+
+
उम्मेदवार प्रोफाइल :

भरतपुरमा विजयी हुन चाहेका विजय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते २३:२९

२७ वैशाख, चितवन । २०२० साल चैत ५ गते स्याङ्जाको क्याक्मीमा जन्मिएका विजय सुवेदी १६ वर्षको उमेरदेखि नै कम्युनिस्ट राजनीतिमा लागे । २०३७ सालमा चितवनको गुञ्जनगर बसाइँ सरेका सुवेदीको परिवार २०६५ देखि भरतपुर–१२, मिलनचोकमा स्थायी भएको हो ।

२०३९ सालमा तत्कालीन नेकपा (माले) को सदस्यता लिएका सुवेदी अनेरास्ववियूको सचिव र अध्यक्ष बने । २०४६ को आन्दोलनमा केही समय जेल परेका उनी २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, चितवनको संस्थापक अध्यक्ष बने ।

त्यही साल उनी एमाले चितवनको सचिवालय सदस्य र सचिव बने । २०४९–२०५०, २०६१–२०६४ र २०६४–२०६६ गरी तीन कार्यकाल जिल्ला पार्टी प्रमुख बने । २०६२÷६३ को जनआन्दोलनमा उनी गम्भीर घाइते भए ।

एमालेभित्र संगठन निर्माणमा कुशल मानिने सुवेदी लुम्बिनी बौद्ध विश्वविद्यालयका स्नातकोत्तर हुन् । उनी २०७१–७३ को अवधिमा भरतपुर अस्पताल विकास समितिको अध्यक्ष रहे ।

यिनै विजय सुवेदी यो पटक देवी ज्ञवालीको समर्थनमा नेकपा (एमाले) बाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार छन् ।

२०७४ सालमा कांग्रेस–माओवादी गठबन्धन विरुद्ध भरतपुरको मेयरमा लडेका ज्ञवाली यसपटक पनि दोहोरिने धेरैको अनुमान थियो, तर उनले प्रदेश सांसद समेत रहेका सुवेदीलाई प्रस्ताव गरे ।

यसरी एमालेबाट भरतपुरको मेयरमा सर्वसम्मत उम्मेदवार बनेका सुवेदी चितवन निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेश सांसद थिए । प्रदेश सांसद भन्दा महानगरपालिकाको मेयरसँग बढी बजेट र अधिकार हुने भएकोले आफू यो पदमा आउन चाहेको सुवेदीको प्रष्टोक्ति छ ।

भरतपुरको मेयरमा पाँचदलीय सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल उम्मेदवार छिन् । माओवादीलाई मेयरमा दोहोर्‍याएको भन्दै कांग्रेसबाट पूर्व सांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

यसबाट गठबन्धनमा उत्पन्न तनाव एमालेका उम्मेदवार सुवेदीका लागि अनुकूलता बनेको छ । कांग्रेसको भोट बाँडिंदा राप्रपासँग तालमेल गरेको एमालेका सुवेदीले जित सहज हुने अनुमान गरिंदैछ ।

गत पाँच वर्षमा माओवादीकी दाहालले भरतपुरमा गरेको मिहिनेत र बढाएको जनमत भने सुवेदीका प्रतिकूलता हुन् । गठबन्धनलाई कमजोर बनाउँदै दाहालले पाउने लोकप्रिय मत रोकेर आफू विजयी बन्नु एमालेका सुवेदीका लागि फलामको चिउरा साबित हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?