+
+
Shares
लोककथा :

बाघ हुइयाँ !

शैलेश भट्टराई शैलेश भट्टराई
२०७९ वैशाख १४ गते १७:३५

कैयौं दिनदेखि खान नपाई दुब्लाएर सिट्टी भएको एउटा दुष्ट, धूर्त र खुराफाती स्याल उताबाट आइरहेको थियो। उसको दुष्ट्याईं, धुर्त्याईं र छलकपटबाट दुनियाँ आजित थियो। पीडितमध्यको एउटा समूह यताबाट गइरहेको थियो। गइरहेको त्यो समूहको नाइकेले सो स्यालले सुन्ने गरी आफ्नो समूहमा भन्यो-

`ऊ त्यो त बाघ हो है, स्याल भनेर नझुक्किनु।’

‘दुब्लाएर हाडछाला बाँकी रहे पनि त्यसको तागत ज्यूँ का त्यूँ छ नि।’

‘एक्लै दोक्लै भिड्न सकिन्न।’

‘त्यसैले मिलेर लडौं है साथी हो। मिलेरै त्यसलाई खेदाउँ।’

यति के सुनेको थियो- हो न हो त्यो स्यालले आफूलाई बाघै ठान्न थाल्यो। आवाज पनि बाघकै जस्तो निकाल्न थाल्यो। भेटियोस् वा नभेटियोस्- सिकार पनि जस्तो तस्तो होइन बाघकै जस्तो खोज्न थाल्यो। चालढाल पनि बाघकै नक्कल गर्न थाल्यो। डरले भित्रभित्रै काँपिरहेको थियो र घरीघरी आत्तिन्थ्यो पनि। शरीरबाट चिटचिट पसिना पनि निस्कन्थ्यो। चारवटै गोडा लगलग काम्थे। तर त्यो डरलाई भित्रभित्रै दबाएर लोकका सामु बाघकै जस्तो स्वर निकाल्दै काटीकुटी बाघकै हाउभाउमा उसले थर्काउन थाल्यो-

‘तिमीहरू जति आए पनि जो जो आए पनि तिमीहरूको लागि म एक्लै काफी छु बुझ्यौ अलच्छिना हो।’ ‘किनभने म पर्वत हुँ तिमीहरू माटोका कण।’ ‘म सागर हुँ तिमीहरू छुद्र थोपा हौ।’ `म पीपलको रूख हुँ तिमीहरू सुकेका पात हौ।´ ‘त्यसैले सक्दैनौ मसँग फाइट गर्न।’

जति फूर्ति लगाए पनि, दुनियाँलाई जति बेवकूफ बनाए पनि आफूले आफैंलाई ढाँट्न भने सकिन्नथ्यो। उसले पनि आफूले आफैंलाई चाहिं ढाँटेन। कसैले बाघ भन्दिएको भरमा कुनै स्याल बाघ हुने संभावना पनि थिएन। यति कटु कुरो त्यो छट्टु स्याललाई थाहा नहुने कुरै थिएन।

बरू बाघको जस्तो आवाज निकाल्दा निकाल्दा घाँटीमा केले क्याप्प अँठ्याए जस्तो भैसकेको थियो उसलाई। उसै त सुकेनाश जीउ, खानु पिउनु बन्द छ, त्यसमाथि बाघको झैं तेज रफ्तारमा कुद्दा कुद्दा उसका गोडा फतक्कै गलेर झर्ला जस्तो भएका थिए। आँखा त्यस्तै दुखेका थिए। पूरा शरीर नै अररो भएको थियो। कान पनि टिनिनिनि बज्न थालेका थिए। सबैभन्दा गाह्रो चाहिं त्यतिबेला भयो उसलाई जतिबेला अरू स्यालका हुइयाँ सुनेर पनि नसुने झैं गर्नु अनि चुपचाप बस्नु परेको थियो। बाघको अभिनय गर्दा गर्दा उसले आफ्नो यथार्थ नै बिर्सिसकेको थियो। आफ्नो मौलिक परम्परा अनुसारको सिकार खानमा जुन मजा हुन्थ्यो त्यो मजाबाट पनि वन्चित भएको अनुभूति हुन थालेको थियो उसलाई। दिक्क लागेको थियो यो छद्म जीवनदेखि।

यत्तिकैमा एक दिन आफूभन्दा पनि हरितन्नम सुइखुट्टे स्याल भेट्यो उसले। त्यो त झन् वर्षौंदेखि खान नपाएर फुकीढल नै भैसकेको थियो। र आफूजस्तै दोस्तको खोजीमा पनि थियो। बिचरा उसलाई त `बाघ´ भन्दिने पनि कोही थिएनन्। हनुमान खोज्दा राम मिलेजस्तो भो दुवैलाई। दुवैको आत्मविश्वास उँचो भो। अब चाहिं केही गरिएला कि जस्तो लाग्यो तिनलाई।

त्यसैले ढिलो नगरी स्यालकै शैलीमा स्यालै भएर दोस्तीको हात बढायो बाघ भनिएको स्यालले। स्याल–स्यालको यो दोस्ती स्वाभाविक र प्राकृतिक दोस्ती थियो। त्यसैले दुवैको दोस्ती दमदार हुने नै भयो। दुवैले एकअर्कालाई तन मन मिल्ने मित्रको रूपमा पाए। बाघ भनिएको स्यालले आफ्नो मौलिक आवाजमा गीत नगाएको धेरै भाथ्यो। त्यसैले आफ्नो दु:ख बिसायो नवमित्रलाई- ‘म एकपटक स्यालकै आवाज निकालेर मीठो गीत गाउँछु ल मित्र। तपाईं सुन्नुस् है।´

मित्रले हुन्छ भन्यो।

अनि बडो मजाले गीत गाउन थाल्यो। अर्कोले पनि स्वरमा स्वर खाप्दै उसैगरी गीत गायो। दुवै स्याल हुइँऽऽऽहुइँऽऽऽ गरेर धीत मरुन्जेल धरती गुञ्जायमान बनाउँदै गीत गाए। उनीहरूको यो गीतलाई लोकले भने ‘बाघ हुइयाँ’ नामकरण गर्यो|

गीत गाइसकेपछि भावविह्वल हुँदै फकाउँदै बाघरूपी स्यालले भन्यो-

‘मेरो सब कुछ तिमीलाई दिन्छु। घर दिन्छु। सिकार पनि बाँडीचुँडी खाउँला। मलाई एक्लै छोडेर नजाउ है मित्र। नक्कली बाघको जुनी होइन म सक्कली स्यालकै जुनी जिउन चाहन्छु। यसमा मलाई साथ देऊ ल!’

‘हुन्छ’ भन्दै उसले पनि सहमति जनायो।

अनि भन्यो- `हाम्रा सगोत्री साथीहरू अरू पनि छन्। तिनलाई खोज्नुपर्छ र एक हुनुपर्छ। त्यसो भयो भने कसैले हेप्न सक्दैन।´

र यसरी नक्कली बाघको जुनीबाट त्यो स्याल मुक्त भयो। र उस्तै सगोत्री स्यालहरू एकाकार भएर हुइँऽऽऽ हुइँऽऽऽ गर्दै गीत गाउँदै सिकारको खोजीमा लागे।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
शैलेश भट्टराई

समसामयिक राजनीतिक बिषयमा ब्यंग्य गर्न माहिर शैलेश अनलाइनखबरका स्तम्भकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?