+
+

चितवनमा पालिकासहित ९८ वटै वडामा सत्ता गठबन्धनको भागबन्डा

कांग्रेसलाई ५८, माओवादीलाई २६ र समाजवादीलाई १३ वडा

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख ११ गते ११:१७

११ वैशाख, चितवन । चितवनमा सत्ता गठवन्धनले पालिकासहित ९८ वटै वडामा भागबन्डाको सहमति गरेका छन् ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जिल्लाका ९८ वटै वडामा भागबन्डा सहमति गरिएको जानकारी दिए । ती दलहरूले अब आआफ्नो भागमा परेका वडामा उम्मेदवारको टुंगो दलीय हिसाबले लगाउने जनाएका छन् ।

नेपाली कांग्रेसले जिल्लाका ५८, नेकपा (माओवादी केन्द्र )ले २६ र नेकपा (एकीकृत समाजवादी) ले १३ वटा वडाध्यक्ष पाउने सहमति गरिएको छ । तर, राष्ट्रिय जनमोर्चा र जनता समाजावादी दललाई भने गठवन्धनका ठूला दलले वडाध्यक्ष दिएका छैनन् ।

नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष भएको छ । उसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा उम्मेदवारी दिने भएको छ ।

यस्तै भरतपुरमा ५ वटा वडाध्यक्ष पाएको माओवादीले ११, १३, २४, २५,२८ नम्बर वडामा अध्यक्ष पाएको छ । उसले २६ नम्बर वडामा माओवादीको दाबी छ । यहाँ अहिले पनि एमाले समर्थन जितेका माओवादीबाट निर्वाचित वडाध्यक्ष छन् ।

भरतपुरमा ३ वटामात्रै वडा पाएपछि समाजवादीले गरेन हस्ताक्षर

नेकपा (एकीकृत समाजवादी)ले भरतपुरमा ३ वटा वडामा वडाध्यक्ष पाएको छ । नेकपा एकीकृत समाजवादीले ९, १२ र २२ नम्बर वडामा वडाध्यक्ष पाएको छ ।

एमालेबाट समाजवादीतर्फ लागेका पाँच वडा आफूहरूले पाउनुपर्ने दाबी गरेको नेकपा एसले तीन वटा मात्रै वडाध्यक्ष पाएको हो । नेकपा एकीकृत समाजवादी भरतपुर महानगर कमिटीका अध्यक्ष विष्णुराज महतोले आफूहरूले ५ वटा वडा पाउनुपर्ने माग अहिले पनि जारी रहेकेाले सहमतिमा हस्ताक्षर नगरको बताए ।

‘यो त केन्द्रीय नीतिभन्दा बाहिर भयो, हामीले सहमति गरेका छैनौं, आफ्नो असहमति छ’ अध्यक्ष महतोले भने, ‘नेकपा एसका वडाध्यक्ष रहेको ठाँउमा सोही पार्टीलाई दिने सहमति देउवा र प्रचण्डले माधव नेपालसहितको बैठकमा गरेका हैनन् ? अहिले किन नदिएको ?’ भरतपुरमा एमालेबाट विजयी भएर नेकपा एसमा वडा नं. ७,९,१०,१२,२२ का वडाध्यक्ष गएका थिए । अध्यक्ष महतोले इच्छाकामना बाहेक अरु कुनै पनि पालिकामा सहमति नभएको बताए ।

त्यस्तै राप्ती नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा वडाध्यक्ष पाएको छ । उसको भागमा २, ४, ९, १०, १२ र १३ नम्बर वडाको वडाध्यक्ष परेको छ । नेकपा (माओवादी केन्द्र)ले ३, ५, ७ र ८ नम्बर गरी ४ वटा वडाध्यक्ष पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले १, ६ र ११ नम्बर वडामा वडाध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ । राप्तीको मेयर समाजवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

इच्छाकामना गाउँपालिकामा कांग्रेसलाई अध्यक्षसहित ४ वटा वडा र माओबादी केन्द्रलाई उपाध्यक्षसहित ३ वटा वडा दिने गरी सहमति जुटेको हो । जस अनुसार कांग्रेसले वडा नं. ४, ५, ६ र ७ नम्बर वडाको अध्यक्षका लागि उम्मेदवारी दिनेछ । त्यस्तै माओवादी केन्द्रले उपाध्यक्षसहित १, २ र ३ नम्बर वडाको अध्यक्षमा उम्मेदवारी दिने सहमति जुटेको हो ।यहाँ समाजवादीलाई कुनै पनि वडाध्यक्ष दिइएको छैन ।

१६ वटा वडा रहेको रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसले ९, नेकपा (माओवादी केन्द्र)ले ४ र एकीकृत समाजवादीले तीन वटा वडाध्यक्ष पाउने सहमति गरेका छन् । जस अनुसार कांग्रेसले वडा नं. २,३,४,६,१०,११,१२ र १६ मा वडाध्यक्ष पाउनेछ ।

माओवादी केन्द्रले वडा नं. १, ५, १३ र १५ पाउने छ भने समाजवादीले वडा नं. ८ र ९ मा वडाध्यक्ष पाउनेछ । रत्ननगरको मेयर कांग्रेसले र उपमेयर समाजवादीले पाउने सहमति सत्ता गठबन्धन दलबीच भएको छ ।

१३ वटा वडा रहेको खैरहनी नगरपालिकामा नेपाली कांग्रेसले ८, माओवादीले ३ र एकीकृत समाजवादीले २ वटा वडामा वडाध्यक्षमा उम्मेदवारी दिने सत्ता गठबन्धनका दलबीच सहमति भएको छ ।

खैरहनीको वडा नं. २, ३, ४, ५, ७, १०, १२ र १३ मा कांग्रेसले वडाध्यक्ष पाउनेछ । माओवादी केन्द्रले वडा नं. १, ८ र ११ मा वडाध्यक्ष पाउनेछ । यस्तै समाजवादीले वडा नं. ६ र ९ मा वडाध्यक्षसहितका सदस्य पाउनेछ । खैरहनीमा मेयर कांग्रेसले र उपमेयर माओवादीले पाउने सहमति छ ।

चितवनको माडी नगरपालिकामा सबैभन्दा धेरै वडाध्यक्ष माओवादीले पाएको छ । ९ वटा रहेको माडीमा कांग्रेसले ३, माओवादीले ५ र समाजवादीले १ वडा पाएको छ । कांग्रेसले वडा नं.१,६ र ८ मा वडाध्यक्षमा उम्मेदवारी दिनेछ । माओवादीले वडा नं. २, ४, ५, ७ र ९ भागबन्डामा पाएको छ । यस्तै, समाजवादीले वडा नं. ३ पाएको छ । माडीमा मेयर माओवादी केन्द्रले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ र।

११ वडा रहेको कालिका नगरपालिकामा ८, माओवादीले २ र समाजवादीले १ वडा पाउने सहमति गरेका छन् ।

कांग्रेसले वडा नं. १, २, ४, ५, ६, ९, १० र ११ वडाध्यक्ष उम्मेदवार पाउने भएको छ । माओवादी केन्द्रले वडा नं. ३ र ८ मा र समाजवादीले वडा नं. ७ मा वडाध्यक्ष पाउने भागबन्डा गरिएको छ । कालिका कांग्रेसले मेयर र माओवादीले उपमेयर पाउने सहमती भएको छ ।

कांग्रेसले भरतपुर, माडी र राप्ती नगरपालिकामा उपप्रमुखमा उम्मेदवारी दिने भएको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख नेपाली कांग्रेसले पाउने सहमति भएको थियो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?