+
+

मतपत्रको मसी नसुक्दै इन्धनमा मूल्यवृद्धिको उपहार !

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ जेठ १ गते ०:५१

१ जेठ, काठमाडौं । शनिबार राति मध्यरातबाट लागु हुनेगरी सरकारले दैनिक उपभोग्य अत्यवश्यक वस्तु इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।

वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश पाण्डेय नेतृत्वको नेपाल आयल निगम सञ्चालक समितिको शनिबारको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य एकै पटक लिटरमा १० रुपैयाँले बढाउने निर्णय गरेको निगमका सह प्रवक्ता पुष्कर कार्कीले बताए ।

मूल्य वृद्धिको नयाँ निर्णयसंगै देशैभर अब वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महँगीने छ । स्थानीय तह निर्वाचनमा मत खसाउन शहरबाट बाहिरिएका जनता काठमाडौंै नफर्किदै मूल्यवृद्धिको चपेटामा परेका छन् ।

मतदानमा मत संकेतको लागि लगाएको मसी नसुक्दै सरकारले मूल्यवृद्धिको उपहार दिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको चर्को आलोचना गरेका छन् ।

हालसम्मकै ठूलो अंकको मूल्यवृद्धि

शनिबार बढाइएको इन्धनको मूल्य निगमको इतिहासमै एकैपटक भएको सबै भन्दा ठूलो मूल्यवृद्धि हो । निगमका पूर्वकार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल एकै पटकमा लिटरमा १० रुपैयाँसम्म मूल्य घटेको थाहा पाएको, तर एकै पटक यति धेरै मूल्य बढेको यो नै पहिलो पटक हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको खुऽा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेल १४३ रुपैयाँ थियो । यसअघि निगमले २२ चैतमा डिजेल, पेट्रोल, मटि्टतेल र खाना पकाउने ग्याँसको मूल्यवृद्धि गरेको थियो ।

कर घटाउन अनुदार सरकार

पूर्ण सरकारी स्वमित्वको निगमले घाटा चुलिँदै गएको बहानामा उपभोक्तामाथि पुनः मूल्यवृद्धि थोपरिएको छ । तर, इन्धनको नाममा सरकारले कमाउने कर घटाउन भने कुनै पनि निकायको ध्यान पुगेको देखिन्न ।

अघिल्लो महिनाको विवरणअनुसार आयल निगमको घाटा नौ महिनामा ३३ अर्ब छ तर त्यस अवधिमा सरकारले राजश्व र करमा गरेर उपभोक्ताबाट ८८ अर्ब रुपैयाँ आफ्नो ढुकुटीमा खिचेको छ ।

सडक मर्मत, प्रदुषण नियन्त्रण, पूर्वाधार विकास कर लगायतका ७ शीर्षकमा सरकारले अहिले भन्सार विन्दुमै उपभोक्ताबाट कर असुल गर्छ । आयल निगमका अनुसार पूर्वाधार विकास कर भनी सरकारले पेट्रोलियम पदार्थमा उठाएको कर हालसम्म ९० अर्ब पुगिसकेको छ ।

बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै सरकारले इन्धनमा प्रतिलिटर ५ रुपैयाँ उठाउने गरेको कर पछिल्लो समय बढाएर १० रुपैयाँ बनाएको थियो ।

गत वर्ष पेट्रोलियमबाट मात्रै जनतासंग ९८ अर्ब कर संकलन गरेको सरकारले चालु आर्थिक वर्षको चैत तेस्रो सातासम्म ८८  अर्ब रुपैयाँ कर संकलन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च विन्दूमा पुग्दा पनि सरकार भने करबारे पुनरावलेकन गर्न तयार छैन ।

शनिवारको मूल्यवृद्धि अघिसम्म पेट्रोलमा ६० रुपैयाँ र डिजेलमा ४३ रुपैयाँ कर सरकारले लगाइ रहेको छ । सरकारले भारतीय आयल निगमबाट प्रतिलिटर ११८ रुपैयाँमा किनेको डिजेलमा मात्रै ४३ रुपैयाँ ४१ पैसा कर उठाउँछ ।

१०८ रुपैयाँ ६५ पैसामा किनेको पेट्रोलमा ६० रुपैयाँ ६३ पैसा कर लाग्छ भने १११ रुपैयाँमा किनेको मटि्टतेलमा १३ रुपैयाँ ४६ पैसा कर सरकारले उठाउने गरेको छ ।

नेपाल आयल निगमले तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा १५ दिनको अनुमानित बिक्री मूल्य पठाउने गर्छ ।

जसअनुसार गत वैशाख १८ गते मे एकको दिन नयाँ मूल्य पठाएको थियो । उक्त मूल्यअनुसार निगमलाई पेट्रोलमा २३ र डिजेलमा ४० रुपैयाँसम्म्म लिटरमै घाटा थियो । १५ दिनमा झण्डै ५ अर्ब १९ करोड घाटा हुने गरी आएको नयाँ मूल्यपछि पनि निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाएको थिएन ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?