+
+

पक्राउ परेका माओवादी पूर्वलडाकु खामलाई आज राति नै चितवन ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते २०:४२

२० चैत, चितवन । व्यवसायी रामहरि श्रेष्ठको हत्या गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका माओवादीका पूर्वलडाकु कालीबहादुर खामलाई मंगलबार राति नै चितवन ल्याइने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले खामलाई मंगलबार राति नै चितवन पठाइने जानकारी दिए । माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा सुरक्षा विभागका उपप्रमुखसमेत रहेका खामलाई जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला अदालत चितवनमा पेश गर्ने एसपी अधिकारीले बताए । उनलाई अदालत बुझाइएपछि मुद्दाको कारबाही प्रक्रिया अगाडि बढ्ने छ ।

व्यापारी  श्रेष्ठको अपहरण पछि हत्या अभियोगमा खाम १५ बर्षदेखि फरार थिए । खामविरुद्ध काठमाडौंमा हातहतियार तथा खरखजना र यार्सागुम्बा लुटपाट सम्बन्धी मुद्दा पनि छ ।

२०६५ वैशाख १५ गते कोटेश्वरका ब्यापारी श्रेष्ठलाई घरबाटै कब्जामा लिएर खाम, गोविन्दबहादुर बटला लगायतका माओवादी लडाकुहरुले चितवनको शक्तिखोरस्थित तत्कालिन माओवादी लडाकुको तेस्रो डिभिजनमा ल्याएका थिए ।

माओवादी निकट रहेर माओवादीका नेताहरुलाई घरमा नै खाना खुवाउनेसम्मको पहुँच बनाएका श्रेष्ठलाई उनको घरमा रहेको माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालयबाट २०६४ चैत १४ गते नगद १७ लाख र हतियार चोरी गरेको आरोप खाम लगायतले लगाएका थिए ।

कोटेश्वरबाट अपहरण गरेर लडाकु शिविरमा ल्याएर श्रेष्ठलाई चरम यातना दिँदा उनको २०६५ वैशाख २८ मा मृत्यु भएको थियो । श्रेष्ठको शव त्रिशूली नदी किनारमा भेटिएको थियो । हत्यामा संलग्न भनिएका गोविन्दबहादुर बटाला लगायतका माओवादी लडाकुको तेस्रो डिभिजनले प्रहरीमा बुझाए पनि खाम भने माओवादी नेतासँगको पहुँचका कारणले उन्मुक्ति पाउँदै आएका थिए ।

यही मुद्दामा गोविन्दबहादुर बटालालाई जिल्ला अदालत चितवन र तत्कालिन पुनरावेदन अदालत हेटौंडाले दोषी ठहर गरे पनि सर्वोच्च अदालतले सफाइ दिएको थियो । श्रेष्ठको हत्यामा बटलासहित, कालीबहादुर खाम, केशवबहादुर अधिकारी, गंगाराम थापा, अर्जुन कार्की प्रत्यक्ष संलग्न रहेको अभियोग थियो ।

खाम, अधिकारी र थापा तीन जना फरार रहेकाले उनीहरुको सम्पत्ति रोक्का गरेर जिल्ला अदालत चितवनले मुद्दा मुल्तबीमा राखेको थियो । कार्कीलाई भने २० रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो ।

श्रेष्ठकी श्रीमती रमिलाले खाम लगायतका माओवादी लडाकु विरुद्ध २०६५ जेठ ८ गते जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?