१८ वैशाख, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । बैठकमा सशस्त्र प्रहरीको आईजीपी बढुवाबारे छलफल भएको थिएन ।
मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्राविधिक कारणले बैठकमा निर्णय भएको थिएन, साँझ मन्त्रालयमा बढुवा भएको चिठी आएको छ ।’
सशस्त्र प्रहरीको महानिरीक्षकका लागि अर्यालसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम प्रतिस्पर्धी थिए । तर सरकारले एक साताअघि नै अर्याललाई एआईजीमा बढुवा गरेर आईजीपीका लागि प्रतिस्पर्धा अन्त्य गरेको थियो ।
अर्यालले १८ चैत २०५४ मा नेपाल प्रहरीको निरीक्षकका रुपमा सेवा थालेका थिए । सशस्त्र प्रहरी बल गठन हुँदा उनले ८ जेठ २०५८ मा सेवा परिवर्तन गरेका थिए । आईजीपीमा नियुक्त अर्यालले चार वर्ष सशस्त्र प्रहरी बलको नेतृत्व गर्नेछन् ।
उनको अवकाशपछि पनि प्रतिस्पर्धी पौडेलले २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाउन सक्नेछन् ।
को हुन् अर्याल ?
अर्याल २०५८ मा सालमै सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए ।
२०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भएका उनी २०७० सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका थिए ।
२०७५ सालमा उनलाई सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गरेको थियो । उनले चार पटक संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा काम गरेका छन् ।
उनले सुकीर्तिमय राष्ट्रदीप तृतीय, सुप्रबल जनसेवाश्री, गोरखा दक्षिण बाहु चौथो लगायत ८ वटा विभूषण, मानपदवी, पदक तथा अलंकार प्राप्त गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट ग्रामिण विकास, समाजशास्त्र, राजनीतिशास्त्र र अन्तर्राष्ट्रिय मानवीय कानूनमा गरी चार संकायमा उनले स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।
प्रतिक्रिया 4