१९ वैशाख, कोहलपुर । नेपाली कांग्रेस कोहलपुरले समुन्नत कोहलपुर बनाउने संकल्पसहित आफ्नो प्रतिबद्धता तथा घोषणापत्र सार्वजनिक गरेको छ ।
कोहलपुर नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार पूर्णप्रसाद आचार्य र उपमेयर उम्मेदवार संगीता सुवेदीले समुन्नत कोहलपुर र निमुखालाई न्याय, विपन्नलाई आय भन्दै घोषणापत्र सार्वजनिक गरेका हुन् ।
कोहलपुरलाई समुन्नत नगरका रुपमा विकास गर्ने लक्ष्य सहितको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण तथा पर्यटन, खानेपानी तथा सरसफाइ, व्यापार, व्यवसाय र बजार व्यवस्थापन, गरिबी निवारण, सूचना सञ्चार, सामाजिक सुरक्षा, बस्ती व्यवस्थापन तथा आवास, बजारीकरण, आधुनिक पशुपालन तथा कृषि, सिंचाइ, आयआर्जन तथा रोजगार, युवा तथा खेलकुद, विद्युत, उद्योग, सडक र यातायात, प्रशासन सुशासन, विपद व्यवस्थापन लगायतका क्षेत्रमा प्रतिबद्धता जनाइएको छ ।
कोहलपुर नगरमा एउटा आधारभूत विद्यालयलाई आधुनिक, प्रविधिमैत्री, अपांगतामैत्री नमूना आवासीय विद्यालय स्थापना गर्ने, निजी विद्यालय शिक्षा सुधार कार्यक्रमलाई सञ्चालनमा ल्याइने घोषणा पत्रमा उल्लेख छ ।
स्वास्थ्य बीमा प्रारम्भ गर्ने, नगरभित्र शवबहानको व्यवस्था गर्ने, कोहलपुरका बासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउने, विशेष उत्पादन क्षेत्रको पहिचान गरी एक क्षेत्र एक उत्पादन कार्यलाई प्रवर्द्धन गर्ने नीति ल्याउने प्रतिबद्धता छ ।
पत्रकारिता विषयमा एमफिल अध्ययन गर्ने पत्रकारलाई विशेष छात्रवृत्ति व्यवस्था गरिएको, दैनिक ज्यालादारी, मजदुरीहरुको तथ्यांकलाई वैज्ञानिक तरिकाले पहिचान गरी वस्तुगत रुपमा परिचयपत्र प्रदान गर्दैै आवश्यक रोजगारी सहितको गरिवी निवारणलाई प्राथमिकता दिईने घोषणापमा उल्लेख छ ।
सामाजिक सद्भावलाई प्रगाढ बनाउने, मठमन्दिर, मस्जिद, चर्च, धर्मशाला, कर्वला क्षेत्रको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने, सार्वजनिक जग्गाको पहिचान गरी त्यसको अधिकतम् प्रतिफल आउने गरी व्यवस्थापन गर्ने, विभिन्न धर्मका धर्माबलम्वी र तीर्थ यात्रीका लागि धर्मशाला निर्माण गर्ने अठोट नेपाली कांग्रेसका उम्मेदवारको छ ।
मेयर उम्मेदवार आचार्यले जनताका आधारभूत कुरालाई प्राथमिकता दिएर घोषणापत्र सार्वजनिक गरिएको बताए ।
उपमेयर उम्मेदवार सुवेदीले आधुनिक र व्यवस्थित कोहलपुर निर्माणको संकल्प लिइएको बताइन् ।
कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सार्वजनिक गरिएको घोषणापत्र अनुसार जनप्रतिनिधिहरुले काम गर्ने विश्वास व्यक्त गरे ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4