+
+

यस्तो छ नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २४ गते ९:०३

२४ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र राखेप सदस्य सचिव टंकलाल घिसिङले लोगो, मस्कट सार्वजनिक गरेका हुन् ।

गन्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ ।

लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ ।

कलाकार भोलानाथ शर्मा पौडेलले बनाएको लोगो र मस्कट राष्ट्रिय खेलकुदका लागि छनोट भएको हो ।

गत वैशाख ४ गते राखेपले नवौंका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गरी पेस गर्न पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनाअनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगोमध्येबाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको राखेपले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् ।

लोगो र मस्कट बनाउनेले क्रमस: ५० र २५ हजार तथा नारा बनाउनेले १० हजार पुरस्कार पाएका छन् ।

राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि गीत पेस गर्न पनि सूचना जारी गरेकोमा एउटामात्र आवेदन परेकोले हाललाई गीत छनोटको प्रक्रिया स्थगित गरिएको परिषद्ले जनाएको छ ।

प्रतियोगिता सुरु हुन २८ दिन बाँकी रहँदा तयारी धमाधम भइरहेको छ । निर्देशिका र बजेट आइनसके पनि प्रतियोगितामा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गर्ने निर्णयसहित प्रदेश र विभागीय टोलीहरुले टिम छनोट गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?