३० कात्तिक, पोखरा । २०७९ मंसिरको आम चुनावसम्म आइपुग्दा नेपाली कांग्रेसका ‘महान’ नेता विश्वेश्वरप्रसाद कोइराला पुत्र शशांक कोइरालालाई नवलपरासीका नागरिकले चौथो पटक जिताए । पार्टीका नेताका रुपमा पुर्याएको योगदानभन्दा वीपीको पारिवारिक बिरासतका कारण पटक-पटक अवसर पाएका शशांकलाई जिताउँदा थुप्रै नेता-कार्यकर्ताले त्याग गरेका थिए ।
नेपाली कांग्रेसमा अहिले चुनावअघि नै नियमित नत्र विशेष महाधिवेशन गर्नुपर्ने आवाज चर्कोरुपमा उठेको छ र नेता कार्यकर्तालाई पनि विभाजित गरिरहेको छ । जेनजी आन्दोलनले दिएको राजनीति र सत्तामा भएको परिवारवाद, भ्रष्टाचारको विरोध, पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणको एजेण्डाले यतिबेला कांग्रेस महाधिवेशन गर्ने र रोक्ने पक्षमा बाँडिएको छ ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा निर्माण भएको सरकारले तोकेको फागुन २१ को चुनाव अगाडि नै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव छ । तर, त्यसलाई रोकेर फेरि एकपटक चुनावमा जाने, जसरी पनि एकपटक पार्टी सभापति वा प्रधानमन्त्री नै हुने सपना शशांकले देखिरहेका छन् ।
विशेष महाधिवेशन गर्न ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गरेको माग पूरा हुन नदिने, नियमित महाधिवेशनको मिति सार्ने, यही नेतृत्वले टिकट बाँडेर फेरि एकपटक चुनावमा जाने र सत्तामा जाने योजना बुनिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका ‘७ भाइ’ मध्येका शशांक पनि एक हुन् ।
उनलाई यसअघि चुनाव जिताएका नवलपरासीका अधिकांश कांग्रेसी नेता–कार्यकर्ता भने विशेष महाधिवेशनको मागलाई निस्तेज पार्न खोजे कांग्रेस छिन्नभिन्न हुने बताइरहेका छन् भने २० औं वर्ष पदमै रहनेहरुले नै महाधिवेशन रोक्न खोजेको भन्दै त्यसको विपक्षमा उभिएका छन् ।
केन्द्रीय समितिको कार्यकाल सकिएसँगै सके नियमित नत्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा १/२ जनाबाहेक सबैले हस्ताक्षर गरेको नेपाली कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीको भनाइ छ ।
जेनजी आन्दोलनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए पनि चुनावअघि कि चुनावपछि महाधिवेशन गर्ने भन्ने विषयमै केन्द्रीय समिति अनिर्णयको बन्दी भइरहेको छ ।
सभापति देउवा सिंगापुरमा उपचार गराएर फर्किएसँगै नियमित महाधिवेशन पनि नगरी सार्ने कसरत गर्ने र विशेष महाधिवेशनको मागलाई निस्तेज पार्न खोजिएको भन्दै अब पनि पार्टी कब्जा गर्ने सपना नदेख्न गण्डकीका कांग्रेस नेताहरुले चेतावनी दिएका छन् ।
पछिल्लो समय नियमित अधिवेशन गर्ने भनेर मिति सार्न खोज्ने र विधानअनुसार विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत हस्ताक्षरलाई निस्तेज पारिए कांग्रेस सग्लो नरहने कांग्रेसका नेता, कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् ।
देउवालाई देखाउँदै फेरि ‘७ भाइ’ले स्वार्थको रोटी सेक्न खोजिरहेको भन्दै यही नेतृत्वमा चुनावमा गएर कांग्रेसको पराजयको विकल्प नभएकाले विधानको मागअनुसार विशेष महाधिवेशन गर्न गण्डकी प्रदेशका अधिकांश नेता–प्रतिनिधिको आवाज छ ।
पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्व महामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत र डा.शशांक यथास्थितिमै चुनावमा जाने र पछिमात्रै महाधिवेशन गर्ने पक्षमा छन् र यसको नेतृत्व गरेका कार्यवाहक सभापतिलाई गण्डकीबाट नेताहरुको चेतावनी छ, ‘समयको वेगलाई रोक्न नखोज्नू ।’
२०४८ सालदेखि लगातार सांसद, पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म पुगेका स्याङ्जाका गोपालमान, पूर्वमहामन्त्री तथा सत्ताकै वरिपरी रहेका र चुनाव हारेर पनि राष्ट्रिय सभामा पुगेका कृष्ण सिटौलालगायत संस्थापन पक्षले भदौ २६ गते पोखरामै भेला गरेको थियो ।
गोपालमानका पूर्वस्वकीय सचिव तथा गण्डकीका पूर्वमन्त्री, नेपाली कांग्रेस गण्डकी कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, सिटौला पक्षबाट टिकट पाएर प्रदेश सांसद बनेका बागलुङ सभापति जीत शेरचन नेतृत्वमा भएको भेलाले विशेष नभइ नियमित महाधिवेशन नै गर्नुपर्ने तर त्योभन्दा अगाडि क्रियाशील सदस्यता, तरुण दल, नेपाल विद्यार्थी संघजस्ता संगठनका चुनाव गराउनुपर्ने बताएका थिए ।
संस्थापन समूहले जेनजी आन्दोलनको मौका छोपेर पार्टी कब्जा गर्ने रणनीति बनाइएको तर यही नेतृत्व चुनावमा गएर महाधिवेशन गर्नुपर्ने बताएका थिए । त्यसको दुई दिनपछि पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिकै आयोजनामा भएको भेलाका अधिकांशले नियमित महाधिवेशन नगर्ने, गर्न नदिने र विशेष महाधिवेशनको माग पनि तुहाउने प्रयत्न भइरहेको भन्दै अब चुप नबस्ने चेतावनी दिएका थिए ।
मेखलालसहित केही सदस्य संस्थापन समूहका भए पनि गण्डकी प्रदेश समितिमा सबैजसो संस्थापनइतर पक्षका छन् । गण्डकीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने देउवा पक्षधर केही नेताहरु पनि चुनावअघि नै महाधिवेशन हुनुपर्ने महामन्त्रीहरुको प्रस्तावको पक्षमा खुलेका छन् । ११ वटै जिल्लाका क्षेत्रीय, जिल्ला सभापति, महाधिवेशन, महासमिति प्रतिनिधि, प्रदेश सांसदलगायतलाई बोलाएर गण्डकी समिति सभापति शुक्रराज शर्माले भेला गरेका हुन् ।
कांग्रेसभित्रको मतभेद चरम स्थितिमा पुगेको र यो पार्टी रुपान्तरणको लडाइँमा नतिजा जे आए पनि पछि हट्ने स्थिति नरहने भन्दै महामन्त्रीद्वय पक्षले तम्तयार रहनुपर्ने रणनीति जिल्लासम्मै बनाइरहेका छन् । योबेला पनि रुपान्तरण गर्न र गगनहरुले हस्तक्षेप गर्न नसक्ने हो भने कहिल्यै नसकिने भएकाले नियमित वा विशेष महाधिवेशनको पक्षमा उभिने र रोक्न खोजे जस्तोसुकै कदम पनि चाल्नुपर्ने स्थिति देखिएकाले दबाब बढाउन नेताहरुले नै आग्रह गरेका हुन् ।
चुनावअघि नै महाधिवेशन गरेर महामन्त्रीहरुले पार्टी कब्जा गर्न लागेको, पार्टी फुट्ने सन्त्रास फैलाउने काम सभापति देउवाको उत्तराधिकारी बन्न खोजिरहेकाहरुले गरिरहेको नेताहरुको आरोप छ ।
‘महामन्त्रीले एउटा कार्यतालिका ल्याउँदा क्याप्चर गर्न खोजेको भनेको मैले सुनें । पार्टी महामन्त्रीले क्याप्चर गर्न खाज्यो कि निर्णय गर्न नदिने टोलीले खोज्यो ? हामीले त्यति कुरा पनि बुझ्न नसक्ने भइसक्यौं, हामी बुझ्दैनौं ?,’ नवलपुर सभापति तथा पूर्वमन्त्रीसमेत रहेका जिसीले भेलामा भने, ‘नियमित महाधिवेशन गर्ने निर्णय गर्दै गर्दैन, त्योभन्दा सिधै विशेष महाधिवेशनमा जानुपर्छ । हामीले सही गरेर दिएको, बाध्यात्मक प्रावधानअनुसार विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसले नयाँ नेतृत्वका साथ अगाडि जानुपर्छ ।’
महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन नभए ठूलो क्षति हुने उनको चेतावनी थियो ।
नेपाली कांग्रेस कास्कीका पूर्वसभापति तथा संघीय पूर्वकानुनमन्त्री यज्ञबहादुर थापाले त यही नेतृत्व चुनावमा गए टिकट खोसाखोस होइन, छोडाछोड हुने बताए । ‘नियमित महाधिवेशन पनि नगर्ने, बाध्यात्मक रुपमा सिर्जना हुने विशेष महाधिवेशन गर्ने कुरालाई पनि निस्तेज गराउने काम गर्यो भने यो पार्टीको दूर्दशा हुन्छ । टिकटको खोसाखोस होइन, टिकटको छोडाछोड हुन्छ,’ यज्ञबहादुृरको भनाइ छ ।

नियमित महाधिवेशन हुनुपर्छ भन्नेमा विशेष महाधिवेशन माग गर्नेहरुको पनि फरक मत नरहेको तर अहिलेको नेतृत्वले महाधिवेशन गराउने लक्षणै नदेखाएको उनको आरोप थियो । ‘विशेष महाधिवेशनको कुरालाई अनदेखा गरेर बस्यो भने, निकास दिएन भने इन्द्रेको बाउ चन्द्रे आए पनि, भगवानै आए पनि हामीलाई फागुन २१ गतेको निर्वाचनमा पराजयबाट हामीलाई कसैले जोगाउन सक्दैन,’ नेता यज्ञबहादुरको चेतावनी थियो ।
देउवापछिका केही मानिसहरु अझै पनि सत्ता र पदमै रहन्छु र पैसा लिएर टिकट बाँड्छु भनेर सोचिरहेको गण्डकीका नेताहरुको आरोप छ । प्रदेशभरिको क्षेत्रीय सभापतिहरुको भेला गरेर विशेष महाधिवेशनको निर्णय नै गरेर माग गर्ने नेतृत्व गरेको कास्की–१ का सभापति राजेन्द्रमणि लामिछानेले फेरि पनि पदमा बसेर पैसामा टिकट लिने–दिने गर्छु भनेर नसोच्न चेतावनी दिए ।
‘अहिले यथास्थितिवादी, पुरातन सोच राख्ने, हिजो मैले खाइराखेको, खाइराख्न पाउँछु भन्ने सोचबाट कांग्रेस ग्रसित भाछ । वडादेखि केन्द्रसम्म नयाँ नेतृत्वसहित जानुपर्छ,’ लामिछानेले भने, ‘अब कसैले पैसा दिएर र वरिपरी चाकडी गरेर टिकट लिने अवस्था छैन ।’
कांग्रेस संसदीय दल गण्डकीका प्रमुख सचेतक तथा गोरखा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले कुनै पनि बहानामा महाधिवेशन धकेल्ने काम नगर्न चेतावनी दिए । अहिले कांग्रेसमा नेतृत्व परिवर्तन चाहिएको उनको भनाइ थियो ।
‘जुनसुकै उम्मेदवार हुन पाउँछ, कोही व्यक्ति अध्यक्ष बन, कोही व्यक्ति महामन्त्री बन, कोही सदस्य बन भनेर विशेष महाधिवेशन माग्नेहरुले भनेको छैन । हाम्रो कार्यकाल मंसिरमा सकिन्छ, नियमित महाधिवेशन गर, क्रियाशीलको बाहाना नबनाउ, नियमित महाधिवेशन गर्न सक्दैनौ भने विधानमै लेखेको विशेष महाधिवेशन माग गरेका छौं,’ उनले भने ।
गोरखाकै कांग्रेस नेतृ रविकला खनाल नयाँ नेतृत्व र नयाँ नीति नलिइकन चुनावमा जानै नसक्ने बताइन् । नेतृत्वमा रहनेहरुले आफ्नो सुरक्षा गर्नतिर नलाग्न उनले आग्रह गरिन् ।
कास्की–३ का कांग्रेस प्रतिनिधि सरोज केसीले त तल्लो तहसम्म गएर सामान्य कार्यकर्तासँग गएर के भन्छन् बुझ्न नेतृत्वलाई आग्रह गरे । उनले कार्यकर्ताबाटमात्रै नभएर नागरिकस्तरबाटै युवाहरु नेतृत्वमा आउनुपर्ने जेनजी आन्दोलनले पनि माग गरेको बताउँछन् ।
‘ती मानिसलाई न पदको लोभ छ, न केहीको लोभ छ । रुखमा भोट हाल्याछ, बस्याछ । उसले न छोरालाई जागिर लगाइदेउ भन्या छ, ती मान्छेले गगनलाई बनायौ भने रुखमा भोट हाल्छौं नत्र हाल्दैनौ, ती बुढाले गर्न सक्दैनन् भन्याछन्,’ केसीले भेलामै गगनको पक्षमा भनाइ राखे ।
कांग्रेस पर्वतका नेता राम शर्माले कार्यकाल सकियो, १५ औं महाधिवेशन गरौंभन्दा पार्टी फुट्छ भन्ने भ्रमको राजनीति गरेर कार्यकर्तालाई थन्को लाउने काम गर्न खोजिएको बताएका छन् । ‘त्यसले नेपाली कांग्रेसलाई युवाहरुको, नेपाली जनताको माझमा पुर्याउन सक्दैन,’ उनले भने ।
जेनजी पुस्ताको आन्दोलन र थपिएका मतदाताले पनि अहिलेको नेतृत्वलाई विश्वास नगरेको उनको भनाइ थियो । युवाहरुको मागलाई समात्न सकेन भने कांग्रेस इतिहासमा पछाडि पर्ने उनले बताए ।
‘बीपी कोइरालाले आफ्नै दाजु मात्रिकाप्रसाद कोइरालालाई कारबाही गरेर पार्टी संगठन गरेर २०१५ सालमा २ तिहाइभन्दा बढी बहुमत ल्याएको पार्टी नेपाली कांग्रेस हो,’ उनको भनाइ थियो । कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले विधानमा भएका कुराहरु अक्षरंश पालना गर्नुपर्ने र समयमै नियमित महाधिवेशन गर्न सकिँदैन भने विशेष महाधिवेशन गर्ने निर्णय नै आफूहरुले गरेको सुनाए ।

गोरखाका क्षेत्रीय सभापति दीर्घ गुरुङले जेनजी आन्दोलनपछि गाउँबस्तीमा नेपाली कांग्रेस भ्रष्टहरुको पार्टी हो भन्ने परेको सुनाए । ‘एउटै मान्छे ३०/४० वर्षदेखि शासन गरिरहेको छ । एउटै व्यक्तिले २०/३० वर्षसम्म केन्द्रीय सदस्य भएर खाइरहेको छ,’ उनले भने, ‘चुनावभन्दा अगाडि महाधिवेशन हुनुहुँदैन भनेर तिनै मान्छेले रोकिरहेको छ । २०/३० वर्षसम्म एउटै व्यक्तिले खाएका पछाडि लागेर नेपाली कांग्रेस निर्वाचनमा जान्छ भने कुनै पनि हालतमा जित्दैन ।’
स्याङ्जाका क्षेत्रीय सभापति नरेन्द्र शर्माले नेतृत्व परिवर्तन नगरी चुनावमा गयो भने नेपाली कांग्रेसको अस्तित्व नभएको बताए । नेपाली कांग्रेस गोरखाका नेता पूर्ण दाहालले अहिले भइरहेको नेतृत्व लिएर गाउँ–गाउँमा चुनावमा जाँदाखेरी कसलै भाग लिन नसक्ने बताए ।
दाहालले महाधिवेशन चुनावपछि धकेल्न चाहानेहरुलाई भने ‘किन तपाईंहरुले कुर्सीका लागि यति महत्व दिइरहनुभएको छ ? कुर्सीमा बस्दै पैसा लिएर टिकट दिउँला भनेर अब पैसा दिएर उम्मेदवार बन्ने मान्छे पाइँदैन । यदि जनतामा जाने स्थिति नै छैन भने कसले दिन्छ पैसा ?’
नेपाली कांग्रेस तनहुँ–२ का क्षेत्रीय सभापति चुडामणि खनालले राष्ट्रपति रामचन्द्र पौडेलले जु्क्तिपूर्ण हिसाबले संविधान नजोगाइदिएको भए आज देश कसको हातमा जान्थ्यो भन्न नसकिने बताए । जेनजी आन्दोलनमा सत्ता र नेतृत्व छोडेर भाग्नुपरेको परिस्थिति बिर्सिएर फेरि नेतृत्व कब्जा गर्न खोज्ने हो भने कांग्रेसी कार्यकर्ता अब चुप नबस्ने चेतावनी दिए । सरकार, संसद छोडेर भागेकाहरु केही कांग्रेसमा पनि संसद पुनर्स्थापनाको पक्षमा लागेको भन्दै उनले आपत्ति जनाए ।
‘२३ र २४ गतेको जेनजी आन्दोलनले अहिलेको नेतृत्वलाई असफल बनाइसकेकाले अब महाधिवेशन गरेर चुनावमा जानुको विकल्प छैन,’ खनालले भने, ‘यो पार्टी कसैको पेवा होइन ।’
कास्कीका सचिव भानु ढकालले विशेष परिस्थितिमा विशेष महाधिवेशन हुनुपर्ने बताए ।
भेलामा बोल्ने महाधिवेशन प्रतिनिधिहरुले आफूहरु ५४ प्रतिशतले विशेष महाधिवेशन गर्न गरेको मागलाई लत्याएर जाने र केन्द्रीय समितिले मात्रै निर्णय गर्ने गर्न नपाइने बताएका छन् । केन्द्रीय समितिमा मतदानमार्फत टुंगो लगाउने होइन, विधिविधानसम्मत प्रतिनिधिहरुले गरेको मागअनुसार हुनुपर्ने उनीहरुको भनाइ छ ।
भरसक सहमतिमा प्रस्ताव लैजाने भनिए पनि टुंगो लागिसकेको छैन । कांग्रेसमा देखिएको महाधिवेशनको विवादले तल्लो तहसम्मै विभाजन गरिदिएको छ । देउवाको इसारामा विशेष महाधिवेशनको निर्णय नै नगर्ने स्थिति आयो भने बहुमतले महाधिवेशन बोलाउने हुन सक्ने, पार्टीले नयाँ बाटो समाउनसमेत सक्ने महामन्त्रीद्वय पक्षमा चर्चा चलिरहेको छ ।
विशेष महाधिवेशनको लिखित प्रस्ताव दर्ता भएको मितिले ९० दिनभित्र अनिवार्य सम्पन्न गर्नुपर्ने विधानमा बाध्यात्मक व्यवस्था गरिएको छ । त्यो म्याद पनि गुजार्ने, नियमित महाधिवेशन पनि नगर्ने राणनीति संस्थापनले अपनाएको भन्दै चुनावअगावै महाधिवेशन गरेर जान देशैभर दबाबमुलक कार्यक्रम भइरहेका छन् ।
केन्द्रीय समितिको बैठकअघि पोखराबाट गण्डकी प्रदेशका बहुमत नेताहरुले नेतृत्वप्रति औंला ठड्याउँदै भनेका छन्, ‘अब पनि रुपान्तरण भएन, नेतृत्व हस्तान्तरण गरिएन भने कांग्रेस सग्लो रहँदैन । दूर्दशा हुन्छ, त्यो सबैका निम्ति महंगो पर्ने छ ।’
प्रतिक्रिया 4