+
+

कांग्रेस शीर्ष नेताको बैठक : विराटनगरको मेयर उम्मेदवारमा कुरा मिलेन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते २३:१२
फाइल तस्वीर

१० वैशाख, काठमाडौं । विराटनगर महानगरपालिकाको मेयर उम्मेदवारमा कुरा नमिलेपछि कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । मेयर उम्मेदवार टुंगो लगाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर टुंगोमा पुग्न नसकेपछि आइतबार बिहान फेरि यो विषयमा छलफललाई जारी राख्ने भन्दै नेताहरुले बालुवाटारको बैठक स्थगित गरेका छन् ।

विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई नै दोहोर्याउने कि शेखर कोइरालाले प्रस्ताव गरेका नागेश कोइरालालाई टिकट दिने भन्नेमा कांग्रेसभित्र विवाद छ ।

बैठकमा शेखरसहित नेता विमलेन्द्र निधि लगायतले काठमाडौंको जस्तै अवस्था विराटनगरमा पनि रहेको भन्दै शेखर कोइरालाले प्रस्ताव गरेको नागेशलाई मेयरको टिकट दिनुपर्ने बताएका थिए । तर यसमा कृष्ण सिटौलाले असहमति जनाउँदै पराजुलीलाई नै मेयरमा दोहोर्याउनुपर्ने अडान राखेका थिए ।

बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘काठमाडौंको जिल्ला सभापति र महानगर सभापति प्रकाशमान सिंह निकट भएकाले प्रकाशमानले भनेको व्यक्तिलाई टिकट दिने आधार बनाइयो । काठमाडौंको जस्तै अवस्था मोरङमा पनि छ । जिल्ला सभापति र महानगर सभापति दुवै शेखर कोइरालाले प्रस्ताव गरेको क्यान्डिडेडको पक्षमा छन् ।’

‘तर यसमा सिटौला जीले अड्को थाप्नुभयो । उहाँ जसरी भए पनि भीमलाई नै दोहोर्याउनुपर्छ भन्ने पक्षमा भएकाले आज कुरा मिलेन,’ ती नेताले भने ।

कोइराला र निधिले जिल्ला सभापति र नगर सभापति काठमाडौंमा हुँदा प्रकाशमानको माग सम्बोधन हुने तर मोरङमा नेता शेखर कोइराला पक्षको जिल्ला सभापति र नगर सभापति हुँदा कोइरालाको बोली किन सम्बोधन नहुने भन्ने विषय बैठकमा राखेका थिए ।

भरतपुर र पोखरामा पनि एकमत हुन सकेन

यसैगरी भरतपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार महानगर सभापति चित्रसेन अधिकारीलाई बनाउन सभापति देउवाले चाहेका छन् । तर रामचन्द्र पौडेल भने सूर्यकान्त घिमिरेलाई टिकट दिनुपर्ने पक्षमा छन् ।

पोखराको उपमेयरमा पनि नेताहरु एकमत हुन सकेनन् । रामचन्द्र पौडेल र शेखर कोइराला कोपिला रानाभाटको पक्षमा छन् तर देउवा सुरेन्द्र विजुक्छेको पक्षमा छन् । विजेक्छे नेपाली कांग्रेस पोखराको नगर सभापति हुन् ।

ललितपुरमा पनि चिरीबाबु महर्जनलाई नै दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा कांग्रेसभित्र बहस भइरहेको छ ।

चिरीबाबुमा पनि बहस

ललितपुरमा पनि चिरीबाबु महर्जनलाई नै मेयरमा दोहोर्याउने कि नयाँ उम्मेदवार बनाउने भन्नेमा कांग्रेसभित्र बहस भइरहेको छ । पार्टी सभापति देउवाले महर्जनलाई दोहोर्याउन चाहेका छन् । तर उनी स्थानीयमाझ लोकप्रिय नभएको भन्ने गुनासो पार्टीभित्र छ ।

उम्मेदवारहरुको अन्तिम टुंगो लगाउन आइतबार बिहान नौ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा फेरि बैठक बस्ने देउवाको सचिवालयका एक सदस्यले जानकारी दिए ।

आइतबार उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यक्रम छ । त्यसैले आन्तरिक विवाद मिलाएर उम्मेदवार छिटो टुंगो लगाउनुपर्ने दबावमा नेपाली कांग्रेस परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?