+
+

बाजुराको बुढीगंगास्थित थुमा मतदान स्थलमा ९९.४१ प्रतिशत मत खस्यो

बुढीगंगाको विवाद मिलाउन निर्वाचन आयुक्त टोली बाजुरामा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १२:५१

१ जेठ, बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका-४ स्थित थुमा मावि मतदान स्थलमा एक हजार ७ सय ९ मतदाता संख्या रहेकोमा एक हजार ६ सय ९९ मत खसाइएको छ । यो मत प्रतिशत ९९ दशमलव ४१ हो ।

नेपाली कांग्रेसले नियन्त्रणमा लिइएको भनिएको यो मतदान स्थल सम्भबत नेपालमै सबैभन्दा बढी मत खसेको हो । थुमा मावि मतदान स्थलमा दुईवटा मतदान केन्द्र रहेका थिए । नेपाली कांग्रेसका नगरपालिका नगरप्रमुख उम्मेदवार रङ्ग बहादुर खातीको मतदान स्थल पनि यहि हो ।

२०७४ को स्थानिय तहको चुनावमा पनि यो मतदान स्थलमा बाजुरामा सबैभन्दा बढी मत खसेको थियो । बुढीगंगा नगरपालिकाको निर्वाचन यतिबेला विवादित र चासोको केन्द्रमा छ । निर्वाचन आयोगले मतगणना स्थगित समेत गरिसकेको छ ।

नगरपालिकाका कुल १० वटा वडामध्ये २, ३, ४, ५, ७ र ९ नम्बर गरी ६ वटा वडाका मतदान केन्द्रहरुमा स्वतन्त्र मतदान हुन सकेन । २, ३, ५ र ९ नम्बर वडाका मतदान स्थल नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएका थिए भने कांग्रेस कार्यकर्ताहरुले वडा नम्बर ४ र ७ कब्जामा लिएका थिए ।

बुढिगंगाका मतदान केन्द्रहरुमा मतदानका दिन झडप, उम्मेदवारमाथि कुटपिट, उम्मेदवारहरुले नै मतदान गर्न नपाई लखेटिएका, बुथ कब्जा, ९९ दशमलव ४१ प्रतिशतसम्म मत खसाइएका, सुरक्षाकर्मीले मतेपटिका मतदान केन्द्रमै छाडेर हिंडेका, पालिकास्थित निर्वाचन अधिकृतलाई नियन्त्रणमा राखेको र अधिकृतले असुरक्षित भएको भन्दै राजीनामा दिएको, मत पेटिकाहरु निर्वाचन कार्यालयले बुझ्न नमानेको लगायत घटना भएका थिए ।

यस्तै नेकपा एमाललेले नियन्त्रणमा राखेर मतदान भएको भनिएकामध्ये वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मतदान स्थलमा मतदाता संख्या एक हजार ४ सय ८३ मतदाता संख्या रहेकोमा एक हजार ३ सय ४७ मत खसाइएको छ । उक्त मतदान ९० दशवल ८२ प्रतिशत हो । स्वतन्त्र मतदान हुन नसकेका मतदान स्थलबाट वडाध्यक्षका उम्मेदवारहरु लखेटिएका थिए ।

वडा नम्बर ७ स्थित शारदा मावि मतदान स्थलबाट मतदान सुरु भएको करिब दुई घण्टामै धाँधली सुरु भएको भन्दै लाइनमा लागेका मतदाताहरु लखेटिएका थिए । वडाध्यक्ष पदका एमाले उम्मेदवार मन्नामे विष्टले आफूमाथि मतदान स्थलभित्रै कुटपिट भएपछि मतदानस्थल छाडेर ज्यान जोगाएको बताए । त्रासका कारण आफू दिनभर मतदानस्थलमा फर्किन नसकेको र लुकेर बस्नु परेको विष्टले बताए ।

यस्तै वडा नम्बर ५ को भानोदय माविको मतदान स्थलबाट कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार खडक थापासमेत लखेटिएका थिए । मतदानस्थलमा झडप सुरु भएपछि मतदान गर्नका लागि लामवद्ध मतदाताहरुको भागाभाग भएको थियो । झडपपछि मतदान स्थललाई एमाले कार्यकर्ताहरुले नियन्त्रणमा लिएपछि आफूसहित कांग्रेस कार्यकर्ताहरु मतदानस्थलमा फर्किन नसकेको अध्यक्षका उम्मेदवार थापाले बताए ।

समग्र मतदान केन्द्रको सुरक्षाको जिम्मेवारी लिएका सुरक्षाकर्मीहरु वडा नम्बर २ , ३, ५ र ९ नम्बरका मतदानस्थलबाट अपरान्ह्रतिर मतपेटिका समेत मतदानस्थलमै छाडेर हिँडेका थिए । उनीहरु किन त्यसरी ती मतदान केन्द्रबाट बाहिरिए भन्ने जवाफ सम्बन्धित निकायले दिन मानेन ।

मतपेटिकाहरु निर्वाचनमा खटिएका कर्मचारीहरुलाई साथमै राखेर पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइएको भए पनि शनिबार दिनभरसम्म निर्वाचन अधिकृतले मतपेटिका बुझ्न मानेन् । साँझतिर भने मतपेटिकाहरु पार्टीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतलाई बुझ्न लगाएका थिए ।

यसैबीच बुढीगंगा नगरपालिकास्थित निर्वाचन कार्यालय प्रमुखको जिम्मेवारीमा खटिएका उपसचिव कृष्ण सापकोटाले भने आफू असुरक्षित रहेको र हुलहुज्जत हुनसक्ने भन्दै निर्वाचनमा तोकिएको जिम्मेवारीबाट निर्वाचन आयोगमा राजीनामा पठाएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए ।

शनिबार जिल्ला निर्वाचन व्यवस्थापन समितिद्वारा सर्वदलीय बैठक आयोजना गरिएको भए पनि दलहरुबीच सहमति हुन सकेन । तर निर्वाचन आयोगले भने शनिबार राति सूचना जारी गर्दै बुढीगंगा नगरपालिकाका सबै वडाका सबै मतदान केन्द्रको निर्वाचन स्थगित गरी पुनः निर्वाचनको तयारी गरेको जनाएको छ । थप अध्ययनका लागि आइतबार निर्वाचन आयूक्त सगुन शमशेर जबरासहितको टोली बाजुरा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?