+
+
Shares

गाजा युद्धविराम वार्ताका लागि अमेरिकी दूत कायरोमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते २२:००
अमेरिकी राष्ट्रपति ट्रम्पका दूत स्टिफ विटकोफ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजिप्टमा गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको वार्ता बुधबारसम्म उत्साहजनक संकेत दिएको इजिप्टका अधिकारीले बताएका छन्।
  • अमेरिकी राष्ट्रपति ट्रम्पको २० बुँदे शान्ति प्रस्तावलाई वार्ताको आधार बनाइएको र सिसीले ट्रम्पलाई सम्झौता भए इजिप्ट भ्रमण गर्न निमन्त्रणा गरेका छन्।
  • हमासले युद्धविराम र बन्धक रिहाइका लागि सकारात्मक प्रतिक्रिया दिएको र कतार, टर्कीका प्रतिनिधि पनि वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ।

२२ असोज, इजिप्ट । गाजा युद्धलाई अन्त्य गर्ने उद्देश्यका साथ सुरू भएको वार्ताले बुधबारसम्म ‘उत्साहजनक’ सङ्केतहरू दिएको वार्तामा मध्यस्थताका लागि सहभागी इजिप्टका अधिकारीले बताएका छन् ।

वार्ता सकारात्मक रूपमा अगाडि बढ्ने सङ्केतपछि बुधबार शीर्ष अमेरिकी अधिकारी वार्तास्थलमा आइपुगेका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे शान्ति प्रस्तावलाई वार्ताको आधार बनाइएको बताएका छन् ।

मध्यपूर्वमा युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपतिले लिएको पहलकदमीका लागि ट्रम्पको उनले प्रशंसा गरेका छन् ।

हमासले पनि आफ्नो शत्रु इजरायलसँग भएको अप्रत्यक्ष छलफलबाट समूह ‘आशावादी’ बनेको बताएको छ ।

युद्धविराम, गाजामा बन्धक बनाइएका सबै बन्धकहरूको रिहाइ, हमासको निशस्त्रीकरण र यस क्षेत्रबाट क्रमिक रूपमा इजरायली फिर्तीको आह्वान गर्ने ट्रम्पको योजनाप्रति दुवै पक्षले सकारात्मक प्रतिक्रिया दिएका छन्।

इजिप्टका सरकारी सञ्चारमाध्यमले मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति ट्रम्पका दूत स्टिफ विटकोफ र ज्वाइँ जारेड कुश्नरको सर्म अल–शेखमा भएको वार्ताको फुटेज प्रसारण गरेका छन् ।

अघिल्लो रात शहर आइपुगेपछि आफूले पाएको शब्द निकै उत्साहजनक रहेको र अमेरिकी दूतहरू ‘दृढ इच्छाशक्ति, कडा सन्देश र राष्ट्रपति ट्रम्पको बलियो समर्थनका साथ वार्ताको यो चरणमा युद्ध अन्त्य गर्न’ आएको इजिप्टका राष्ट्रपति सिसीले बताए ।

सिसीले सम्झौता भएमा हस्ताक्षर समारोहका लागि इजिप्ट भ्रमण गर्न ट्रम्पलाई पनि निमन्त्रणा गरेका छन् ।

मङ्गलबार ‘ओभल अफिस’मा पत्रकारसँग कुरा गर्दै ट्रम्पले हमास र इजरायलबीच युद्धविरामका लागि सहमति भएमा मध्यपूर्वमा शान्ति कायम हुन सक्ने बताएका थिए ।

हमासका वरिष्ठ अधिकारी ताहेर अल–नुनुले शर्म अल–शेखबाट एएफपीसँग भने, ‘मध्यस्थकर्ताहरूले युद्धविराम कार्यान्वयनमा कुनै पनि अवरोधहरू हटाउन ठूलो प्रयास गरिरहेका छन् । वार्ता सकारात्मक रूपमा अघि बढ्नेमा आशा गर्न सकिन्छ।’

नुनुले भने, ‘हमाससहितका प्यालेष्टिनी लडाकू समूहले युद्धविरामको पहिलो चरणमा इजरायली जेलबाट रिहा गर्न चाहेका प्यालेस्टिनी कैदीहरूको सूची बुझाएको छ।’

बदलामा सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणमा हमासले पक्राउ गरी लगेका जीवित र मृत दुवै गरी ४७ जना बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको छ ।

हमास लगायतका प्यालेस्टिनी लडाकू समूहले दुई बर्ष पहिले गरेको आक्रमणमा कम्तीमा एक हजार २१९ जनाको मृत्यु भएको थियो भने समूहले २५१ जनालाई बन्धक बनाइ गाजातर्फ लगेको थियो ।

आक्रमणको बदलामा इजरायलले सुरू गरेको हमासविरोधी अभियानमा ६७ हजार हजार १८३ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

विभिन्न वार्ता र युद्धविराम सम्झौतापछि सयौँ बन्धकलाई रिहा गरिएको छ भने अझै ४७ जना फिर्ता हुन बाँकी छन् । ती बन्धकमध्ये कम्तीमा २५ जनाको मृत्यु भइसकेको इजरायली सेनाले बताएको छ।

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी र टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन पनि बुधबार हुने वार्तामा सहभागी हुने अपेक्षा गरिएको छ भने हमासले इस्लामिक जिहादका प्रतिनिधिहरू पनि सहभागी हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?