+
+

तनुहँमा जोशीलाई असफलता कि धोका ?

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते २३:३८

३ जेठ, तनहुँ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा आफ्नो मनोनयन पत्र खारेज भएपछि गोविन्दराज जोशीले भनेका थिए, ‘हामी कांग्रेस हौं, तर यसपटक हाम्रो चुनाव चिह्न सूर्य हुने छ ।’

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको थियो । भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट सजाय सुनाइएका र सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामै रहेका जोशीले बागी उम्मेदवारी दिएपछि पौडेलको उजुरीका आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । तर पौडेल, एमालेका कृष्णकुमार श्रेष्ठसँग पराजित भए ।

जोशीको सहयोगकै कारण श्रेष्ठले चुनाव जितेको भन्दै १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी ५ वर्षका लागि जोशीलाई कारबाही गर्‍यो । कांग्रेससँग असुन्तुष्ट बनेपछि जोशीले जिल्लामा समानान्तर गतिविधि गर्दै आइरहे ।

केन्द्रदेखि जिल्लासम्मको राजनीतिमा दशकौंदेखि कांग्रेस नेता जोशी र पौडेलको ‘दुश्मनी’ आसन्न स्थानीय निर्वाचनमा नयाँ शिराबाट अगाडि बढ्यो । जोशीले तनहुँमा आफू विना कांग्रेस कमजोर रहेको प्रमाणि गर्न नेकपा एमाले सँग तालमेल गरि स्वतन्त्र समूह बनाएर स्थानिय तहको चुनावमा उत्रिए ।

अहिलेसम्मको नजिता हेर्दा जोशी समूहसँग एमालेले राखेको अपेक्षा पूरा हुन सकेको छैन । १० वटा स्थानीय तह रहेको तनहँुमा ७ वटा पालिकाको नतिजा आउँदा एमाले चार, काङ्ग्रेस दुई र माओवादी एक पालिका प्रमुखमा निर्वाचित भए । एमालेले घिरिङ र भिमादको दुबै प्रमुख पदमा विजयी भयो, म्याग्दे र बन्दीपुरको अध्यक्ष मात्र पायो अघिल्लो निर्वाचनमा जितेको देवघाटको अध्यक्ष यसपालि गुमायो ।

काङग्रेसले ऋषिङको अध्यक्ष र उपाध्यक्ष, देवघाटको अध्यक्ष र बन्दिपुरको उपाध्यक्ष मात्र पायो । नेकपा माओवादी केन्द्रले आँबुखैरेनीको अध्यक्ष÷उपाध्यक्ष र देवघाटको उपाध्यक्ष मात्र पायो । कांगे्रसले शुक्लागण्डकी, देवघाट गाँउपालिका, घिरिङ गाँउपालिका र भिमाद नगरपालिकामा सत्तारुढ दलसँग गठबन्धन गरेको थियो ।

०७४ सालको निर्वाचनमा तनहुँमा कांग्रेसले ६, एमालेले ३, नेकपा माओवादी केन्द्रले एक पालिकाको प्रमुख जितेको थियो । अहिले सम्मको बाँकी नतिजा हेर्दा शुक्लागण्डकीमा मेयरमा कांगे्रस र उपमेयरमा माओवादी, ऋषिङ र भानु दुबैमा कांगे्रस आउने देखिएको छ ।

अहिले तर वडागत तहमा हेर्ने हो भने एमालेले धेरै वडाहरु गुमाएको छ । एमालेले जोशी समुहबाट भानु नगरपालिका, बन्दिपूर गाँउपालिका र आँबुखैरेनी गाउँपालिकामा धेरै अपेक्षा गरेको थियो । नेकपा एमालेका जिल्ला उपसचिव प्रदीपराज अधिकारी भन्छन्,‘अपेक्षा गरिएको पालिकामा राम्रो नतिजा आएन,तर अन्य पालिकामा राम्रै भयो ।’

एमालेले ७ वडा जितेको जोशीकै गृह पालिका भानुमा अहिले १ वडामा मात्र सिमित रह्यो । आँबुखैरेनीमा पनि एमाले जितेको वडा नं ३ यसपालिका गुमायो भने वडा नं ६ जितेको छ । जोशी समुहले स्वतन्त्र उम्मेदवार भएर कैंची चिह्न लिई चुनावमा उत्रिएका थिए । तर कैंची चिन्हमा सूर्यमा आएको जस्तो मत प्राप्त भएको छैन । कैंचीले अहिलेसम्म कुनै पालिका र वडा पाएको छैन ।

वरिष्ठ नेता पौडेल र जोशीको प्रतिष्ठासँग जोडिएको व्यास नगरपालिकाको मतगणना भने जेठ ४ गते हुदैछ । ३० गतेको निर्वाचनमा व्यास ८ मा नेकपा एमालेको समर्थनमा मेयरका उम्मेदवार रहेका जोशीका छोरा दीपकराज जोशी कुटिए । अहिले उनी काठमाडौंमा उपचाररत छन् ।

पार्टीको कारबाही पछि निष्कृय बनेका नेता गोविन्दराज जोशी अहिले आफना छोरा दीपकराज जोशीलाई व्यास नगरपालिकाको मेयरमा जिताउन सक्रिय भएर लागेका थिए । अन्य पालिकामा जोशी समूहले अपेक्षा अनुसार जित हासिल नगरेपनि व्यासमा जिते जोशीको शक्ति तनहँुमा रहेको प्रमाणित हुने जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?