+
+

महिला भलिबलमा आर्मीको उदय

‘यही क्षणको प्रतीक्षामा थियौं’

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ वैशाख २४ गते १७:०९

२४ वैशाख, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबको महिला टिमले आरबीबी एनभीए क्लब लिग भलिबलको उपाधि पहिलोपल्ट जितेको छ । छैठौं संस्करणमा पहिलोपल्ट लिग च्याम्पियन बन्न पाउनुलाई खेलाडीहरु गर्वको क्षण मान्छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा निर्णायक खेलमा नेपाल पुलिसलाई सोझो सेटमा पराजित गरेपछि आर्मीका खेलाडीको खुसी हेर्नलायक थियो । उपाधि जित्नका लागि आर्मीलाई सोझो सेटकै जित जरुरी थियो । आर्मीले पुलिसमाथि २५–१८, २५–२३ र २५–२० ले जित्यो ।

अरु दुई विभागीय टोली एपीएफ र नेपाल पुलिसभन्दा धेरै पछिमात्र आर्मीले महिला टिम निर्माण गरेको हो । आर्मीले सिभिलका खेलाडी जम्मा पारेर २०७१ सालदेखि नै राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । २०७२ मा कपिलकिशोर श्रेष्ठले आर्मीको प्रशिक्षण सम्हालेपछि २०७३ को एनभीए क्लब च्याम्पियनसिपदेखि आर्मीको प्रवेश भएको हो ।

‘मैले त्यतिबेला सम्भावना भएका प्रतिभाहरु खोजेर टिम निर्माण गरेको थिएँ । मेरो विचारमा आर्मी टिम योभन्दा अगाडि नै लिग च्याम्पियन बनिसक्नुपर्ने थियो,’ प्रशिक्षक श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सबै पोजिसनबाट राम्रो खेल्न नसक्ने, सेटमा पछि पर्नेवित्तिकै दबावमा आइहाल्ने आर्मीको समस्या थियो । आज पुलिससँग आर्मीले शत प्रतिशत भलिबल खेल्न सक्यो ।’

त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ तीन दशकअघि नै टिम निर्माण गरेर प्रतिस्पर्धा सुरु गरे पनि महिला टिमको इतिहास ७ वर्षको मात्र छ । आर्मीको पहिलो पुस्ताका खेलाडीमध्ये जानकी भण्डारी र मनिषा खाँणमात्र अहिले टिममा छन् । मनिषाले यो क्षणका लागि आफूहरु प्रतीक्षारत रहेको बताइन् ।

‘हामीले जति राम्रो खेल्दा पनि सधैं तेस्रो हुनुपर्दा निराशाजस्तो हुने रहेछ । टिमले जितिरहँदा हामीले पनि कहिले जित्ने होला भन्ने लाग्ने गरेको थियो । आज हामीले खोजेको क्षण आएको छ,’ मनिषाले अनलाइनखबरसँग भनिन् ।

घरेलु भलिबलमा न्यू डायमण्ड, एपीएफ र नेपाल पुलिसकै बर्चश्व रहने गरेको थियो । २०६९ सालमा नेपाल भलिबल संघले एनभीए क्लब च्याम्पियनसिप र लिग सुरु गरेको हो । क्लब च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई क्लब लिगमा सहभागी हुन पाउँछन् ।

त्यतिबेला नेपाल पुलिसको स्वर्ण पुस्ताको प्रभाव कम हुन थालेको थियो । एपीएफ र न्यू डायमण्ड उदाउँदो टोलीका रुपमा थिए । यसअघिका पाँच संस्करणमध्ये एपीएफले तीन र न्यू डायमण्डले दुई संस्करणको उपाधि जितेका छन् । आर्मीले पुलिसलाई पछि पार्दै लिग च्याम्पियन बन्न सफल भएको हो ।

२०७३ सालमा न्यू डायमण्डमा रहँदा एनभीए क्लब लिगको उपाधि जितेकी कृपा अधिकारीकै कप्तानीमा आर्मीले शनिबार लिग उपाधि जितेको हो । यसअर्थमा कृपा घरेलु भलिबलमा फरक क्लबबाट लिग उपाधि जित्ने भाग्यमानी खेलाडी बनेकी छन् ।

आर्मी टिममा कृपाको आगमनपछि नै टिममा उल्लेख्य सुधार आएको अन्य खेलाडीहरु स्वीकार्छन् । ‘कृपा म्याम उत्कृष्ट सेटर हो । उहाँ आएपछि हाम्रो त्यो पोजिसन त सुधारियो नै, उहाँको नेतृत्वमा सन्तुलित टिम बन्न सक्यो,’ मनिषाले भनिन् ।

‘व्यक्तिगत रुपमा दुई फरक क्लबबाट लिग उपाधि जित्न पाउनु मेरा लागि गर्वको क्षण हो,’ उपाधि विजेता कप्तान कृपाले अनलाइनखबरसँग भनिन्, ‘यसपल्ट हामीलाई सुरुदेखि नै उपाधि जित्न सक्छौं जस्तो लागेको थियो ।’

प्रमुख दुई टोलीका प्रमुख खेलाडीको अनुपस्थिति आर्मीलाई उपाधि जित्न सहयोगसिद्ध भयो । ‘न्यू डायमण्डमा प्रतिभा (माली) र एपीएफमा सरस्वती (चौधरी) दिदी नहुँदा हामीले त्यसको फाइदा लिनुपर्छ भन्ने त योजना बनाएका थियौं । तर अघिल्लो खेलमा एपीएफसँग हारेपछि हामीलाई डर लागेको थियो । दुई दिनको आराम समयमा हामीले धेरै तयारी गर्‍यौं,’ कप्तान कृपाले भनिन् ।

आर्मीका प्रशिक्षक लोकबहादुर बुढाले पनि आफ्नो कमजोरी कम गर्दै विपक्षीको ब्लक कमजोर बनाउने रणनीति सफल भएको बताए । ‘उपाधि जित्न हामीलाई सोझो सेटको जित अपरिहार्य थियो । नकारात्मक अंक कम गरी विपक्षीको ब्लक कमजोर बनाउने रणनीति सफल भएको हो । हामी तीनै सेटमा सहज पोजिसनमा रहनु पनि हामीलाई सजिलो भयो,’ बुढाले भने ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?