+
+

हुम्लामा १० घण्टा हिँडेर अघिल्लै दिन मतदान केन्द्रमा पुगे मतदाता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते २०:००

२९ वैशाख, सिमकोट । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न जिल्लाको ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँका ४५ जना १० घण्टा पैदल हिँडेर अघिल्लै दिन बिहीबार मतदान केन्द्रमा पुगेका छन् ।

बिहीबार विहान ६ बजे घरबाट हिँडेका उनीहरु दिउँसो ४ बजे मतदान केन्द्र रहेको वडा कार्यालय रहेको थापागाउँस्थित कैलाश आधारभूत विद्यालय पुगेका हुन् ।

राजनीतिक पहुँच नभएका कारण गाउँमा मतदान केन्द्र नराखिदिएपछि आफूहरु १० घण्टा हिँडेर मतदान गर्न आउनुपरेको मासपुर गाउँका केशबहादुर रोकायाले बताए । ‘हामीलाई तीन दिन लाग्ने भयो, भोलि नै आउँदा भोट हाल्न भ्याइँदैन, भोट हालेर भोलि नै घर पुग्न सकिँदैन’ अर्का स्थानीय शुरबहादुर बुढाले भने ।

शुक्रबार मतदान गरेपछि उनीहरु शनिबार घर फर्किनेछन् । २३ घरधुरी रहेको मासपुर गाउँमा १०३ जना बसोबास गर्छन् । जसमध्ये मतदता नामावलीमा नाम भएका वृद्ध अवस्थाका १० जनाबाहेक अरु मतदान गर्न पुगेका छन् ।

गाउँकै बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र राख्न माग गरे पनि सुनुवाई नभएको उनीहरु बताउँछन् ।

६१ वर्षका जोख्या बुढा, ७० वर्षीय भीरकला रोकाया, ६० वर्षीय गुरूचन्द बुढालाई बोकेर ल्याइएको स्थानीय शिवबहादुर बुढाले बताए ।  ९२ वर्षीय दलवीर रोकाया, ७० वर्षीया बेरूकला बुढासहित १० जना मतदाता भने भोट दिन आउन सकेनन् ।

बुढाबुढी, सुत्केरी र घरमा गाइवस्तु हेरचाह गर्नुपर्नेहरु भने मतदान गर्न नआएको बुढाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?