+
+

कप्तान रुविनाले औंल्याइन् नेपालले सिरिज गुमाउनुका ५ कारण

नमिता दाहाल नमिता दाहाल
२०७९ जेठ ५ गते २१:०३

५ जेठ, काठमाडौं । नेपाल र युगान्डाबीचको महिला टी-२० सिरिजमा ३ खेल गुमाउँदै नेपालले घरेलु मैदानमा पहिलो पटक भएको सिरिज गुमाएको छ । बिहीबार भएको खेल ६ विकेटले गुमाएपछि नेपालले आफूभन्दा तीन वरियता तल रहेको युगान्डासँगको सिरिज गुमाउन पुग्यो । यो खेलबाट नेपाली महिला क्रिकेटको स्तर मापन पनि भएको छ ।

नेपाल आईसीसी महिला टी-२० वरियतामा १६ औं स्थानमा रहेको छ भने युगान्डा १९ औं स्थानमा छ । घरेलु मैदानमा सिरिज हार्नुको केही कारण जुन कप्तान रुविना क्षेत्री आफैंले औंल्याएकी छन् ।

१. खेलाडीको फिटनेस समस्या 

नेपालले सुरुवाती खेलबाट नै मिसफिल्डिङका कारण तिनै खेल गुमायो । क्याच ड्रप हुने, खेलाडी कुद्न नसक्ने, थम्लिङ हुने समस्या यसपटक बारम्बार नेपालले दोहोर्‍याएको गल्ती भएको रुविनाले बताइन् । यस कुरालाई प्रशिक्षक जगत टमटाले पहिलो खेलबाट नै नराम्रो रहेको बताएका थिए ।

यही कुरा सिरिज हातबाट फुस्किएपछि कप्तान रुविना क्षेत्रीले पनि पत्रकार सम्मेलनमा भनिन् । ‘हाम्रो मिसफिल्ड एकदमै बढी भयो । सबै खेलाडीको फिटनेस स्तर निकै कम देखियो’ रुविनाले भनिन्, ‘सबैलाई सोध्दा अफसिजनमा पनि फिटनेसलाई ध्यानमा राखेका छौं भन्छन् तर मैदानमा त्यो देखिँदैन ।’

त्यस्तै मिसफिल्ड हुनुको कारण पनि रुविनाले फिटनेस मै देखिएको समस्याका रुपमा औंल्याइन् । खेलाडीले अभ्यास खेलमा राम्रो प्रदर्शन गर्ने तर खेलमा बिगारेको उनले बताइन् ।

२. युवा खेलाडीको कमजोर प्रदर्शन

यस सिरिजमा सिनियर खेलाडीका रुपमा रहेका रुविना क्षेत्री, सीता राना मगर, सरिता मगरले  खेलमा सोचे अनुरुपको प्रदर्शन गर्न नसक्दा युवा खेलाडी पनि मैदानमा खरो उत्रिन सकेका छैनन् । हालै क्यानले सीता राना मगरलाई उपकप्तानबाट हटाएर इन्दु बर्मालाई जिम्मेवारी दिएको थियो ।

युवा खेलाडीलाई अवसर दिए पनि मैदानमा भने प्रदर्शन देखाउन नसकेको कप्तान रुविना क्षेत्रीले बताइन् । ‘हामीले आश गरेर युवालाई मौका दिइरहेका छौं । उनीहरुले आफूलाई प्रमाणित गर्ने  यति राम्रो अवसर पाउँदा पनि देखाउन सकेनन्’ उनले भनिन्, ‘सधैं सीता र रुविनाले खेल्छ भनेर सिनियर खेलाडीको मुख ताक्ने  बानी भयो ।

हामीले पनि खेल्नुपर्छ, तर हामीलाई टिमले विश्वास गरेर स्थान दिएको छ भन्ने हरेक खेलाडीले जिम्मेवारीबोध गर्नुपर्छ ।

३. कमजोर लक्ष्य

पहिलो खेलदेखि नै नेपालले युगाण्डालाई राम्रो लक्ष्य पेस गर्न सकेको छैन । पावरप्लेको ६ ओभर होस् या मिडलओभर र डेड ओभर नेपालको खेलाडीले रन बनाउन सकेका  छैनन् । मैदानमा कतिबेला कुन ठाउँमा मौकाको फाइदा उठाउने त्यो नेपाली खेलाडीले सुधार्न बाँकी अर्को कमजोरी रहेको कप्तान रुविना बताउँछिन् ।

पहिलो खेलमा १६ रनले पराजित हुनु, दोस्रोमा १ विकेट  तथा तेस्रोमा ६ विकेटको लगातार हार व्यहोर्नुमा नेपालको कमजोर ब्याटिङले पनि निकै ठूलो भूमिका खेल्यो । पहिलो खेलबाटै प्रशिक्षक टमाटाले यो कुरा नियालेका थिए । उनले पहिलो  खेलपछि नेपालले स्कोरबोर्ड कमजोर हुनु र फिल्डिङमा रन खानु नेपालको समस्या भएको बताएका थिए ।

सिरिजको तेस्रो खेलपछि कप्तान रुविनाले पनि त्यही भनेकी छन् । उनले भनिन्, ‘हाम्रो ब्याटिङमा समस्या  छ । बोर्डमा कमजोर लक्ष्य दिन सकेनौं । ब्याटिङमा खेलाडीले आफ्नो जिम्मेवारी अनुसार खेल्नुपर्छ ।’ नेपालले अर्को महिना एसीसी एसिया कप क्वालिफायर्स प्रतियोगिता खेल्ने तय भएको छ । यो ब्याटिङको लयले त्यो प्रतियोगिता खेल्न नेपाललाई कम चुनौतीपूर्ण हुने छैन ।

४. प्रतियोगिताको कमी

युगाण्डासँगको सिरिज नेपालले डेढ बर्षपछि खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । कोरोना महामारीका कारण लामो समय अभ्यास र खेलकुद प्रतियोगितामा सहभागी हुन नपाएका कारण राम्रो नतिजा आउन नसकेको कप्तान रुविना स्वीकार गर्छिन् । नेपालले गत बर्ष कतारसँग भएको टी-२० सिरिजपछि खेलेको यो अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

‘घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय स्तरको खेल पनि २/३ महिनाको फरकमा भइराखेमा नतिजा जस्तोसुकै भए पनि खेलाडीले खेल्न पाउँदा खेलको लय कायम रहन्छ’ उनले भनिन्, ।

५. खेलाडीको कमजोर मानसिकता

नेपालले ३ वरियता तलको युगान्डासँग लगातार तीन खेलमा हार बेहोरेपछि युगान्डाकी कप्तान कोन्स्लेट अवेकोले नेपाली खेलाडीको मनोविज्ञान कमजोर रहेको बताइन् ।

‘नेपाली क्रिकेट टिम राम्रो छ तर क्रिकेटमा मनोविज्ञानले पनि धेरै फरक पार्छ । हामीले नेपाली भाषा बुझ्दैनौं तर कप्तानदेखि अन्य खेलाडीको हाउभाउ उनीहरु खुसी नभएको कुराको फाइदा हामीले उठायौं’ उनले भनिन् ।

नेपालले घरेलु मैदानको फाइदा उठाए पनि खेलमा गल्ती गरेका कारण हारेको उनले बताइन् । यो कुरालाई कप्तान रुविनाले पनि स्वीकार गरिन् । नेपाली खेलाडीले जिम्मेवारी लिएर खेल्नुपर्ने उनले बताइन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?