+
+

प्यूठानका स्थानीय तहमा पुरानै अनुहार प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते २०:०२

१३ वैशाख, प्यूठान । प्यूठानका सबै स्थानीय तहमा प्रायः पुरानै उम्मेदवार चुनावी मैदानमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेका र पराजित भएका व्यक्तिहरु नै प्रतिस्पर्धामा छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माण्डवी गाउँपालिका प्रमुखमा नेकपा एमालेका श्रीधर रोकासँग १२ मतले हारेका नेकपा माओवादी केन्द्रका नेता नवराज अधिकारी यो पटक पनि प्रतिस्पर्धामा छन् । रोकाले यो पटक पनि अधिकारीलाई हराउने दाउमा छन् । यसअघि रोकाले १ हजार ७ सय ५३ मत ल्याउँदा अधिकारीले १ हजार ७ सय ४१ मत पाएका थिए ।

पाँचदलीय गठबन्धनले माओवादीका अधिकारीलाई र एमालेले रोकालाई पुन: उम्मेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमनेसामने भएका हुन् । सत्ता गठबन्धनलाई विप्लव नेतृत्वको नेकपाले समेत सघाएकोले अधिकारी र रोकाबीचको भिडन्तले माण्डवीको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ ।

उता, नौबहिनी गाउँपालिकामा पनि अध्यक्षका लागि पुरानै प्रतिस्पर्धी मैदानमा छन् । अघिल्लो चुनावमा झैं यो पटक पनि गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शिवराज रिजाल र एमालेका डिलबहादुर थापा पुनः प्रतिस्पर्धामा छन् । त्यसबेला रिजालले फराकिलो मतान्तरले थापालाई पराजित गरेका थिए । रिजालले ५ हजार ५ सय २६ मत ल्याए भने थापाले ४ हजार ५ सय ७५ मत मात्र प्राप्त गरेका थिए।

अघिल्लो चुनावमा जस्तै यो पटक पनि रिजाललाई नेकपा माओवादी केन्द्रले सघाएको छ भने एकीकृत समाजवादीको पनि समर्थन छ । गठबन्धनबाट रिजाल अध्यक्षको उम्मेदवार बनेकोले उनी आफूलाई बलियो उम्मेदवार रहेको दाबी गर्छन् ।

जिल्लाका अन्य स्थानीय तहमा पनि कतिपय दलले पहिलेकै अध्यक्षलाई पुनः उम्मेदवारमा उतारेका छन् ।

एमालेले सरुमारानी गाउँपालिकामा झगबहादुर विश्वकर्मालाई पुनः उम्मेदवार बनाएको छ । एमाले प्यूठानका उपाध्यक्ष समेत रहेका उनले यो पटक ५ दलिय गठबन्धनका उम्मेद्वार कांग्रेसका मुकुन्दराज शर्मासँग प्रतिस्पर्धा गर्ने छन् ।

कांग्रेस र राष्ट्रिय जनमोर्चाको गठबन्धन रहेको ऐरावती गाउँपालिकामा नविल विक्रम शाह पुनः कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका छन् ।

उनले आफ्नो कार्यकालमा उपाध्यक्ष रहेका बुद्ध बस्नेत र श्याम थापाको सामना गर्ने छन् । माओवादी केन्द्रले बस्नेत र एमालेले थापालाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु गिरी यो निर्वाचनमा पनि गौमुखी गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो निर्वाचनमा एकल प्रतिस्पर्धाबाट जितेका उनी अहिले माओवादीसँगको गठबन्धनबाट अध्यक्षको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।

त्यस्तै, यसअघि झिमरुक गाउँपालिका अध्यक्षमा चुनाव लडेर पराजय भएका माओवादी केन्द्रका जिल्ला संयोजक पीतबहादुर एमसी यो पटक पनि मनोनयन दर्ता गरेर चुनाबमा होमिएका छन् । त्यसबेला उनी जनमोर्चाका तिलक जीसीसँग पराजित भएका थिए ।

२०७४ सालको चुनाबमा कांग्रेसबाट स्वर्गद्वारी नगरपालिकामा मेयर उठेका टेकप्रसाद भण्डारी मैदानमा छन् । यसपाली भण्डारीलाई पाँच दलीय गठबन्धनले मेयरको उम्मेदवारका रुपमा अघि सारेको छ । प्यूठान नगरपालिकाको मेयरमा उठेका कांग्रेसका देवेन्द्र बर्मा अहिले माओवादीसँगको गठबन्धनबाट उपमेयरमा चुनाब लडेका छन् । त्यस्तै, कांग्रेसबाट झिमरुकमा गाउँपालिका अध्यक्ष लडेका प्रमोद पोखरेल यो पटक जनमोर्चासँग तालमेल गरेर उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । अघिल्लो चुनावमा भण्डारी, बर्मा र पोखरेलसहित तीनै जनाले पराजय बेहोरेका थिए ।

जिल्लाका दलहरुले प्रमुख पदमा नभएर अधिकाशं वडाअध्यक्ष र सद्स्यमा समेत पुरानै उम्मेद्वारलाई प्रतिस्पर्धामा उतारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?