+
+

चुनावी र्‍यालीको दर्जनौं गाडीमा डिजेल मिसिएको पेट्रोल भरिएपछि…

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ वैशाख २५ गते १७:५०

२५ वैशाख, काठमाडौं । ललितपुरको टीकाभैरबमा रहेको ललित पेट्रोल पम्पमा स्थानीय मनोज केसीले शुक्रबार पेट्रोल भरे । पेट्रोल सकिएर मोटरसाइकल नचल्ने अवस्थामा पुगिसकेपछि पम्पमा पुगेका केसीले मोटरसाइकलमा पाँच सय रुपैयाँको तेल हालेर निस्किए ।

करिब एक सय मिटर पर नपुग्दै उनको मोटसाइकलको पिकअपमा समस्या देखियो । ‘तेल भरेर हिँड्नेबित्तिकै पहिले भन्दा मोटरसाइकलको गति घट्दै गयो’ केसीले भने ‘केही बेरमा बाइकको पिकअप नै गयो ।’ तेल हालेर पनि मोटरसाइकल नगुडे पछि केसी बल्ल तल्ल पम्पमा फर्किए र आफ्नो बाइक पेट्रोलबाट नचलेको भन्दै तेलको गुणस्तरमा प्रश्न गरे ।

केसीका अनुसार शुक्रबार बिहान सवा ८ बजेतिर पम्पमा पुग्दा अरु मानिसहरु पनि यस्तै गुनासो लिएर जम्मा भएका थिए । गुनासो गर्न आउनेमा एउटा चुनावी र्‍यालीमा जानका लागि तेल भरेकाहरु थिए ।

नेपाल आयल निगम बागमती प्रादेशिक डिपो थानकोटकाअनुसार शुक्रबार बिहान ललितपुरको उक्त पम्पबाट करिब २ घण्टा पेट्रोल गाडीमा डिजेल मिसिएको पेट्रोल वितरण भएको थियो ।

डिपो प्रमुख इन्जिनियर शैलेन्द्र भुसालकाअनुसार डिपोमा प्राप्त प्रारम्भिक जानकारीअनुसार एउटा पेट्रोल कार र केही निजीसहित चुनावी र्‍यालीको सवारी साधनमा मिसावटयुक्त पेट्रोल भरिएको थियो ।

‘शुक्रबार बिहान ९ बजेसम्म करिब तीन घण्टा मिसावटयुक्त तेल वितरण भएको पाइयो’ डिपो प्रमुख भुसालले भने ‘निगमको डिपोबाट खरिद भएर ट्यांकरमा लगेर खन्याउँदा पेट्रोलको ट्यांकीमा डिजेल खन्याइएको पाइयो ।’

कामदारको असावधानीका कारण करिव ३ हजार लिटर पेट्रोल रहेको पम्पको भित्री ट्यांकरमा २ हजार लिटर डिजेल हालिएको बुझिएको डिपोले जनाएको छ । घटनाबारे लिखित विवरण पेश गर्न डिपोले पम्पलाई निर्देशन दिइएको पनि भुसालले बताए ।

पम्प सञ्चालकले डिपोमा गराएको जानकारीअनुसार मिसावट युक्त तेल हालेर समस्या आएको भन्दै पम्पमा फर्किएका एउटा कार र ६० वटा मोटसाइकलको सम्पूर्ण मर्मत खर्च पम्पले ब्यहोरोको र खरिद गरे बराबरको पेट्रोल पनि भरिदिएको थियो ।

प्रहरी बिट टीका भैरवका प्रमुख रुपबहादुर थापाकाअनुसार पेट्रोल पम्पले मिसावटयुक्त तेल बेचेको भन्दै केही युवाले गुनासो टिपाएका थिए । उनीहरुको गुनासो पछि प्रहरी घटनास्थल पुगेर पीडितलाई थप प्रविधिक विश्लेषणसहितको अनुसन्धानमा जान सुझाएको थापाले बताए ।

पम्प सञ्चालक हेम बरालले शुक्रबार आफ्नो पम्पबाट मिसायुटयुक्त पेट्रोल बिक्री भएको स्वीकारे । पेट्रोलमा डिजेल मिसिएकोबारे उनको तर्क भने थानकोट डिपोको भन्दा फरक छ । आफ्नो पम्पमा भएको मिसावट मानविय त्रुटीले नभइ इन्धन बोक्ने ट्यांकरको चेम्बरमा भएको लिकेज भएको बरालले दाबी गरे । ‘मेरो पम्प अलि कच्ची बाटोबाट आउनुपर्छ । गाडी धेरै हल्लिएका कारण लिकेज भएर पेट्रोल चेम्बरमा डिजेल चेम्बरबाट तेल छिरेछ,’ बरालले भने ‘करिब १५० लिटर जति डिजेल पेट्रोलमा मिसिएको देखियो ।’

थानकोट डिपोबाट पम्पसम्म आएको ट्यांकरले एउटा चेम्बरमा ३ हजार लिटर पेट्रोल र सोही ट्यांकरको अर्को चेम्बरमा ९ हजार लिटर डिजेल बोकेको बरालको भनाइ छ । मिसावटयुक्त इन्धनका कारण समस्या भएकामध्ये ३० वटा मोटरसाइकल र एउटा गाडी मर्मत गरेको बरालको भनाइ छ ।

यस्तै खरीद गरे बराबरकै तेल पीडितलाई क्षतिपूर्ति बापत दिएको पनि उनले बताए । मिसावटको इन्धनका कारण बिग्रेको सवारी साधन बनाउन ४० हजार रुपैयाँ भन्दा बढी खर्च भएको पम्पको दाबी छ ।  तीन दिनसम्म गुमनाम रहेको घटनाबारे थप अनुसन्धान हुने निगमको थानकोट डिपोको दाबी छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?