२३ चैत, चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि गरिएको टेन्डर खोलिएको छ । विहीबार दिउँसो खोलिएको टेण्डरमा एक मात्रै कम्पनीले ठेक्का हालेको पाइएको महानगरका निर्देशक जगन्नाथ अर्यालले जानकारी दिए ।
३० दिनको म्याद राखेर गत फागुन १७ गते १ अर्ब १० करोडको ठेक्का आह्वान गरिएको थियो ।
महानगरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले मात्रै ठेक्का हालेको पाइएको बताए । ‘अहिले अरु विडरहरु आएको देखिएन, एक मात्रै कम्पनीले ठेक्का हालेको पाइयो’ इन्जिनियर आचार्यले भने, ‘अब ठेक्का हाल्ने कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङ्कन सुरु गर्छौं ।’
आचार्यका अनुसार १ हप्ता भित्र महानगरले राखेको मापदण्ड भित्र प्राविधिक प्रस्ताव आए/नआएको मूल्याङ्कन गरेपछि मात्रै उसको आर्थिक प्रस्ताव खोलिने र प्राविधिक प्रस्ताव पास नभएमा ठेक्का रद्द गरेर अर्को ठेक्का आह्वान गरिने छ ।
रंगशाला सम्वन्धी नै कामकाज गरेको र ५८ करोडभन्दा बढी टर्न ओभर गरेको अनुभवी ठेकेदार कम्पनी हुनुपर्ने मापदण्डमा राखिएको छ ।
महानगरका इन्जिनियर आचार्यले प्राविधिक प्रस्ताव र अन्य आवश्यक कागजात नमिलेको खण्डमा ठेक्का रद्द गरेर आईसीवीमा जानेबारे महानगरले सोचिरहेको बताए । ‘यो जटिल र अति सम्वेदनशील काम छ, नेपालमा यस्तो अनुभव भएका ठेकेदारहरु पाउन निकै कम सम्भावना छ,’ आचार्यले भने, ‘महानगरले सोचेर विचार गरेर सावधानीपूर्वक काम अगाडि बढाउँछ ।’
महानगरले थप १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिना भित्र काम गरिसक्ने गरी टेण्डर निकालेको थियो ।
वरिष्ठ इन्जिनियर आचार्यका अनुसार नयाँ ठेक्कामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनएजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर लगायतका संरचना बनाइने छ ।
एउटामा भिआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । यस्तै, गेट, कम्पाउण्डवाल लगायतका थप पूर्वाधार पनि यहीँ भित्र बन्ने आचार्यले जानकारी दिए ।
यसअघि गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।
संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ । संघीय मन्त्रिपरिषदको गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजना भित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।
धुर्मस सुन्तली फाण्डेसनले बनाउन सुरु गरेको रंगशालाको काम बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्णरुपमा रोकिएको थियो ।
फाउण्डेसनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) रिभाइज गरिएको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए । रिभाइज गरिएको डीपीआरमा केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको अर्यालले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको २० विगाहा १९ कठ्ठा जग्गामा धुर्मस सुन्तली फाउण्डेसनले निर्माण थालेको रंगशालाको काम ३९ प्रतिशत सकिएपछि बजेट अभाव भएको बन्दै निर्माण रोकिएको थियो ।
 
                    










 २०८० चैत  २३ गते ९:५३
                        २०८० चैत  २३ गते ९:५३                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4