+
+
Shares

कांग्रेस गण्डकीको निष्कर्ष : मंसिरभित्रै महाधिवेशन, अनि मात्रै चुनाव

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २९ गते २०:५५

२९ कात्तिक, पोखरा । केन्द्रीय समितिको बैठक लामो समयसम्म अनिर्णयको बन्दी भएर बसिरहँदा कार्यकर्ता र शुभेच्छुकमा निराशा बढिरहेको भन्दै नेतृत्व हस्तान्तरण र रुपान्तरणसहित चुनावमा जानुको विकल्प नभएको नेपाली कांग्रेस गण्डकी प्रदेशले गरेको भेलाले निष्कर्ष निकालेको छ ।

कांग्रेस गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा भएको ११ वटै जिल्लाका प्रतिनिधिहरुको भेलाले मंसिरभित्रै महाधिवेशन गरेर चुनावमा जानुपर्ने निर्णय नै गरेको हो ।

जेनजी आन्दोलनपछि मुलुकको वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको जिम्मेवारी र १५ औं महाधिवेशनको सम्बनधनमा भएको विशेष भेलामा जिल्ला जिल्लाका प्रतिनिधि, जिल्ला सभापतिलगायत अधिकांशले मंसिर २७ भित्रै नियमित महाधिवेशन नत्र विशेष महाधिवेशनको विकल्प नभएको बताएका थिए । जेनजी आन्दोलनका कारण उत्पन्न पछिल्लो परिस्थितिमा अहिलेकै नेतृत्वमा चुनावमा जान नसकिने अधिकांश नेता कार्यकर्ताको भनाइ थियो ।

भेलामा बोल्ने केही प्रतिनिधिले अहिलेकै नेतृत्वमा चुनावमा गए कांग्रेसका उम्मेदवारलाई जिताउन मत माग्न जान नसकिनेसमेत बताए । उनीहरुले सकेसम्म नियमित ५४ प्रतिशत महाधिवेशनको मागअनुसार विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व र नीतिका साथ चुनावमा जानुपर्ने आवाज उठाएका हुन् ।

कांग्रेसका नेता कार्यकर्ताको भनाइपछि प्रदेश समितिले निर्णयको प्रस्ताव गर्दै पारित भएको घोषणा गरेको थियो । भेलाले ४ वटा निर्णय गरेको छ । विशेष गरी अब पनि कांग्रेस रुपान्तरण र नेतृत्व हस्तान्तरणमा रोकिने हो भने ठूलो पराजय हुनबाट रोक्न नसकिने कांग्रेस गण्डकीको निष्कर्ष छ ।

‘अब नेपाली कांग्रेस अलमलिनु हुँदैन, रोकिनु हुँदैन । स्पष्ट दृष्टिकोण लिएर निर्भिकताका साथ अगाडि बढ्न चुक्नुहुँदैन भन्ने हाम्रो मान्यता छ,’ प्रदेश भेलाको निर्णयको ४ नम्बर बुँदामा भनिएको छ, ‘नेपाली कांग्रेसले वर्तमान अवस्थाबाट सुध्रेर नयाँ परिवर्तित अवस्थाको कांग्रेस बनेर आम निर्वाचनमा जनताका साथ जानुपर्ने टड्कारो खाँचो रहेकोले आगामी मंसीर महिना भित्र १५ औं महाधिवेशन गर्नु पर्दछ भन्ने यो भेला ठहर गर्दछ ।’

भेलाको पहिलो निर्णयमा जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको स्वाथ्यलाभको कामना गरिरहेको छ भने २ नम्बर बुँदामा सभापति शेरबहादुर देउवादेखि केन्द्रीय नेताहरुको निजी सम्पत्तिमा भएको तोडफोडको भर्त्सना गरिएको छ ।

अहिलेको कांग्रेस कठिन मोडमा उभिएको भेलाको निष्कर्ष छ । नेपाली कांग्रेसमाथि जनताको अगाध विस्वास र भरोसाअनुसार आफ्ना सिद्धान्त र आदर्श अनुसारको व्यवहार गर्न नसकेको विषय सचेत गराइएको भए पनि नसुध्रिएको भन्दै आत्मलोचितसमेत गरेको छ ।

‘आज एक पटक फेरि जनताका माझ हामी हाम्रा कमी कमजोरीहरु, हाम्रा आन्तरिक बैचारिक विचलन, सिद्धान्तगत गल्ती र विगतका सम्झौताहरुको आत्मसमीक्षा गर्दै समस्त नेपाली जनता र शुभेच्छुक महानुभावहरुप्रति क्षमा याचना गर्न चाहन्छौं,’ गण्डकी भेलाको निर्णयमा भनिएको छ, ‘अब यस्ता गल्ती कमीकमजोरीहरु नदोहोरÞ्याउने र दोहोरिन नदिने प्रतिवद्दता व्यक्त गर्दछौं ।’

भेलाको निर्णयको ४ नम्बर बुँदामा अहिले केन्द्रदेखि तल्लो तहसम्म निराशा छाइरहेको बताइएको छ । स्थानीय तहदेखि केन्द्रीय कार्यसमितिको पदावधि समाप्त हुन लागेको अवस्थामा नियमित महाधिवेशन वा विशेष महाधिवेशन भन्ने विषयमा वहस भइरहनु नै दुर्भाग्य भएको उसको निश्कर्ष छ ।

‘करिब १ महिनादेखि बसिरहेको केन्द्रीय कार्यसमितिको वैठकले निर्णय गर्न नसकेकोले अन्यौलको वातावरण बनेको छ । लामो सम सम्म अनिर्णयको बन्दी भएर बसिरहँदा तल रहेका कार्यकर्ता र शुभेच्छुकहरुमा निराशा बढिरहको देखिन्छ,’ निर्णयमा भनिएको छ ।

यदी कुनै कारणबस नियमित महाधिवेशन गर्न नसकिने अवस्था भएको हो भने पार्टीको विधान बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित माग भएको विशेष महाधिवेशन यही मंसीर मसान्त भित्र अनिवार्य गर्नुपर्ने निर्णय कांग्रेसको गण्डकी भेलाले गरेको छ । यो निर्णय केन्द्रीय कार्यसमितिमा पठाउने पनि प्रदेश समितिले जनाएको छ ।

अहिले देशमा विषम परिस्थिति रहेको र राष्ट्र, प्रजातन्त्र र पार्टीको रक्षा र हालसम्मको उपलब्धीको रक्षा नेपाली कांग्रेसको काँधमा पुन: एक पटक आइपरेको भेलाको निश्कर्ष छ । गण्डकीको भेलामा अधिकांश चुनावअगावै नियमित वा विशेष महाधिवेशन हुनुपर्छ भन्ने नेताकार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।

प्रदेश समिति सभापति शुक्रराज शर्माले कांग्रेस रुपान्तरण र नयाँ नेतृत्व तथा नीतिका साथ जनतामा जानुको विकल्प छैन भन्ने विषयलाई भेलाले अनुमोदन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?