+
+

माओवादीसँग मिलेर कांग्रेसले उठाएको जोखिम

चुनावमा माओवादीलाई बोकेर कांग्रेसले इतिहासको गौरवमाथि जोखिम उठाएको छ । तर, स्थानीय निर्वाचन वा बढीमा संसदीय निर्वाचन सकिएको दोस्रो बिहानी कांग्रेसलाई छोडेर माओवादी फेरि ओलीसँग लोली मिलाउन गए आश्चर्य हुनेछैन ।

नारायण कँडेल नारायण कँडेल
२०७९ वैशाख २७ गते १२:०४

थालनी एउटा लोककथाबाटै सुरु गरौं । परापूर्वकालमा एक ज्ञानी महात्मा वनमा तपस्या गर्दथे । घरबार, श्रीसम्पत्ति, मायामोह सबै त्यागेर जगतको कल्याणका लागि महात्माले गरेको त्याग, तपस्या र पाएको ज्ञानको चारैतिर ठूलो महिमा थियो । एकदिन सरकारी मणि-माणिक्य, धनदौलत आदि लुटेर भागेका डाँकाहरू महात्माको कुटीमा छिरे । सरकारी गुप्तचर र सेना आदिबाट बच्न सबै दौलत कुटीमै छोडेर डाँकाहरू भागे ।

यसरी कुटीमा धन-दौलत भएको खबर छिमेकी गाउँको एक धूर्त फटाहाको कानमा पर्‍यो । त्यसै दिनदेखि त्यो धूर्त मानिस कुटीको दौलत हात पार्न अनेकन् दाउ हेरिरहन्थ्यो । कहिले महात्मालाई फकाउँथ्यो । कहिले धम्क्याउँथ्यो । महात्मा कहिल्यै हलचल भएनन् । एकदिन त्यो धूर्तले आफ्नी पत्नीलाई यो सबै बतायो । र, यो दौलत हडप्न नसकेकोमा निदहराम भएको बतायो । पत्नीले पतिलाई भनिन्, ‘चिन्ता नगर्नुहोस्, म तपाईंलाई सघाउँछु । मलाई साथ दिनुहोस् !’

यति भनेर ती महिला दिनहुँ महात्माको सेवामा जान लागिन् । दैनिक सेवाबाट प्रभावित भएका महात्मामा विस्तारै ती महिलाप्रति माया पलाउन थाल्यो । महात्मा पनि महिलाको चाहनाबारे चासो राख्न थाले । एकदिन महिलाले आफ्नो पति नामर्द भएको भन्दै पतिको विरुद्ध महात्मासँग नक्कली कुरा गरिन् । आफ्नो ब्रहृमचर्य धर्म, मूल्यमान्यता आदिबाट विस्तारै पतनोन्मुख महात्मा एक परस्त्रीले लोग्नेविरुद्ध गरेको नक्कली निन्दा सुनेर मख्खै परे ।

महिलाले महात्माको प्रेममा भुतुक्कै भएको बताउँदै भनिन्, ‘तपाईंको तप, ध्यानमा बाधा नपरोस् भनेर नभनेकी मात्र हुँ । यदि मेरो सेवाबाट खुसी हुनुहुन्छ भने कृपया मलाई एकदिन भए पनि स्वीकार गरी धन्य बनाउनुहोस् ।’ महात्मा महिलाकै चाहना पूरा गर्न राजी भए । उनीहरूका बीचमा प्रेमालाप हुने तय भयो ।

विनाशकाले विपरीत बुद्धि भने झंै, तपस्वी महात्मा ती महिलासँग जंगलतिर डेटिङमा जान तयार भए । महिलाले रतिक्रियालाई चरम आनन्ददायक बनाउन भन्दै महात्मालाई दाह्री काट्न अनुरोध गरिन् । महात्मा राजी भए । मणि-माणिक्य कुटीमै छोडेर जंगल जाँदा कुटीमा चोरी हुनसक्ने भन्दै दौलत बाहिर लुकाउने सल्लाह पनि भयो । अनि जीवनभरको साधनाबाट स्थापित मूल्यमान्यता, ब्रहृमचर्य धर्म, परपरा सबै त्यागेर एकदिन महात्मा जंगलमा निर्बस्त्र उभिए ।

धूर्त मानिस र उसकी पत्नीको योजना अनुसार कामातुर साधु रतिक्रीडा पहिल्यै निर्बस्त्र समातिए । जंगलमा लुकाएको दौलत पनि योजना अनुसार नै लुटियो । जीवनभर त्याग र तपस्या गरेका महात्मा दुनियाँसामु नाङ्गएि र सदाका लागि पतित भए ।

माओवादीसँगको संगतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अग्लो योगदान भएको नेपाली कांग्रेस पार्टी पनि यही लोककथाको साधु जस्तै भएको छ । माओवादीप्रति कांग्रेस नेतृत्व यति लालायित छ कि यसले आफ्नो पहिचान, हैसियत, इतिहास, नीति, सिद्धान्त, विगत, आगत, जनता र कार्यकर्ताको चाहना सबैलाई लत्याउँदै आफ्नो धरातल बिर्सेर राजनीतिक मूल्य-मान्यता विपरीत सर्वाङ्ग नाङ्गो भएर उभिएको छ ।

गएको स्थानीय निर्वाचन पछि साधुको झैं हालत कांग्रेसको बनाएर कम्युनिस्ट कम्युनिस्टको घर जमाउन पुगेको माओवादीबाट कांग्रेसले केही सिकेको देखिएन । गएको स्थानीय निर्वाचनपछि कांग्रेसलाई धोका दिएर एमालेसँग घरजम गर्न गएको माओवादीले अहिले फेरि कांग्रेसलाई आश देखाएर हिंडाएको छ । सत्य कुरा के हो भने यो सहकार्य अप्राकृतिक छ अनि माओवादीबाट अर्को धोखा अवश्यम्भावी छ ।

माओवादीसँगको संगतले कांग्रेसको हविगत के भयो जान्न कांग्रेस के थियो र विगत केही वर्षमा के भयो हेरे मात्र पुग्छ । बीपी कोइरालाको सैद्धान्तिक अवधारणामा बनेको नेपाली कांग्रेसले नेपाली राजनीतिका लगभग सबै कालखण्डमा नेतृत्व दियो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको वैचारिक धरातलमा उभिएको यो पार्टी राष्ट्रियताको सवालमा अन्य विषयलाई गौण ठान्दै राजनीतिक कोर्स करेक्सनका लागि मेलमिलापको नीति अख्तियार गरेको इतिहास छ ।

कांग्रेसले सिंहदरबारको म्यादी सत्ताका लागि आगामी पाँच वर्ष जनतासँग प्रत्यक्ष कार्य गर्ने स्थानीय कामकाजी सरकार त्याग्ने आत्मघाती सौदा गरेको छ

संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, मौलिक अधिकार र समाजवादी अर्थ-व्यवस्था यस पार्टीले अगाडि सारेका मौलिक राजनीतिक सिद्धान्त थिए । कांग्रेस नेता स्व. सिके प्रसाई र अन्य कांग्रेसी लेखकहरूका अनुसार नेपाली कांग्रेसको चारतारे झण्डामा भएका चार वटा ताराले यिनै चार मौलिक सिद्धान्तको प्रतिनिधित्व गर्दथे ।

यिनै सैद्धान्तिक अवधारणा, नीति तथा राजनीतिक उद्देश्यमा आधारित भएर कांग्रेसले नेपालको मौलिक सभ्यता र संस्कृति अनुकूल धार्मिक स्वतन्त्रताको सुनिश्चितता र विकेन्द्रीकृत शासकीय स्वरूप सहितका प्रजातान्त्रिक शासकीय स्वरूपमा विश्वास जगायो । यसैका लागि कांग्रेसले लगभग नौ दशक बढी संघर्ष गर्‍यो ।

बीपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्म आइपुग्दा कांग्रेसका लागि उसका यी सिद्धान्त, विचार, नीति तथा उद्देश्यहरू राजनीतिका मूलमन्त्र मानिन्थे । व्यक्तिको राजनीतिक विचारप्रतिको इमानदारी राजनीतिको आदर्श थियो । त्यसलाई कांगे्रसहरू राजनीतिक मूल्यमान्यता भन्दथे । त्यसैका लागि तपस्या गर्थे । जेलनेल मात्र होइन बीपीको जस्तै टोपी लगाएर जल्लादलाई जय नेपाल भन्दै हाँक दिएर फासीको तख्तामा चढ्दथे । त्यसैले त देश-विदेशमा कांग्रेसको साख थियो, तागत थियो, महिमा थियो, विश्वास र जनमत थियो ।

तर गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्म आइपुग्दा कांग्रेस यी आदर्शबाट सम्पूर्ण रूपमा च्युत भएको छ । यो पार्टी अहिले सेयरमा मेयर बाँडेर खाने जमातमा परिणत भएको छ । चारतारे झण्डाबाट तारा खसेका छन् । तारा खसेको यस अर्थमा कि नेपाली कांगे्रसले आफ्ना चार तारालाई प्रतीक मानेका राजनैतिक सिद्धान्तहरू संवैधानिक राजतन्त्र, धार्मिक स्वतन्त्रतासहितको मौलिक राजनीतिक चरित्रलाई त्यागेको छ । विकेन्द्रित राज्य प्रणाली र राष्ट्रियताका सवालमा मेलमिलाप नीतिको मर्मलाई धुलिसात् पारिएको छ । राजनीतिक विचारले भरिएको, नेपालको पहिलो सचेत राजनीतिक पुस्ताको बलिदानीपूर्ण रातो रगतको निशानी चेतनाको चारतारे झण्डा अब केवल एउटा कपडाको टालो मात्र बन्ने सम्भावना बढेको छ । एउटा यस्तो टालो जसलाई विभिन्न व्यक्तिहरूको अगाडि ओछ्याएर सत्ताको भिख माग्न मिलोस् ।

माओवादीसँग मिलेर राष्ट्रपति हुने चाहनामा गिरिजाप्रसाद कोइरालाले चारतारे राजनीतिक सिद्धान्तको मजाक उडाएका हुन् । सोही विन्दुदेखि नेपालको राजनीतिमा नेपाली कांग्रेसले मौलिकता गुमाएर आफूलाई कम्युनिस्ट जस्तै बनाएको हो । संघीयता, धर्मनिरपेक्षता र राजनीतिक पार्टीको कार्यकर्ता राष्ट्रप्रमुख हुने भन्ने विषय कांग्रेसको पाठ्यक्रममा थिएन । खासमा देशवासीको दिलको आवाज सुन्ने हो भने यो पाठ्यक्रम पश्चिम र दक्षिणबाट आयातित हो । माओवादीमार्फत कांग्रेसको स्कुलमा छिरेको हो । सैद्धान्तिक विचलनको यो स्वरूप कांग्रेस राजनीतिको सारलाई आत्मसात् गरेका नेपालीले अझै स्वीकार गरेका छैनन् ।

नेपालमा कांग्रेस अहिंसावादी राजनीतिको पक्षधर मानिन्थ्यो । राणाशासन विरुद्धको आन्दोलन बाहेक सबै परिवर्तन शान्तिपूर्ण आन्दोलन मार्फत प्राप्त भए । ती शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरेको कांग्रेसले झापा आन्दोलनलाई व्यक्तिहत्या र माओवादी युद्धलाई आतङ्कको रूपमा लिने गर्दथ्यो । माओवादी युद्धताका युद्धरत पक्षबाट भएको हत्या, हिंसा, अपहरण, लुटपाट सम्बन्धमा नेपालमा संक्रमणकालीन न्यायका संयन्त्र मार्फत अध्ययन भएको छ भने नियमित अदालतहरूमा पनि मुद्दाहरू चलिरहेका छन् ।
युद्धकालमा भएका कतिपय घटना अन्तर्राष्ट्रिय मानवीय कानुन तथा मानवअधिकार कानुन समेत आकषिर्त हुने खालका समेत छन् । इतिहासमा नरसंहार गरेका कतिपय युद्ध अपराधीहरू भूतप्रभावी अन्तर्राष्ट्रिय अपराध सम्बन्धी कानुनको फन्दा परेका छन् । नेपालमा भविष्यमा आउने सचेत पुस्ताले युद्धकालमा राज्य र विद्रोही दुवै पक्षबाट मारिएका व्यक्तिहरूको लागि न्याय खोज्न थाल्यो भने उनीहरू मरणोपरान्त समेत अपराधी करार हुनेछन् ।

माओवादीसँगको घनीभूत सहकार्यले नेपाली कांग्रेसले शान्तिपूर्ण राजनीतिको स्वामित्व मात्र गुमाएको छैन माओवादी युद्धकालमा भएका कतिपय अपराधको मतियार समेत भएको छ । लमजुङमा सन् २००२ मा मारिएका शिक्षक मुक्तिनाथ अधिकारी जस्तै निहत्थाहरू देशैभरि मारिएका छन् । पीडितमध्ये अधिकांश आफन्त गुमाएकाहरूले एकदिन शान्तिपूर्ण राजनीतिको मियो सम्हाल्दै कांग्रेसले न्याय दिलाउने आत्मविश्वास लिएर बाँचेका थिए ।

माओवादीसँग गठबन्धन गरेर कांग्रेसले ती युद्ध पीडितहरूको भावनामाथि अपमान गरेको छ । एकथान सत्ताका लागि कांग्रेसको यो निर्णय कुनै पनि कोणबाट सही सावित हुन सक्दैन ।

स्थानीय तहमा माओवादीसँगको सहकार्यकै कारण गएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो परम्परागत समर्थन गुमाएको थियो भने यस पटक त उसले हदैसम्म गलत निर्णय लिएको छ । देशैभर गठबन्धन बनाएर भोट माग्ने कार्य कसरी स्वीकार्य हुन्छ ? हामी राजनीतिक रूपमा फरक हौं भनेर वर्षौं फलाकेका कम्युनिस्टहरू र कम्युनिस्ट भन्दा फरक हौं भनेर रोइलो गर्ने कांग्रेसहरूले कसरी एकै ठाउँमा भोट माग्न मिल्छ ?

यो घटनाले कांग्रेसले उसको ऐतिहासिक पकड भएका क्षेत्रहरू जनकपुर, वीरगञ्ज, भरतपुर, पोखराको स्थानीय सरकारको नेतृत्व गुमाएको छ । २०४९ सालको स्थानीय निर्वाचनदेखि देशका अधिकांश स्थानीय तहमा कांग्रेस प्रमुख र उपप्रमुख दुवै पदमा निरन्तर निर्वाचित भएको थियो । तर यसपटक भने कांग्रेसले प्रमुख र उपप्रमुख मध्ये एउटा पद अहिल्यै गुमाएको छ । प्रतिस्पर्धा गरेका सबै पदमा विजय पाउने कुरा पनि भएन । त्यसैले कांग्रेसले सिंहदरबारको म्यादी सत्ताका लागि आगामी पाँच वर्ष जनतासँग प्रत्यक्ष कार्य गर्ने स्थानीय कामकाजी सरकार त्याग्ने आत्मघाती सौदा गरेको छ ।

राजनीतिमा कम्युनिस्टलाई बोकेर कांग्रेसले इतिहासमा प्राप्त गरेको गौरव, स्थापित मूल्यमान्यता, राजनीतिक इमान, स्थानीय सत्ता गुमाएर केवल कलङ्कको भागिदार बनेको छ । तर, स्थानीय निर्वाचन बढीमा संसदीय निर्वाचन सकिएको दोस्रो बिहानी कांग्रेसलाई रसातलमा छोडेर कम्युनिस्टहरू फेरि ओलीसँग लोली मिलाउन गए आश्चर्य हुनेछैन ।

शक्तिकेन्द्रहरू नेपालका बलिया संस्थाहरूलाई एकपछि अर्को गर्दै समाप्त गर्न चाहन्छन् । राजतन्त्रसँगै नेपालको सभ्यता, संस्कृति समाप्त पारियो । सेनालाई खण्डित गर्ने प्रयास भयो तर सफलता मिलेन । इन्दिरा गान्धीलाई ललकार्दै राष्ट्रियता र प्रजातन्त्रको जरो देश भित्रै गाड्ने नेपालको बचेका मध्ये सबैभन्दा पुरानो राजनीतिक शक्ति कांग्रेस हो । यसलाई निमिट्यान्न पार्ने कार्य योजनाबद्ध रूपमा भैरहेको छ । सबैलाई चेतना भया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?