+
+

खोटाङमा सबै मतदान स्थल तयार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते २०:१६

२९ वैशाख, खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङका सबै वडामा मतदान स्थल तयार पारिएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि १० वटै स्थानीय तहमा स्थानीय सामग्री प्रयोग गरेर मतदान स्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए ।

खोटाङमा १३६ मतदान स्थलमा १९४ मतदान केन्द्र तोकिएको छ । मतदान स्थलमा घोचो गाडेर, बार हालेर र डोरी टाँगेर मतदाता उभिने ठाउँ, कर्मचारी बस्ने ठाउँ, मत संकेत गर्ने ठाउँ, मत पेटिका राख्ने ठाउँ लगायतका संरचना तयार पारिएको छ । मतदान स्थलमा आवश्यक निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।

बाँसको भाटा, तार, भलिबलको नेटको घेराबारा

खोटाङका दुई नगरपालिका र आठ गाउँपालिकामा मत गणनाका लागि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मत गणना स्थल पनि तयार पारिएको छ ।

सुरक्षित तरिकाले मत गणना गर्नका लागि सिसि क्यामेरा जडान र घेरा बारा हालेर मत गणनास्थल तयार पारिएको हो । मत गणनास्थलमा मत गणनाका क्रममा खटिने कर्मचारी र सुरक्षाकर्मी भित्र र उम्मेदवारका प्रतिनिधि बाहिर बस्न मिल्नेगरी घेरा बारा हालिएको छ ।

अधिकांश मतदानस्थलमा बाँसको भाटा, तार जाली, भलिबलको नेट लगायत प्रयोग गरेर घेरा बारा गरिएको हो । उम्मेदवारका प्रतिनिधिले मतपत्रको छाप र चिन्ह देख्न सक्नेगरी घेराबारा हालेर नजिकै बस्ने ठाउँको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कतिपय मतगणना स्थलमा आवाज रेकर्ड गर्ने सिसि क्यामेरा जडान गरिएको छ । विद्युतको नियमित आपुर्तीका लागि जेनेरेटरको व्यवस्था गरिएको छ ।

ओत नभएका ठाउँमा त्रिपाल

निर्वाचनको दिन वर्षा हुने भनिएपछि मतदानस्थलको सुरक्षाका लागि निर्वाचन अधिकृतको कार्यालयले आ–आफ्नै तरिकाले त्रिपाल व्यवस्थापन गरेको छ ।

निर्वाचन आयोगले त्रिपालका लागि छुट्टै बजेट व्यवस्था नगरेपछि मतदानस्थलको सुरक्षाका लागि सम्बन्धित स्थानीय तह र वडा कार्यालयसँगको सहकार्यमा त्रिपाल व्यवस्थापन गरेको हो । वडा कार्यालयमा भए वडाकै र वडामा नभएको अवस्थामा नगरपालिकाबाट त्रिपाल मगाइएको हलेसी तुवाचुङ नगरपालिकाकी निर्वाचन अधिकृत संगीता न्यौपाने ढुंगेलले बताइन् ।

साकेला गाउँपालिकाका धेरैजसो मतदानस्थल सामान्य वर्षाका त्रिपाल नचाहिनेगरी तयार पारिएको छ ।

विद्यालयलाई मतदान केन्द्र बनाइएकाले मतपत्र, मत पेटिका लगायतका निर्वाचन सामग्रीलाई भिज्नबाट जोगाउन बरण्डामा राख्नेगरी मतदान स्थल तयार पारिएको निर्वाचत अधिकृत राजन नेपालले बताए । खोटेहाङ गाउँपालिकामा ओत भएको ठाउँमा बाहेक अन्य आवश्यक पर्ने मतदानस्थलका लागि पालिकाबाट त्रिपाल व्यवस्था गरिएको निर्वाचन अधिकृत गेहेन्द्रराज रेग्मीले बताए ।

सुरक्षा व्यवस्था मजबुद

खोटाङमा स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । मतदान स्थलको सुरक्षार्थ नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । सुरक्षित, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मत प्रकट गर्ने वातावरण बनाइएको प्रशासनले जनाएको छ ।

प्रत्येक मतदान स्थलमा ८ देखि १८ जना प्रहरी परिचालन गरिएको छ । बुथको वरिपरी शसस्त्र प्रहरी परिचालन गरिएको छ । प्रत्येक पालिकामा शसस्त्रको तीन वटा र नेपाल प्रहरीको दुई वटा मोबाईल टोली परिचालन गरिएको प्रजिअ दाहालले बताए । प्रत्येक पालिकामा नेपाली सेनाको अलग स्टेशन बनाएर राखिएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा ३५ मतदानस्थललाई अति संवेदनशील, ५८ मतदानस्थललाई संवेदनशील र ४३ मतदानस्थललाई सामान्य वर्गमा वर्गीकरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?