+
+

आर्मीका धनबहादुर र संगम महतो उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १०:१८

२५ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लबका धन बहादुर भट्ट र संगम महतो छैटौं आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

शनिवार सम्पन्न लिगमा आर्मीले उपाधि जित्दा दुवैले उत्कृष्ट प्रदर्शन गरे । धनबहादुर पुरुषतर्फ र संगम महिलातर्फ उत्कृष्ट बने । दुवै विधाका उत्कृष्ट खेलाडीले समान ३५ हजार नगद पुरस्कार प्राप्त गरे ।

यस्तै व्यक्तिगत विधातर्फ पनि आर्मीकै बर्चस्व रह्यो । पुरुषतर्फ आर्मीका हरिहजुर थापा उत्कृष्ट सेटर, दुर्गा खड्का उत्कृष्ट ब्लकर, राजेन्द्र विष्ट उत्कृष्ट सर्भर तथा जगतबहादुर सिंह उत्कृष्ट प्रशिक्षक बने ।

यस्तै नेपाल पुलिसका रविन चन्द उत्कृष्ट स्पाइकर र पुलिसकै भिमबहादुर गाहा उत्कृष्ट लिबेरो घोषित भए ।

महिलातर्फ आर्मीकी शान्ति चौधरी उत्कृष्ट सर्भर र सुनिता खड्का उत्कृष्ट ब्लकर घोषित भए । यस्तै आर्मीकै लोकेश बुढा उत्कृष्ट प्रशिक्षक चुनिए । एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, एभरेष्ट क्लबकी अरुणा शाही उत्कृष्ट सेटर घोषित भए ।

सबै उत्कृष्ट खेलाडीले जनही १५ हजार नगद पुरस्कार जिते ।

यसैगरी एपीएफका धीरज बस्नेत पुरुषतर्फ तथा न्युडायमन्डकी प्रगति नाथ महिलातर्फ उदयीमान खेलाडी चुनिए । उदयीमान खेलाडीले समान १० हजार नगद हात परे ।

नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ आर्मी अपराजित रहँदै सर्वाधिक १८ अंकका साथ पहिलो भयो । हेल्प नेपाल दोस्रो र नेपाल पुलिस तेस्रो भयो । महिलामा आर्मी, पुलिस र एपीएफले समान ९ अंक जोडे पनि थोरै सेट हारेको आर्मी च्याम्पियन बन्यो ।

महिला र पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ लाख, ३ लाख र १ लाख ५० हजार नगद पुरस्कार पाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको प्रतियोगिताको अन्तिम दिन पुरुषमा ३ र महिलामा १ खेल भयो । पुरुषमा गण्डकीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–२३, २३–२५, २५–२० र २५–१५, प्रहरीले एपीएफलाई २५–२१, २५–२३, १९–२५, २०–२५ र १८–१६ तथा आर्मीले टिपटपलाई २५–१३, २५–१८, २६–२८ र २८–२६ ले पराजित गरे ।

महिलामा आर्मीले प्रहरीलाई २५–१८, २५–२३ र २५–२० ले हरायो । प्रतियोगिताको पुरुषमा ७ तथा महिलामा ५ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?