकाे गुनासो छ । जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष बलबहादुर राईले आफूहरुले आफ्नो पकड क्षेत्र रहेका स्थान मागेको र त्यो नपाए आफ्नो तयारीमा उम्मेद्‍वारी दिने बताए । उनले साँगुरीगढी र चौविसे गाउँपालिका प्रमुख र महालक्ष्मी नगरपालिकाको उपप्रमुख दाबी गरेको जानकारी दिए ।

गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रले उम्मेद्‍वारी दर्ता गर्ने बेलासम्ममा भागबण्डा टुंग्याउने र मिलेरै जाने बताएका छन् । तर पनि यी दुई दलले छुट्टै भागबण्डा मिलाइरहेका छन् र एउटै चुनाव चिन्हमा उम्मेद्‍वारी दिने बारेमा उनीहरुले छलफल अघि बढाएका छन् ।

कांग्रेस तथा माओवादीले धनकुटा नगरपालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख माओवादी केन्द्रले पाउने गरि छलफल गरिरहेका छन् । जसमा कांग्रेसबाट सभापति दिनेश राई र जिल्ला सदस्य तथा पूर्व डिआइजी दिनेश अमात्य उमेदवार बन्ने संभावना छ । उपप्रमुखमा माओवादीले गणेश विष्टलाई उमेदवार बनाउने तयारी गरेको छ ।

पाख्रिबास नगरपालिकामा प्रमुखमा कांग्रेसले ज्ञानबहादुर गुरुङलाई उमेदवार बनाउने भएको छ भने माओवादीले उपप्रमुखमा ओमप्रकाश निरौलालाई उठाउने छ ।

महालक्ष्मी नगरपालिकामा कांग्रेसका ध्रुवराज राया र महेन्द्र निरौला मध्ये १ जना प्रमुखमा र माओवादीका प्रेम खड्का उपप्रमुखमा उमेदवार बन्ने छन् । छथर जोरपाटी गाउँपालिकामा कांग्रेसका छत्र सुब्बा अध्यक्षमा र माओवादीको गीता खेवा उपाध्यक्षमा भीड्ने पक्काकक्की छ । गठबन्धनले साँगुरीगढी गाउँपालिका, चौविसे गाउँपालिका र सहिदभूमि गाउँपालिकामा उमेदवार टुग्याउन सकेको छैन् ।

एमालेका को को उमेदवार ?

नेकपा एमाले धनकुटाले धनकुटाका ४ वटा स्थानीय तहमा उमेदवार टुंग्याएको छ । एमाले धनकुटा सचिव निरन राईका अनुसार धनकुटा नगरपालिकामा प्रमुखमा चिन्तन तामाङ र उपप्रमुखमा भीमा खनाल, पाख्रिवास नगरपालिकामा प्रमुखमा भीम राई र उपप्रमुखमा नम्रता देउजा तथा महालक्ष्मी नगरपालिमामा प्रमुखमा दीपक बुढाथोकी र उपप्रमुखमा मञ्जु कार्कीलाई उमेदवार बनाउने तय भएको छ ।

यस्तै चौविसे गाउँपालिकामा अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्षमा टंकमाया मगर उम्मेदवार बन्ने छन् । छथर जोरपाटी गाउँपालिकामा अध्यक्षमा शेरबहादुर लिम्बूको टुंगो लागेको भए पनि उपाध्यक्ष टुंगिन बाँकी रहेको सचिव राईले बताए ।

साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिकामा उमेदवार तय हुन बाँकी रहेको उनले जानकारी दिए । साँगुरीगढी गाउँपालिकामा अध्यक्षको उमेदवारमा कुमारजंग याखा र देउमान राईको नाम चर्चामा छ भने सहिदभुमि गाउँपालिकामा अध्यक्षको उमेदवारमा मनोज राई र निर कुमार राईको नाम चर्चामा छ ।

यस्तो छ २०७४ को नतिजा

२०७४ असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका ७ वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको एमाले जिल्लामा खसेको ६९ हजार १६ मत मध्ये प्रमुखमा मात्रै २९ हजार ३ सय ९८ मत पाएको थियो । त्यसबेला माओवादी केन्द्रले १० हजार २९ मत ल्याएको थियो । त्यस्तै राप्रपा र कतै संघीय समाजवादीसँग तालमेल गरेको कांग्रेसले १७ हजार ९ सय ५८ मत ल्याएको थियो ।

यसलाई आधार मान्ने हो भने एमालेले एक्लैले २९ हजार ३ सय ९८ मत पाएको छ भने सत्ता गठबन्धनले २७ हजार ९ सय ७८ मत पाएको थिया। हुन त गत स्थानीय तहको निर्वाचनमा एक रहेको एमाले विभाजन भएको छ भने माओवादीका केही कार्यकर्ता एमालेमा गएका छन् ।

२०७४ को स्थानीय तहको जिल्लाका ६० वडामध्ये ४३ वटामा एमालेले, ९ वटामा कांग्रेसले र ५ वटामा माओवादी केन्द्र र ३ वटामा जनता समाजवादी विजयी भएका थिए । एमालेबाट जितेका ३ जना वडाध्यक्ष विभाजन पछि एकीकृत समाजवादीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?