+
+

भरतपुर महानगर : बागी उम्मेदवारी फिर्ता नलिने पौडेलको अडान कायमै

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख १६ गते १२:२१

१६ वैशाख, चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आज बिहान पनि उम्मेदवारी फिर्ता गराउने प्रयासस्वरुप पौडेलका समर्थक कृष्णलाल सापकोटा लगायतका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।

तर सो छलफल टुंगोमा नपुगेको चितवन कांग्रेसका एक नेताले बताए । ‘उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकले नै उम्मेदवारी फिर्ता लिन मान्नु भएन,’ ती नेताले भने ।

सत्ता गठवन्धनतर्फबाट भरतपुर महानगरको मेयरमा रेनु दाहालले उम्मेदवारी दिएकी छन् ।

उनलाई चुनौती दिंदै कांग्रेसका जिल्लास्तरीय नेता जगन्नाथ पौडेलले पनि उम्मेदवारी दिएका छन् । उम्मेदवारी फिर्ताको अन्तिम दिन आज भएकाले सत्ता गठवन्धनलाई भरतपुरको संकट कसरी टार्ने भन्ने समस्या छ ।

उम्मेदवारी फिर्ताको पहलस्वरुप मन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठले बिहीबार चितवन आएर पौडेलसँग छलफल गरेका थिए ।

पौडेलको निवासमै पुगेर उनीहरुले उम्मेदवारी फिर्ता लिन भने पनि पौडेलले मानेनन् ।

आज बिहान फेरि नारायणगढको एक होटलमा मन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठले कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटासँग छलफल गरेका थिए । तर त्यो छलफलमा पनि सहमति जुटेन ।

मन्त्री खाँणले फेरि छलफल गर्न पौडेललाई आफू बसेको होटलमा बोलाए पनि उनी गएनन् । उनले आफ्ना प्रस्तावक पूर्व सभापति सापकोटा र पूर्वसांसद भिमबहादुर श्रेष्ठलाई नै जिम्मा लगाएको र उनीहरुले लिने निर्णय आफ्नो भएको सन्देश जिल्ला सभापतिमार्फत मन्त्री खाँणसमक्ष पठाएका थिए ।

शुक्रबार विहान मन्त्री खाँण र श्रेष्ठले पूर्व सभापति सापकोटा र श्रेष्ठसँग करिब डेढ घण्टा कुराकानी गरे । तर, उम्मेदवारी फिर्ता लिन आफूहरु तयार नभएको पूर्वसांसद भिमबहादुर श्रेष्ठले बताए । ‘हामीले आफ्नो अडान छाडेनौं, हामीलाई कार्यकर्ताको त्यो म्याण्डेड पनि छैन,’ नेता श्रेष्ठले मन्त्रीसँग भेटघाटपछि अनलाइनखबरसँग भने, ‘अब उम्मेदवारी फिर्ता हुँदैन ।’

‘उम्मेदवारी कायम रहँदा सत्ता गठबन्धन नै तलमाथि हुनसक्छ भनेर मन्त्रीज्यूहरुले भन्नुभयो,’ छलफलमा सहभागी नेता श्रेष्ठले भने, ‘स्थानीय तहको निर्वाचनको साइनो केन्द्रीय गठवन्धनसँग नहुने जवाफ हामीले दियौं ।’

बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई फोन गरेर उम्मेदवारी फिर्ता लिन भनेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि फोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसमेत पौडेललाई मनाउन उनको घरमै पुगेका थिए । तर उम्मेदवार फिर्ता लिनुको साटो पौडेलले चुनावी तयारी थालेका छन् ।

वैशाख १७ गते (भोलि) निर्वाचन आयोगले उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरेपछि चुनावी अभियान लिएर घरदैलोमा जाने पौडेलका समर्थक रहेका कांग्रेस कार्यकर्ता दीपक अधिकारीले बताए ।

 

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?