+
+

वीरगञ्जको मुख्य सडक मर्मतका लागि महानगरको ताकेता

सुरेश बिडारी सुरेश बिडारी
२०७९ जेठ १२ गते १६:१६

१२ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुख्य सडक मर्मतका लागि सडक विभागसँग अनुमति माग गरेको छ । सडक विभागको क्षेत्रमा पर्ने त्रिभुवन राजपथ सडकखण्ड अन्र्तगत वीरगञ्जको मुख्य सडक मर्मतका लागि ९ जेठमा पत्राचार गरेर अनुमति माग गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

मुख्य सडकको पावरहाउस चोक तथा वीरगञ्जको घण्टाघरदेखि दक्षिणतर्फको क्षेत्र र रजतजयन्ती चोकदेखि मितेरीपुलसम्मको क्षेत्र जीर्ण बनेको छ । ती सडकहरु लामो समयदेखि मर्मत संभार नहुँदा सार्वजनिक आवागमन कष्टकर हुनुको साथै सवारी दुर्घटनाको जोखिम बढेको छ ।

‘विभाग र मातहतका निकायबाट मर्मत संभारका लागि भएको बोलपत्र आव्हान प्रक्रियामा नै विविध कारणले अवरोध भई कार्य अगाडि बढ्न नसकेको तथा उक्त प्रक्रिया शुरु गर्न लामो समय लाग्ने भन्ने बुझिन आएकोले उक्त क्षेत्रको मर्मत सम्भार गरी सार्वजनिक आवागमन सहज तुल्याउन यस महानगरपालिकालाई सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (१) बमोजिम विभागबाट स्वीकृति प्रदान गरिदिनुहुन अनुरोध गरिन्छ’, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डेले विभागमा पठाएको पत्रमा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेका अनुसार वीरगञ्जको मुख्य सडकको विभिन्न भाग जीर्ण बनेको तर सडक विभागले मर्मत गर्न समय लाग्ने देखिएकोले महानगरले मर्मतका लागि अनुमति मागेको हो ।

‘वीरगञ्जको मुटु मानिने घण्टाघर क्षेत्रको सडक नै जीर्ण बनेको छ, महानगरको क्षेत्रमा नपर्ने भएकोले मर्मत गर्न सकिरहेका छैनौं’, उनले भने, ‘जनस्तरबाटै मर्मतका लागि दवाव छ, वर्षायाममा सडकमा आवगमन झनै असहज हुने देख्यौं । सडकले मर्मत गर्दा लामो समय लाग्ने देखियो । त्यसैले महानगर स्वयंले मर्मत गर्नका लागि अनुमति मागेका हौं ।’

महानगरपालिकाले खानेपानी संस्थानसँगको समन्वयमा मुख्य सडकमा खानेपानीको पाइप मर्मतसम्भार गरिरहेको छ ।

खानेपानी संस्थानसँगको समन्वयमा महानगरपालिकाको जेसीबीको प्रयोग गरेर दुईदिनदेखि खानेपानीको पाइप मर्मत संभार भइरहेको छ । पहिलो दिन पाँच वटा र दोस्रो दिन ३ ठाउँमा खानेपानीको पाइप मर्मत गरिएको महानगरपालिकाका प्राविधिक भोगेन्द्र चापागाईंले जानकारी दिए ।

नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंहले पनि सडक मर्मतका लागि चासो लिएका छन् । उनले २४ घण्टाभित्र वीरगञ्ज नगरबासीले अनुभूति हुनेगरि काम गर्ने वचन दिएका छन् ।

मुद्दा हालेर काम रोक्ने प्रवृत्तिले बनेन सडक

त्यसो त यसअघि नै व्यापारिक मार्ग विस्तार अयोजनाले यी सडकहरु मर्मतका लागि प्रयास नगरेको होइन ।

वीरगञ्जको सडक मर्मतका लागि भन्दै व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले दुई वटा प्याकेजमा ठेक्का लगाउने गरी ५ पुसमा सूचना निकालेको थियो । ५/५ करोड रुपैयाँको दुई वटा प्याकेजमा साधारण सडक मर्मत गर्ने योजना आयोजना कार्यालयको थियो ।

अनलाइन आवेदन माग गर्दा दुवै प्याकेजका लागि एउटा/एउटा कम्पनीले मात्रै आवेदन दिए । रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको १.३ किलोमिटर सडकका लागि समा कन्सट्रक्सन र पावरहाउस चोकदेखि रजतजयन्ती चोकसम्मका लागि सागर/निरीक्ष जेभीले आवेदन दिएका थिए ।

रजत जयन्ती चोकदेखि मितेरीपुलसम्म प्याचिङ र ओभरलेको काम नै गर्ने, १ सय ३७ मिटर मितेरी पुल मर्मत गर्न लागिएको थियो । पावरहाउस चोकदेखि रजतजयन्ती चोकसम्मको खण्डमा घण्टाघरदेखि माईस्थानसम्मको पूर्वी लेन तथा हुलाकी र त्रिभुवन राजपथ जोडिएको ठाउँ पावरहाउस चोकमा प्याचिङ गरेर ओभरले गर्ने गरि स्टिमेट गरिएको थियो ।

आवेदन दिएका दुवै कम्पनी प्राविधिक मूल्यांकनमा पास भए । ९ फागुनमा कार्यालयले आर्थिक प्रस्ताव माग गर्‍यो । तर टेण्डर खोलिसकेपछि मिलेमतोमा ठेक्का लगाउन लागेको भनेर विकास एण्ड ब्रदर कन्सट्रक्सन, विकास झा र विशाल यादवले कार्यालय, सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा उजुरी गरे । जसले गर्दा निर्माण कम्पनीको प्राविधिक मूल्यांकनको काममा ढिलाइ भयो ।

१० फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र हेटौंडामा उजुरी पर्‍यो । अख्तियारको पत्र आएपछि योजना कार्यालयले ठेक्का प्रक्रियाको कागजात पठायो । १६ फागुनमा आर्थिक प्रस्ताव खोलियो ।

पावरहाउसदेखि रजतजयन्ती चोकसम्मको काम गर्न प्रस्ताव गर्ने ठेकेदार सागर/निरीक्ष जेभीले लागत अनुमान गरिएभन्दा ०.३४ प्रतिशत बढी रकम राखेर प्रस्ताव गरेको भन्दै ठेक्का रद्ध गरियो ।

अब यो खण्डमा काम लगाउन फेरि टेन्डर प्रक्रिया सुरु गर्नुपर्ने व्यापारिक मार्ग विस्तार अयाोजनाका इन्जिनियरहरु बताउँछन् ।

समा कन्सट्रक्सनले १.३४ प्रतिशत कममा आर्थिक प्रस्ताव हालेको थियो । त्यसैको आधारमा २५ फागुनमा साढे तीन महिनामा काम सक्ने गरी योजना कार्यालयले समासँग सम्झौता पनि ग¥यो । उसले काम सुरु गर्नका लागि सामान ल्याएर सडक किनारमा थुपारेको छ ।

तर मिलेमतोमा ठेक्का हुन लागेको भन्दै सगरमाथा इन्फ्राटेक प्रालिको तर्फबाट दीपेशमान महर्जनले सर्वोच्च अदालतमा १३ फागुनमा नै मुद्दा दर्ता गरिसकेका रहेछन् । उसले अदालतको आदेश अटेर गरेको भनेर मानहानीको मुद्दा पनि दर्ता गरेको छ । अब जेठ १९ गते पेशी छ ।

आयोजना कार्यालयका प्रमुख इन्जिनियर मनिषकुमार साह विकासको काममा अवरोध गर्ने प्रवृत्तिले चाहेर पनि काम गर्न नसकिएको बताउँछन् ।

‘काम गर्न खोजेका थियौं, दुवै प्याकेजमा उजुरी प¥यो । खरिद ऐन अनुसार काम गराउन सकिने भएपनि विवादमा पारिएकोले पावरहाउस र घण्टाघर क्षेत्रको प्याकेजको ठेक्का रद्द गरिसकेका छौं’, उनले भने, ‘रजतजयन्ती चोकदेखि मितेरीपुलसम्मको प्याकेजका लागि फागुन २५ गते सम्झौता गर्‍यौं, २६ गते अदालतमा उजुरी परेको पत्र आयो । जेठ १९ गते मुद्धाको पेशी छ । हामीले चाहेर पनि काम गराउन सकेका छैनौं ।’

पावरहाउस, तथा घण्टाघर क्षेत्रको सडक मर्मतका लागि वीरगञ्ज महानगरले स्वीकृति माग गरेको जानकारी आफूले पनि पाएको उनले बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?